धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
सन्दर्भः विश्व आँखा दिवस

बालबालिकामा आखाको जोखम बढ्दै

धनगढी । शहरी क्षेत्रमा बालबालिकाले घर भित्र नै समय ब्यतित गर्ने समय बढाउदा त्यसको असर आँखामा पर्न थालेको छ ।

आँखालाई स्वस्थ बनाउन बालबालिकाले दैनिक कम्तिमा दुई घण्टा घर बाहिरको खुला क्षेत्रमा समय बिताउनु पर्ने हुन्छ । तर प्रविधिको विकास संगै बालबालिकाले घर भित्रै बसेर मोबाईल, टेलिभिजनमा बढी समय बिताउने गरेका कारण आँखाको समस्या भएका बालबालिकाको संख्या बढ्न थालेको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेस चन्द्र भट्टले बताए । 

गेटा आँखा अस्पतालले कैलालीको धनगढी उप महानगरपालिका क्षेत्रमा गेएको सर्वेक्षण अनुसार निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको आँखामा बढी समस्या देखिएको छ । निजी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकाको तुलनामा सरकारी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिकामा कम समस्या देखा परेको उनले बताए । 

गेटा आँखा अस्पतालले गरेको सर्वेक्षण अनुसार निजी शैक्षिक संस्थामा अध्ययन गर्ने बालबालिका मध्य करिव ५ प्रतिशत बालबालिकामा आँखाको समस्या देखापर्ने गरेको छ, भने सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका मध्य करिव ३ प्रतिशतमा आँखाको समस्या देखिएको छ ।

गेटा आँखा अस्पतालले धनगढीका १० सामुदायिक र ८ निजी गरी १८ विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परिक्षण गरेको थियो । १८ विद्यालयबाट  ५ हजार १२८ बालबालिकाको आँखा परिक्षण गर्दा निजी विद्यालयमा अध्ययनरत चार दशमलव ७ प्रतिशत बालबालिकाको आँखामा समस्या देखिएकोमा सामुदायिक विद्यालयमा अध्ययनरत दुई दशमलव ५ प्रतिशत विद्यार्थीको आँखामा समस्या देखिएको बाह्य कार्यक्रम व्यवस्थापन भट्टले बताए ।

‘बालबालिका स्कुलको गृहकार्यमा व्यस्त हुने र त्यस बाहेकको समय मोबाईल टिभी हेरेर घर भित्रै बिताउने क्रम बढेसंगै बालबालिकाको आँखामा समस्या बढ्ने गरेको पाइएको छ,’ भट्टले भने, ‘धेरै बालबालिकामा न्युन दृष्टिको समस्या रहेको छ, अहिले चस्मा लगाउने बालबालिका त्यसैले बढी छन् ।’

बालबालिकालाई कम्तिमा पनि दुई घण्टा घर बाहिरको खुल्ला वातावरणमा खेल्ने वातावराण मिलाउन अभिभावकलाई उनको सुझाव छ ।

नियमित आँखा परिक्षण गराउने नागरिक कम

सुदूरपश्चिम प्रदेशका नियमित आँखा परिक्षण गराउनेको संख्या न्युन रहेको छ ।

स्वस्थ आँखाका लागि युवा अवस्थामा दुई बर्षमा एक पटक आँखा परिक्षण गराउनु आवश्यक हुन्छ भने ४० बर्ष नाघेपछि बर्षमा एक पटक अनिवार्य आँखा परिक्षण गराउनु पर्दछ ।  तर सुदूरपश्चिमका नागरिक भने आँखामा समस्या देखिएपछि मात्रै अस्पताल पुग्ने गरेका नेत्र चिकित्सक बताउँछन् ।

‘४० बर्षपछि आँखाको ज्योति बिस्तारै कम हुने हुँदा चस्माको आवश्यकता पर्ने हुन्छ,’ गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक भट्टले भने, ‘त्यसका लागि ४० बर्ष नाघेका नागरिकले बर्षमा एक पटक अनिवार्य आँखा परिक्षण गराउनु पर्ने हो, तर यहाँ त्यस्तो हुन सकेको छैन, आँखामा समस्या देखिएपछि मात्रै बिरामी अस्पताल पुग्ने गरेका छन् ।’

गेटा आँखा अस्पतालले आर्थिक बर्ष २०७८/०७९ मा दुई लाख ५१ हजार ८ सय ३१ जनाको आँखा परिक्षण गरेको छ । गेटा बाहेक प्रदेशका २१ स्थानबाट सेवा सञ्चालन गर्दै आएको गेटा आँखा अस्पतालले परिक्षण भएका मध्य २४ हजार १ सय ४१ जनाको अप्रेसन गरेको छ ।

