धनगढी पोष्ट
आइतबार, १० असार २०८० मा प्रकाशित
धनगढी । कैलालीमा थारु समुदायका १४ हजार ५ हय ४८ जनाको सिकलसेल एनिमियाको परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य २ हजार १८ जनामा पोजिटिभ देखिएपछि थप परिक्षणको प्रकृया अघि बढाइएको छ ।
लम्कीचुहा नगरपालिकामा ७ हजार ४ शय ८८ जना, कैलारी गाउपालिकामा ६ हजार ४ शय ६३ जना र जानकी गाउपालिकाको वडा नम्बर ५ मा ५ शय ९५ जनाको सिकलसेल परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका मीन बहादुर धामीले बताए ।
धामीका अनुसार परिक्षण गरिएका मध्य लम्कीचुहा नगरपालिकामा ९ शय ९३, कैलारी गाउपालिकामा ९ शय ६४ र जानकी गाउपालिकाको वडा नम्बर ५ मा १ शय १ जनामा सिकलसेलको संकेत भेटिएको छ । सिकलसेलको सम्भावना देखिएकाहरुको नमुना थप परिक्षणका लागि पठाइएको छ ।
सिकलसेल एनिमिया थारु समुदायमा बढी मात्रा देखा परिरहेको छ । बंशाणुगत यो रोग थारु समुदायमा बढी देखिन थालेपछि सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको अग्रसरतामा कैलालीमा सिकलसेलको परिक्षण गरिएको हो ।
सुदुरपश्चिम प्रदेश सरकारको सिकलसेल एनिमिया र थालसेमिया रोग पहिचान र निदानको लागि स्थानीय तहसँगको समन्वयमा निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको हो ।
अभियानका क्रममा सिकलसेल र एनिमिया र थालसेमियाको परिक्षण गरेका सबैलाई पहिलो पटक परिचयपत्र पनि बितरण गरिएको छ । एक पटक परिक्षण गरिसेकपछि फेरि परिक्षण गर्न नपरोस् भनेर परिक्षणको परिचयपत्र प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए । “सिकलसेल बंशाणुगत रोग भएकोले एक पटक परिक्षण गर्दा देखिएन भने फेरि परिक्षण गराइरहन पर्दैन ।” जिल्ला स्वास्थ्य प्रमुख धामी भन्छन् “सिकलसेल देखा परेकाहरुले उपचार पाउन सहज होस, तथ्याङक राख्न सजिलो होस् भनेर सिकलसेल नदेखिएका र देखिएका सबैलाई यसपटकदेखि परिचय पत्र दिइएको हों ।”
परिचयपत्रको ब्यवस्थाले सिकलसेलका बिरामीहरुको पहिचान गर्न, उनीहरुको संख्या यकिन भएर उपचारको व्यवस्था गर्न सहज हुने धामी बताउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामी सिकलसेल थारु समुदायमा बढी मात्रामा देखापरेको तर कतिलाइ छ भन्ने थाहा नभएका कारण अभियान संचालन गरिएको बताउँछन् । “कैलाली कन्चनपुरमा थारु समुदायको बसोबास बढी छ र थारु समुदायमै सिकलसेल देखापरिरहेको छ ।” धामी भन्छन् “त्यसैले सिकलसेल प्रभावित थारु समुदायको संख्या यकिन गर्न स्क्रिनिङ अभियान संचालन गरेका छौं । अभियानबाट सिकलसेल एनिमिया लागेका बिरामीहरुको संख्या र व्यक्ति पहिचान भएपछि उपचारको व्यवस्था गर्न सहज हुने धामी बताउँछन् । अहिले सेती प्रादेशि अस्पताल, महाकाली प्रादेशिक अस्पताल र घोडाघोडी अस्पतालमा सिकलसेलको परिक्षण र उपचार भैरहेको छ ।