मोहन जोशी
सोमबार, २५ पुष २०७९ मा प्रकाशित
धनगढी । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका–१ का ५५ बर्षिय चन्द्र साउँद, ४५ बर्षिय ललित साउँद र २० बर्षिया निर्मला बोहरा रहेका छन् । दुर्घटनामा परी बस चालकको पनि मृत्यु भएको । दुर्घटनामा १७ जना घाइते भएका छन् । उनिहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस सोमबार विहान ३ देखि ४ बजेको विचमा भएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानले सवारी चालकले मदिरा सेवन गरेर बस चलाउँदा दुर्घटना भएको अनुमान गरिएको छ । बसमा ६६ जना यात्रु सवार रहेका थिए ।
लखनउदेखि ३० किलोमिटर अगाडी बस दुर्घटना भएको हो । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको बसमा सवार भुपेन्द्र साउँदले बताए । बसको नम्बर खुल्न सकेको छैन । टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन् । तर उनीहरु स्वेच्छिक रुपमा सञ्चालन हुन्छन ।