धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सडक, विद्यालय र जंगलमा बस्दै बाढी प्रभावित

भन्छन– ‘सुरक्षित बसोबास र खाद्यान्न व्यवस्था गर’

सडक, विद्यालय र जंगलमा बस्दै बाढी प्रभावित

धनगढी । भजनी नगरपालिका वडा नम्बर ८ की पार्वती विक सोनाफाटास्थित हुलाकी सडकमा त्रिपालमा बसेकी छिन । भदौ ३१ गतेरातिदेखि असोज  १ गतेसम्म परेको अविरल वर्षाले घरभित्र पानी पसेपछि उनी सडकमा त्रिपाल लगाएर बसेकी हुन । 

यो वर्षमात्रै नभएर हरेक वर्षायाममा उनको सोही सडकमा बास हुन्छ । सडकको किनारामा बनाइएका पालभित्रै बसेकी पार्वतीले भनिन–‘हरेक वर्ष घरभित्र पानी पस्छ । अनि यहीँ (सडकमा) बास हुन्छ ।’ बाढी घरभित्र पसेपछि उनी सडकमा बस्न बाँध्य भएको बताइन ।

पानीको सतह घट्दै गएपछि हुलाकी सडमा बसेका केही मानिसहरु त्रिपाल छोडेर घर फर्किरहेका छन । विकलाई भने कहाँ गएर बस्ने भन्ने चिन्ता छ । ‘अहिलेसम्म चाउचाउ, चिउरा मात्र खाएर बसेकी छु’ उनले भनिन् । उनले घरभित्र रहेको अन्नपात र धान खेतीमा सबै बाढीले क्षति पु¥याएको बताइन् । उनले भनिन्, ‘अचानक आएको बाढीले गहुँ, धान, सबै सम्पति सत्यनास भइहाल्यो । वर्षभरि कसरी गुजारा गर्ने होला ?’ 

हुलाकी सडकमै त्रिपालमा छोराछोरीसहित बसेकी छन मिना चौधरी । उनको घर बाढीले क्षतविक्षत बनाएको छ । काठका खाट, लत्ताकपडा, भाडाकुडासम्म बचेका छन् । ‘खानपिनको निकै समस्या छ,’ उनले भनिन ‘तीन दिनसम्म चाउचाउ चिउरा खाएर बसेकी छु । सरकारका प्रतिनिधीहरु कोही पनि आएनन ।’ भजनी नगरपालिकाले मंगलबार विहानदेखि बाढीपीडितलाई खान समस्या भएको भन्दै नजिकै सामुहिक भान्सा घर सञ्चालन गरेको छ । उनले भनिन –‘सामुहिक भान्सा घर सञ्चालन भएपछि तीन दिनपश्चात पेटभरी खाना खान पाईयो ।’ 

भजनी नगरपालिका वडा नम्बर ८ जनकपुरका मानसिंह चौधरी मंगलबार सडकको बासबाट घर फर्केका छन । पानीको सतह घटेपछि घर पुगेका उनी घरमा पुगेको क्षतिले चिन्तित थिइन् । ‘भकारी (डेहरी) धान, गहुँ, तोरी, सबै बाढीले क्षति पुगायो’ उनले भने, ‘खेतको धानमा पनि क्षति पुग्यो । सरकारले अब खानलाई रासनको व्यवस्था गर्नुपर्यो ।’

भजनी नगरपालिकामा पानीको सतह घट्दै गएपछि विस्थापितहरू धमाधम घर फर्कने क्रम जारी छ । तर, घरभित्र राखिएको अन्नपात बगाएपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता उनीहरूको छ । यस वर्ष भजनी नगरपालिका सबै वडा प्रभावित भएका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सात हजार ७६ घरहरु प्रभावित भएकोमा तीन हजार ३२ परिवारहरु विस्थापित भएका छन ।

दिगो समाधान खोजियोस्: बाढीपीडित 

भजनी नगरपालिका वडा नम्बर ९ की सृजना बमको घरमा नदी पसेपछि सामुदायिक वनभित्र खुल्ला आकाशमा बसेकी छन । हरेक वर्ष नदीले निम्त्याउने बाढीका कारण त्रसित उनले भनिन –‘सरकारले दिगो समाधानको योजना ल्याउन आवश्यक छ ।’

उनले भनिन, ‘यस वर्ष पानीको सतह बढी हुँदा यहाँका सबै घर डुबानमा परे । या त सरकारले उच्च घरको व्यवस्था गर्नुपर्छ । नत्र सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्छ ।’  उनले यथाशीघ्र बस्ती बचाउने योजना ल्याउन सरकारसँग माग गरे । तत्कालका लागि जैविक तटबन्धन योजना ल्याएर र दिगो रुपमा बस्ती संरक्षण गर्न ‘¥याम्प ड्याम’को कार्यक्रम अघि बढाउन सुझाव दिईन ।

भजनी नगरपालिका कान्द्रा, मोहना र पथरैया नदीका कारण जोखिममा रहेको छ । योसँगै काँडा नदीले पनि सो बस्तीमा असर गर्ने गरेको स्थानीय वीरबहादुर चौधरीले बताए । उनले कटान रोक्न राज्यबाट कुनै पनि पहल नभएको गुनासो गरिन । 

क्षतिको तथ्यांक संकलन गरिने

भजनी नगरपालिकाले बाढीका कारण पुर्याएको क्षतिको तथ्यांक संकलन गर्ने भएको छ । बाढीका कारण खाद्यान्न, धानबाली, पशुपन्छी लगायतको सम्पूर्णको यकिन तथ्यांक संकलन गरि कैलाली प्रशासन कार्यालयमा बुझाउने जनाएको छ ।

तथ्यांक संकलनका लागि वडा अध्यक्षको नेतृत्वमा सम्बन्धीत वडाका बडघर, भलमन्सा, राजनीतिक दलको सहभागिता गराईने नगरपालिकाले निर्णय गरेको नगर प्रमुख केवल चौधरीले बताए । उनले भने –‘बाढीले सबै वडा प्रभावित भएको छ । मानवियसंगै घरमा रहेका खाद्यान्न, खेतका धान बाली, घरमा क्षति पुर्याएको छ । के कति क्षति भएको छ यकिन गरी सम्बन्धीत निकायमा उपलब्ध गराइने छ ।’ उनले बाढीबाट भएको क्षतिको प्रभावितहरु उचित राहत सम्बन्धीत निकायले गर्नुपर्ने बताए ।