धनगढी । दार्चुलामा अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि बेपत्ता भएका १० जना आइतबारसम्म फेला परेका छैनन् ।
शनिबार बिहानैदेखि बाढी तथा पहिरोमा परि वेपत्ता भएका दश जनाकोे खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ ।
बाढी र पहिरोमा परी बेपत्ता भएका नौगाड गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहुको खोजी कार्य भईरहेका छ ।
बाढी पहिरो प्रभावितहरुको खोजि र उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै नेपाल रेडक्रस सोसाइटी, स्थानीय वासिन्दा र राजनीतिक दलहरुले काम गरिरहेको भए पनि खोलाको बहावमा कमी नआउँदा वेपत्ता व्यक्तिहरु फेला पर्न नसकेको महााकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैंसिरले बताए ।
भदौ २४ गते राति परेको अविरल बर्षापछि लास्कु खोलामा आएको बाढीपहिरोले महाकाली नगरपालिकाका ४ वडा र नौगाड गाउपालिकाकाका १ वडाका वासिन्दा प्रभावित भएका थिए ।
यस्तै, बाढीले लास्कु खोलाको मोटरेवल पुल र झोलुङ्गे पुल बगाउँदा दुहु र महाकालीको सम्पर्क टुटेको छ, जसका कारण आवतजावत ठप्प भएको छ । आवतजावतका लागि लास्कु खोलामा तल्कालका लागि अस्थायी काठेपुल निर्माण गरिने भएको छ ।
आइतबार विहान नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री मान बहादुर धामीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा बसेको विपद व्यवस्थापन खोज, उद्वार तथा राहतसंग सम्बन्धित क्लष्टरहरुको बैठकले लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गर्ने निर्णय गरेको हो ।
सोही बैठकको निर्णय अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयहरुले नदी किनारमा तारजाली लगाउदै अस्थायी पुल निर्माण गरिरहेका छन् ।
यस्तै बांगाबगर क्षेत्रमा खोलाको कटानले क्षति हुन नदिन तारजाली भर्ने काम भइरहेको छ । लास्कु खोला क्षेत्रमा थप कटान हुन नदिन जिल्ला स्थित जलश्रोत तथा सिचाई डिभिजन कार्यालय र महाकाली नदी नियन्त्रण आयोजना कार्यालयको प्राविधिक सहयोगमा जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट अस्थायी तटबन्ध निर्माणको कार्य प्रारम्भ गर्ने पनि निर्णय भएको छ ।
महाकाली नगरपालिका– १ को कलौन र छापरी तथा वडा नम्बर ४ बांगाबगर क्षेत्र जोड्ने काठेपुल निर्माणको कार्य गर्न जिल्ला स्थित नेपाली सेनाको गुरु गोरख गुल्मबाट सेना तत्काल परिचालन गरी निर्माण कार्य गर्ने निर्णय गरिएको छ ।
मनसुनजन्य अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विपद पिडित परिवारलाई जिल्ला विपद व्यस्थापन समिति दार्चुलाको समन्वयमा केयर नेपालको आर्थिक सहयोगमा युनिसेफ र सामुदायिक ग्रामीण विकास समाज नेपाल, निड्स कन्चनपुरद्वारा दार्चुला बाढीबाट प्रभावित परिवारहरुलाई आपतकालीन राहत सामाग्री वितरण गर्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
खोलाको धार परिवर्तन गरिदै
दार्चुलाको महाकाली नगरपालिकामा रहेको लास्कु खोलाको धार परिवर्तन गर्न लागिएको छ । शुक्रबार राती अचानक परेको वर्षाका कारण बंगाबगड बस्ती जोखिममा परेपछि खोलाको धार परिवर्तन गरिन लागेको हो ।
आइतबार विहानैदेखि नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोलीले जोखिममा रहेका घरहरुलाई सुरक्षित बनाउन ग्याविन तारजाली सहितको अस्थायी तटबन्धन गरि खोलाको धार परिवर्तन गराउन खटिएका छन् ।
