धनगढी । भारतबाट व्यावसायिक कामका लागि आएका व्यक्ति र घुमन्तेहरुका कारण कैलालीमा दादुरा रुबेला निर्मुल पार्न समस्या देखा पर्न थालेको छ । हाल संचालन भैरहेको दादुरा रुबेलाको खोप अभियानका क्रममा स्वास्थ्यकर्मीहरुको निरन्तरको प्रयासपछि पनि उनीहरु खोप लगाउन तयार नभएपछि समस्याको रुपमा देखा परेको हो ।
“भारतबाट आएर बसिरहेकाहरु दादुरा रुबेलाको खोप लगाउन तयार भैरहेका छैनन् ।” जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने “यसले दादुरा उन्मुलन गर्न जोखिम बढाएको छ ।”
नेपालका १६ जिल्लामा दादुराको आउट ब्रेक देखा परेपछि अहिले दादुरा रुबेलाको खोप अभियान संचालन भैरहेको छ । जेठ २५ देखि शुरु भएको अभियान आगामी असार पहिलो हप्तासम्म संचालन हुनेछ ।
स्वास्थ्य विभागको परिवार कल्याण महाशाखा अनुसार सुदुरपश्चिमका कैलाली, कन्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप बढी देखा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावारी नगरपालिका दादुराको प्रकोप बढेको महाशाखाले जनाएको छ ।
अहिले संचालन भैरहेको अभियानमा कैलालीमा ६ महिनादेखि १५ बर्षसम्मका २ लाख ३ हजार बालबालिकाहरुलाई दादुरा रुबेलाको खोप लगाउने लक्ष्य छ ।
“संख्याका हिसाबाले लक्ष्य पुरा भए पनि भारतबाट अएका थुप्रै बालबालिकाहरुमा खोप नलाग्दा दादुरा निर्मुल पार्न चुनौती हुनेछ । कैलालीमा संख्या मात्र गन्दा लक्ष्य त पुग्छ ।” जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामी भन्छन् “तर यही रहेका, नेपाल भारत आवत जावत गरिरहने बालबालिकाहरुले खोप नलगाउदा दादुरा निर्मुल पार्न जोखिम पनि कायमै हुन्छ ।”
कैलालीममा भारतबाट आएर व्यावसायिक काम गरिरहेका व्यक्तिहरु र घुमन्तेहरु खोप लगाउन चयार भैरहेका छैनन् । कैलालीमा यस्ता व्यक्ति र घुमन्तेका २ हजार भन्दा बढी बालबालिकाहरु रहेको अनुमान छ । भारतमा खोप लगाइसकेको भन्दौ कामका लागि भारतबाट आएर समुहमा बसिरहेका परिवारका सदस्यहरु नै बालबालिकाहरुलाई खोप लगाउन तयार नहुदा समस्या पैदा भैरहेको जिल्ला स्वास्थ्य प्रमुख धामी बताउँछन् ।
कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया स्थित पुर्व जाने बाटोनिर पाल टागेर बसिरहेका घुमन्तेका बालबालिकाहरुलाई बुधबार स्वास्थ्यकर्मीहरुले दादुरा रुबेलाको खोप लगाएका छन् । तर धेरै ठाउँमा स्वास्थ्यकमी पुगे पनि उनीहरु खोप लगाउन मानिरहेका छैनन् ।
सुदुरपश्चिमममा दादुरा रुबेलाको खोप अभियान सफल बनाउन खटिएका बिश्व स्वास्थ्य संगठनका मेडिकल सर्भिलेन्स अफिसर डाक्टर रामु शर्मा पनि भारतबाट व्यापारका लागि आएर र भारतबाट आएका घुमन्तेहरु खोप लगाउन तयार नहुने गरेको अनुगमनका क्रममा भेटिएको बताउँछन् । “आफ्नै देशमा टिका लगाइसक्यौं भनेर उनीहरु (भारतीयहरु) खोप लगाउन नमान्ने र बिद्यालय बन्द हुदा केही बालबालिकाहरु छुटे कि भन्ने अनुगमनका क्रममा भेटिएको छ ।” शर्माले भने “अब पालिकासँग बसेर छुटेकाहरुलाई खोप लगाउने बारेमा छलफल गर्छौंं ।”
नेपाल सरकारले सन् २०२६ सम्म दादुरा उन्मुलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य प्राप्तिको लागि अहिले खोप अभियन संचालन भैरहेको छ । सन् २०१९ मा दादुरा उन्मुलन गर्ने लक्ष्य पुरा नभएपछि सन् २०२३ पुरा गर्ने लक्ष्य लिएको थियो । सन् २०२३ मा पनि पुरा नहुने भएपछि सन् २०२६ मा दादुरा उन्मुलन गर्ने लक्ष्य लिइएको हो ।
दादुरा र रुबेला रोग कोरोना भाइरस भन्दा पनि तीव्र गतिले फैलिनाका साथै मृत्यु दर पनि उच्च रहेको छ । एक जना दादुरा संक्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ । स्वास्थ्य मन्त्रालायले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ ।