धनगढी पोष्ट
शनिबार, ०२ असार २०८० मा प्रकाशित
धनगढी । कन्चनपुरको बेलौरी नगरपालिकाका थारु समुदायमा सिकलसेल एनिमिया र थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कन्चनपुरको आयोजनामा शुरु भएको अभियानको बेलौरीमा सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले शनिबार शुभारम्भ गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेशमा स्वास्थ्य सेवालाई सुदृढ बनाएर लैजानु सरकारको प्राथमिक कार्य भएको बताउँदै सिकलसेलको सेवालाई थप प्रभावकारी बनाइने बताए । “सिकलसेल सबै समुदायमा हुने भए पनि थारु समुदायमा बढी देखापरिहेको छ ।” मुख्यमन्त्री शाहले भने “सिकलसेलको स्क्रिनिङलाई अझै बढाएर लगिनेछ ।”
सिकलसेल स्वास्थ्य समस्याका रुपमा मात्र नभएर सामाजिक र आर्थिक समस्याका रुपमा पनि देखापरिरहेको बताउँदै मुख्यमन्त्री शाहले भने “कैलाली कन्चनपुरमा मुख्य बसोबास रहेका थारु समुदायककोल सहजताका लािग सिकलसेलको परिक्षण सेवा बढाउनुका साथै उपचारलाई सहज बनाउनेछौं ।”
मुख्यमन्त्री शाहले सिकलसेलका साथै अन्य दिर्घ रोगीहरुको पहिचान गर्न प्रदेश सरकार घरदैलोमा पुग्ने अभियानमा रहेको बताए ।
स्क्रिनिङ अभियानका क्रममा सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण गरेका सबैलाई परिचयपत्र पनि प्रदान गरिदैछ ।
बेलौरी बजारमा शुरु गरिएको परिक्षण अभियान अन्तर्गत पहिलो दिन शनिबार थारु समुदायका १ शय ८९ जनाको सिकलसेल एनिमिया र सिकलसेलको परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय कन्चनपुरले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेपछि कैलालीका दुई पालिका र कन्चनपुरको एक पालिकामा अभियानकै रुपमा थारु समुदायका व्यक्तिहरुको सिकलसेल एनिमिया र थालसेमियाको स्क्रिनिङ अभियान संचालन भैरहेको छ ।
बेलौरीमा असार २ देखि ५ गतेसम्म परिक्षण गरिनेछ । बेलौरीमा वडा नम्बर ४, ५, ६ र ७ का वासिन्दाको परिक्षण गरिनेछ । असार ६ र ७ गते लक्ष्मीपुरमा वडा नम्बर १, २ र ३ का थारु समुदायका वासिन्दाको र असार ९, १० र ११ गते रामपुर बिलासीपुरमा वडा नम्बर ८, ९ र १० का थारु समुदायका वासिन्दाको परिक्षण गरिनेछ ।
सिकलसेल एनिमिया थारु समुदायमा बढी मात्रा देखा परिरहेको छ । बंशाणुगत यो रोग थारु बाहेकका अन्य समुदायमा फाट्टफुट्ट देखापरिरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कन्चनपुरका प्रमुख दयाकृष्ण पन्त सिकलसेल थारु समुदायमा बढी मात्रामा देखापरेको तर कतिलाइ छ भन्ने थाहा नभएका कारण अभियान संचालन गरिएको बताउँछन् । “कैलाली कन्चनपुरमा थारु समुदायको बसोबास बढी छ र थारु समुदायमै सिकलसेल देखापरिरहेको छ ।” पन्त भन्छन् “त्यसैले सिकलसेल प्रभावित थारु समुदायको संख्या यकिन गर्न स्क्रिनिङ अभियान संचालन गरेका छौं ।”
सिकललसेल र थालसेमिया परिक्षण गरेका सबै व्यक्तिहरुलाई परिचयपत्र पनि दिइन लागेको छ । “सिकलसेल बंशाणुगत रोग भएकोले एक पटक परिक्षण गर्दा देखिएन भने फेरि परिक्षण गराइरहन पर्दैन ।” जिल्ला स्वास्थ्य प्रमुख पन्त भन्छन् “सिकलेसेल देखा परेकाहरुले उपचार पाउन सहज होस्, तथ्याङक राख्न सजिलो होस् भनेर सिकलसेल नदेखिएका र देखिएका सबैलाई यसपटकदेखि परिचय पत्र दिन शुरुआत गरेका छौं ।”
कैलालीको लम्कीचुहा नगरपालिकामा संचालन गरिएको अभियान असार १ गते सम्पन्न भएको थियो । लम्कीचुहामा ७ हजार ४ शय ८८ जनाको परिक्षण गरिएको छ । कैलालीकै कैलारी गाउपालिकामा असार ३ गतेबाट सिकलसेलको स्क्रिनिङ शुरु गरिनेछ । कैलारीमा ७ शय जनाको परिक्षण गर्ने लक्ष्य राखिएको छ ।