दार्चुला प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बस्तीमा थप क्षति हुन नदिन विहानैदेखि सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए । उनले भने – ‘वर्षा नभएको भए पनि खोलाको बहाव भने नियन्त्रणमा आउन सकेको छैन । त्यसैले बस्तीमा क्षति हुन नदिन खोलाको धार परिवर्तन गरिन लागेको हो ।’ उनले खोलाको धार परिवर्तन नभएमा थप २० घर जोखिममा रहेको बताए ।
उनले केही सुरक्षाकर्मीहरु खोलाको धार परिवर्तन गर्नमा खटिएको र केही वेपत्ता भएका व्यक्तिहरुको खोजी कार्यमा जुटेको बताए । उनका अनुसार शुक्रबार राती परेको एक्कासीको वर्षाले जनधनको क्षति हुनुका साथै १० जना वेपत्ता भएको छन् । वेपत्ता भएका व्यक्तिहरु फेला पर्न सकेका छैनन् ।
उनले सो खोलाबाट बगेको माटो, ढुङ्गा लगायतका कारण महाकाली नदी पनि थुनिन पुगेको बताउँदै –‘वर्षा रोकिएकोले महाकाली बहाव नियन्त्रणमा छ । अझै वर्षा भए जोखिम नहोला भन्न सकिदैन । त्यसैले जति सक्यो क्षति हुन नदिने प्रयास प्रशासनबाट भईरहेको छ ।’
महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैंसिरले खोलाको बहावमा नियन्त्रण हुन नसक्दा खोज, उद्दारका काम प्रभावित भईरहेको बताए । उनले भने –‘खोलाको बहावका कारण बस्तीका २० घर जोखिममा रहेका छन । महाकालीको बहाव बढेमा अन्य बस्ती पनि जोखिम पर्ने देखिन्छ ।’
उनले पहिरोका कारण केही बस्तीहरु सम्बन्ध विच्छेद भएको बताए । उनले भने –‘सम्बन्ध विच्छेद भएका बस्तीहरुमा खाद्यान्न, आवास लगायतको समस्या भईरहेको छ । त्यस क्षेत्रमा डोरीको प्रयोग गरि खाद्यान्न ढुवानी गर्ने काम भईरहेको छ ।’ उनले संघिय सरकारले हेलिकोप्टर मार्फत सम्बन्ध विच्छेद भएका बस्तीहरुमा राहातका प्याकेज यथाशिघ्र पुगाउनु पर्ने बताए ।
बाढी पहिरोका कारण दार्चुलाको सदरमुकाम खलंगामा खानेपानीको अभाव भएको छ । खानेपानी लाइनमा बाढीपहिरोले क्षति पुर्याएपछि खलंगामा पानी आउन छोडेको छ । लास्कु जलाधारमा ठूलो पानी परेपछि खसेको पहिरोले नदी थुनिएर वा ग्रेगान बहाव भइ कटानले ठूलो बाढीको रुप लिएको हुनसक्ने अनुमान छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले सम्बन्ध विच्छेद भएका वस्तीहरुमा राहात ढुवानी गर्नका लागि संघिय सरकारसंग समन्वय भईरहेको बताए । उनले भने –‘विपद प्रभावित परिवारलाई कुनै पनि आवश्यकताको कमी हुन नदिन तीन तहकै सरकारहरुबीच समन्वय गरि खोज, राहात तथा उद्दारका कार्य भईरहेका छन् ।’
प्रदेश सरकारले राहत वितरण गर्ने
दार्चुलामा शुक्रबार राति आएको बाढी पहिरोमा परेर मृतु भएका तथा भौतिक संरचना गुमाएका पिडीत परिवारलाई सुदूरपश्चिम सरकारले क्षतिपुर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबार प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन समितिको वैठकले बाढी पहिरोमा परेर मृत्यु भएका परिवारलाई एक लाख, तथा पुर्ण भौतिक संरचनामा क्षति भएका परिवारलाई २० हजार र आंशिक क्षति भएका परिवारलाई १० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिक २०७६ अनुसार राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यसैगरी जिल्लाबाट माग भए अनुसार बाढी, पहिरो पीडितलाई तत्काल राहत सामाग्री दिने, विपदका कारण सम्बन्ध विच्छेद भएका परिवारलाई रहत दिन संघिय सरकारसंग आवश्यक समन्वय गरी ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री रण बहादुर रावलले बताए ।