आर्थिक बर्ष २०७८÷०७९ मा गेटा आँखा अस्पतालले प्रदेशका विभिन्न स्थानमा गरेको आँखा शिविरमा २० हजार २ सय ७८ जनाको निशुल्क आँखा परिक्षण गरेको छ । गत बर्ष प्रदेशका विभिन्न स्थानमा गरिएका २८ वटा आँखा शिविरमा सहभागी मध्य २ हजार ८ सय ५३ जनाको मोतीबिन्दु र अन्य समस्या भएका २३ जनाको निशुल्क सल्यक्रिया गरेको छ ।

७७० जनाले गरे आँखा दान

सुदूरपश्चिममा हालसम्म ७ सय ७० जनाले आँखा दानका लागि इच्छापत्र दिएका छन् ।

मानिसको मृत्यु पश्चात पनि आँखालाई जिवितै राख्न सकिने र अन्य मानिसलाई दृष्टि दिन सकिने भएका कारण आँखा दान गर्न गेटा आँखा अस्पतालले आग्रह गर्दै आएको छ ।

सोही आग्रह अनुसार हाल सम्म ७ सय ७० जनाले मृत्यु पश्चात आँखा दान गर्ने भन्दै इच्छा पत्र दिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए । आँखा दान गर्ने इच्छापत्र दिएका मध्य अहिलेसम्म दुई जनाको आँखा झिकिएको भट्टले बताए ।

उनका अनुसार मृत्यु पश्चात गरिएको आँखा दानबाट नेपालमा  १० हजार ३ सय ७८ जनाले नयाँ आखा प्रत्यारोपण गरिएको छ ।

‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ दृष्टि दिवस मनाइदै

विश्व दृष्टि दविसका ‘आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज मनाइदै छ । दिवसका अवसरमा गेटा आँखा अस्पतालले विभिन्न कार्यक्रम गरेर जनचेतना दिने छ ।

गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टका अनुसार बिहान धनगढी चौहारबाट प्रभातफेरी ¥यालीको आयोजना गरिनेछ । प्रभात फेरीपछि धनगढी स्थित बुद्धमन्दिरमा रहेको गेटा आँखा अस्पतालको शाखामा सरोकारवालासंग छलफल गरिने छ ।

सुदुरपश्चिम प्रदेशमा देशभरिमा सबै भन्दा कम अन्धोपन रहेको एक अध्ययनले देखाएको छ । अन्धोपन निवारणका लागि अन्तरराष्टिय एजेन्सीको सहयोगमा देशभरि ५० बर्ष भन्दा माथिका व्यक्तिहरुमा गरिएको अध्ययनमा सुदुरपश्चिम प्रदेशमा सबै भन्दा कम शुन्य दशमलब ६ प्रतिशतमा अन्धोपन देखिएको हो । 

सन् २०२० अप्रिलदेखि २०२१ अप्रिलसम्म सात वटै प्रदेशमा अध्ययन गरिएको थियो । अध्ययनमा अनुसार बागमती प्रदेशमा शुन्य दशमलब ६५ प्रतिशत, गण्डकी प्रदेशमा शुन्य दशमलब नौ प्रतिशत, प्रदेश १ मा शुन्य दशकलब ८५ प्रतिशत, कर्णाली प्रदेशमा शुन्य दशमलब ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा एक दशमलब ७५ प्रतिशत र प्रदेश २ मा १ दशमलब ३ प्रतिशतमा अन्धोपन देखिएको छ ।

अन्धोपन निवारणका लागि अन्तरराष्टिय एजेन्सीको सहयोगमा सुदुरपश्चिममा गेटा आखा अस्पतालले र अन्य प्रदेशमा सम्वन्धित प्रदेशका आखा अस्पतालले अध्ययन गरेका हुन् । 

१९७९ मा   बिश्व स्वास्थ्य संगठनले नेपाल सरकारसँग मिलेर गरेको  सर्वेक्षणमा  सुदुरपश्चिममा सबै भन्दा बढी अन्धोपन भेटिएपछि गेटा आखा अस्पतालको स्थापना गरिएको हो । नर्वेजियन सरकारको सहयोगमा सँचालित आँखा अस्पतालको  निर्देशक शुरुमा नर्वेजियन डाक्टर नै हुने गरेका थिए । तर सन २००४ देखि अस्पताल आत्मनिर्भर भएर सञ्चालन भैरहेको छ ।

गेटा आँखा अस्पतालको महेन्द्रनगर आँखा अस्पताल धनगढीको बुद्ध मन्दिर, टीकापुर र डडेल्धुरामा  सर्जिकल सेन्टर छन् भने सुदुरपश्चिमका सबै जिल्लामा आँखा उपचार केन्द्रहरु रहेका छन् । अहिले पालिकाहरुको सहयोगमा पालिकाहरुमा पनि आखा उपचार केन्द्र खोल्न शुरु गरेको छ ।  सर्जिकल सेन्टरमा आवश्यक सर्जरीका लागि गेटाबाट नै डाक्टरहरुको टीम जाने गर्दछ ।