मोहन जोशी
सोमबार, २९ असोज २०८० मा प्रकाशित
धनगढी । बझाङको बुंगल नगरपालिकामा जन्मेर हाल देशका विभिन्न स्थानमा कर्मथलो बनाएका निजामति र अवकास प्राप्त निजामति कर्मचारी मिलेर गठन गरिएको बुङ्गल सेवा समाजको दोश्रो साधारण सभा धनगढीमा सम्पन्न भएको छ ।
गत बर्ष मात्रै स्थापना भएको संस्थाले जन्मथलो बुङ्गलका असहाय, विपन्न परिवारका बालबालिकाको पढाईमा सहयोग गर्ने, अशक्त तथा अपाङ्गता भएका नागरिकलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने मात्र नभई बुङ्गलको समग्र विकासमा टेवा पुग्ने काम गर्ने उद्देश्य राखेको छ ।
सामाजिक काम गर्न हाल सम्म बुङ्गल सेवा समाजले सदस्यबाट मात्रै आर्थिक सहयोग लग्ने गरेको समाजका संस्थापक सचिव कृष्ण धामीले बताए । आगामि दिनमा बुङ्गलको विकासमा हातेमालो गर्न चाहने संघ संस्थाको सहयोग पनि लग्न सकिने उनले बताए । ‘हाल सम्म समाजले सदस्य बाहेक अन्य क्षेत्रबाट सहयोग संकलन गर्ने गरेको छैनौं,’ सचिव धामीले भने, ‘जति सदस्य छौं ती सदस्यबाट संकलन भएको पैसाले आफ्नो जन्मथलोको सेवा गरिरहेका छौं, आगामि दिनमा हामिसंग कोही जोडिन चाहे सहकार्य गरेर पनि जान सकिने छ ।’
समाजमा राजनीतिक गतिविधि हुन नदिन हालसम्म नेपाल सरकारका कर्मचारी र अवकास प्राप्त कर्मचारीलाई मात्रै सदस्यता वितरण गरिएको उनले बताए । सचिव धामिका अनुसार बुङ्गल सेवा समाजले बुङ्गल नगरपालिकामा रहेका ३० जना अनाथ बालबालिकालाई गत बर्ष देखि पढाईमा सहयोग गर्दै आएको छ । अनाथालयमा रहेका बालबालिकालाई खाद्यान्न सहयोग गर्ने गरिएको र अनाथालय बाहीर रहेका ३० जना बालबालिकालाई कम्तिमा पनि एस.र्ईई सम्म पढाईमा सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।
‘यो संस्था विशुद्ध गैर नाफामुखि हो,’ धामिले भने, ‘हामिले आफ्नो जन्मभुमिलाई माया गर्दै सकेको सहयोग गर्नुपर्छ भनेर समाजको परिकल्पना गरेका हौं, त्यही भावनाका साथ काम गरिरहेका छौं ।’
समाजले बुङ्गलमा व्याप्त रुढीबादी परम्परा हटाउन सचेतना मुलक कार्यक्रम समेत गर्ने गरेको उनले बताए । बुङ्गल सेवा समाजका अध्यक्ष बिरेन्द्र बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको दोश्रो साधारण सभा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए । उपाध्यक्ष शैलेन्द्र बहादुर सिंहले सञ्चालन गरेको कार्यक्रममा संस्थापक सचिव कृष्ण धामिले संस्थाको लक्ष्य, उद्देश्य र आगामी कार्य योजना प्रकाश पारेका थिए ।