धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलाली र कञ्चनपुरका १९ पालिकामा सिकलसेलका बिरामी

कैलाली र कञ्चनपुरका १९ पालिकामा सिकलसेलका बिरामी

धनगढी । कैलाली र कन्चनपुरका थारु  समुदायको बसोबास रहेका  सबै पालिकामा सिकलसेल देखा परेको छ । कैलालीका१३ पालिका मध्य तराई क्षेत्रका ११ पालिका र कन्चनपुरको दोधारचाँदनी बाहेकका आठ पालिकामा सिकलसेलका बिरामीहरु देखा परेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार सेतीमा गरिएको परिक्षणमा  अस्पतालमा  कैलालीको चुरे  गाउँपालिका र मोहन्याल गाउँपालिका तथा कन्चनपुरको दोधार चाँदनी बाहेकका सबै पालिकाका थारु समुदायहरुमा सिकलसेल एनिमिया देखा परेको छ ।

बंशाणुगत रुपमा देखा पर्ने सिकलसेल कैलारी र कन्चनपुरमा थारु समुदायमा बढी देखा परिरहेको छ । कैलालीमासबै भन्दा बढी कैलारी गाउँपालिकामा सिकलसेल एनिमिया रोगका बिरामीहरु देखा परेका छन् । कैलारीमा एक सय ५४ जना सिकलसेलका बिरामीहरु छन् ।

कैलारीपछि धनगढी उपमहानगरपालिकामा सबै भन्दा बढी सिकलसेलका बिरामीहरु देखा परेका हुन् । धनगढीमा एक सय ४७ जना बिरामीहरु देखापरेका छन् । धनगढीपछि गोदावरीमा ६४ जना बिरामीहरु देखापरेका छन् । 

यस्तै गौरीगंगामा ५४ जन, जानकीमा ४७ जना, बर्दगोरियामा ४६ जना, जोशीपुरमा ४३ जना भजनीमा ३९ जना, घोडाघोडीमा ३७ जना, टिकापुरमा ३३ जना र लम्कीचुहामा २१ जनामा सिकलसेल एनिमिया रोगका बिरामीहरु देखा परेका हुन् । 

यस्तै कञ्चनपुरका नौ पालिका मध्य एक पालिकामा सिकलसेल एनिमिया रोगका बिरामी देखा नपरेको हो । दोधारा चाँदनी नगरपालिकामा यो रोगका बिरामीहरु देखा नपरेका हुन् । पालिकाहरु मध्य सबै भन्दा बढी बेलौरी नगरपलिकामा ८८ जनामा सिकलसेलका बिरामीहरु देखा परेका छन् । 

बेलौरीपछि कृष्णपुरमा ५६ जनामा सिकलसेल रोग देखा परेको हो । यस्तै लालझाडीमा २४ जना, पुनर्वासमा २३ जना, बेल्लडाँडीमा २१ जना, भीमदत्तमा २० जना, शुक्लाफाँटामा १८ जना र  बेदकोटमा १४ जनामा सिकलसेल एनिमिया रोगका बिरामीहरु देखा परेका हुन् । 

सेती प्रादेशिक अस्पतालका सिकलसेल एनिमियाका फोकल पर्सन गौरीदत्त जोशीले सरकारले सिकलसेलको परीक्षण र उपचार निःशुल्क गरेपनि छुट्टै उपचार कक्षको व्यवस्था नहुँदा समस्या भएको बताए । अहिलेसम्म सबै भन्दा बढी थारु समुदायमा व्यक्तिहरुमा बढी देखापरेको उनले बताए । 

सिकलसेल एनिमिया पश्चिम नेपालमा देखिएको बंशाणुगत रोग भएकोले यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय, प्रदेश सरकार तथा सरोकारवाला निकायको भूमिका महत्पूर्ण हुने सेती प्रादेशिक अस्पतालका डा.प्रदिप मिश्रले बताए । विशेषगरी यो रोग थारू जातिमा बंशाणुत रुपमा देखा पर्दै आएको उनले बताए । 

सरकारले नीतिगत रूपमा सिकलसेल रोगीको परीक्षण र उपचार दुवै निःशुल्क गर्ने व्यवस्था गरेको सेती प्रादेशिक अस्पतालका मेडकल सुपरिटेन्डेन डा.शेरबहादुर कमरले बताए । उनले सरकारले एउटा बिरामीलाई एक लाख बराबरको औषधि दिँदै आएको बताए ।

कैलालीका विभिन्न थारू बस्तीमा सिकलसेल एनिमिया प्रभावितको संख्या दिना नुदिन बढ्दै गएको पाइएको उनले बताए । परीक्षण र उपचार निःशुल्क भए पनि ग्रामीण स्तरमा पुगेर रोगका बारेमा परीक्षण र जनचेतना भने जगाउन आवश्यक रहेको डा.कमरको भनाइ छ । 

सिकलसेलका बिरामीहरुले चाहे अनुसारको सेवा दिन नसकिरहेको उनले बताए । यस सम्बधी छुटै विशेषज्ञ चिकित्सक नहुँदा पनि धेरै समस्या भइरहेको उनले बताए । ‘यो प्रदेशमा एक जना रक्त्तरोग विशेषज्ञ अनिवार्य हुनुपर्छ,’ डा.कमरेले भने, ‘अहिलेसम्म दरबन्दी नै छैन ।’

यो रोग बढदै जाने थालेकाले गर्दा यस रोग सम्बधी छुटै दक्ष जनशक्तिसहितको अस्पताल हुनुपर्ने उनले बताए । डा.कमरका अनुसार यो रोग दिर्घरोग भएकाले यस रोगका बिरामीहरुले उपचारमा ध्यान दिन आवश्यक छ ।

यो रोग लागेका व्यक्तिहरुले काम गर्न नहुने उनले बताए । यो रोग लागेका व्यक्तिहरुले समयमै उपचार पाउन सक्यो भने ठिक हुने उनको भनाइ छ । 
सिकलसेल तराईमा गम्भीर रोगका रूपमा देखिएको छ । वंशाणुगत रूपमा सर्ने सिकलसेल भएका व्यक्तिमा शरीर, हाडजोर्नी दुख्ने, कमलपित्त, रक्तअल्पता, रिंगटा लाग्ने, कमजोर हुने लगायतका समस्या देखिने गरेको जनाइएको छ ।

सिकलसेल भएका दम्पत्तिबाट जन्मेका बच्चामा समेत यो रोग देखिने गरेको छ । नेपालको तराई क्षेत्रका बाँके, दाङ, बर्दिया, कैलाली र कञ्चनपुर थारू जातिको बसोबास धेरै भएका जिल्ला हुन् ।

सेती प्रादेशिक अस्पतालमा आर्थिक वर्ष २०७१÷०७२ देखि २०८०÷२०८१को जेठ मसान्त सम्ममा कैलालीका छ सय ६५ र कञ्चनपुरका दुई सय ६४ गरी नौं सय ४९ जनाले उपचार गराई रहेका छन् । यसमध्य चार सय ८० पुरुष र चार सय ६९ महिला रहेका छन् ।