धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलाली हात्तीपाइले रोग निवारणको एक चरणमा प्रवेश

कैलाली हात्तीपाइले रोग निवारणको एक चरणमा प्रवेश

धनगढी । कैलाली जिल्ला हात्तीपाइले रोग निवारणको एक चरणमा प्रवेश गरेको छ । ११औं पटक सम्म आम औषधी सेवन अभियान सञ्चालन पछि कैलाली जिल्ला हात्तीपाइले रोग निवारणको एक चरणमा प्रवेश गरेको हो ।

११ औं पटकको अभियानमा भने जिल्लाका ८० प्रतिशत नागरिकले आम औषधी सेवन गरेपछि लक्ष्य पुरा भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत आसुतोष श्रेष्ठले बताए । 

कैलाली जिल्लालाई दुई भागमा बिभाजन गरेर औषधी खुवाउने र सर्वेक्षण गरिएको  बताउदै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने अहिले प्रारम्भिक रुपमा पास भएको छ । अझै एक दुई पटक परिक्षण गर्दा पास भएमा कैलाी पुर्ण रुपमा  पास हुन्छ ।’

जिल्लाका एक हजार दुई सय ३१ जनाको सर्वेक्षण गरिएकोमा दुई जनामा मात्रै हात्तीपाइले पोजेटिभ भेटिएको  स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोगका फोकल पर्सन मीनबहादुर धामीले बताए ।

उनका अनुसार संक्रमण दर दुई प्रतिशत भन्दा कममा झार्न सकेको अवस्थामा रोग निवारणको चरणमा गएको मानिन्छ । 

कैलालीमा शुरुवाती चरणमा ६५ प्रतिशत नागरिकलाई दुई प्रकारका औषधी मात्रै खुवाईने लक्ष्य निर्धारण गरिएको थियो । तर जिल्लाका ६५ प्रतिशतनागरिकले समेत औषधीनखाएकाकारण सो अभियान ९ औं चरणसम्म सञ्चालन भयो । १०औं र ११औं चरणमा भने ८० प्रतिशत नागरिकलाई तीन प्रकारको औषधी खुवाउने लक्ष्य निर्धारण गरिएको थियो । 
सो लक्ष्य भने स्वास्थ्य कार्यालयले पुरा गरेको हात्तीपाइले रोग फोकल पर्सन धामीले बताए । १० औं र ११ औं चरणको औषधी खुवाउने अभियान कडाईका साथ सञ्चालन गरिएपछि अभियान सफल भएको उनले बताए  । हात्तीपाइले रोग निवारणमा पटक–पटक फेल हुँदै आएको भएपनि यस पटक भने एक चरण पास भएको उनले बताए । 

धामीका अनुसार १० औँ चरणमा ८१ प्रतिशत र ११ औँ चरणमा ८३ प्रतिशत औषधी खुवाइएको हो । कैलालीमा भने एक प्रतिशत नागरिकमा पनि संक्रमण नभेटिएका कारण जिल्लालाई रोग निवारणको सूचिमा राखने प्रक्रिया सुरु भएको उनले बताए । 

धामीका अनुसार दुई जनामा पोजेटिभ देखिनुको कारण भनेको औषधी खुवाइने अभियानमा जिल्ला बाहिर रहेकाले गर्दा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका दुई जना र परिवारलाई फेरी औषधी सेवन गराएको उनले बताए ।

पोजेटिभ देखिएका दुई जनाको अवस्था अहिले सामान्य रहेको उनले बताए । नागरिकले सरकारको लक्ष्य अनुसार औषधी सेवन नगर्दा अभियानमा सफल हुन नसकेएको उनले बताए । 

खुल्ला सिमा नाका र भारत तिर रोजगारीका लागि आवतजावतले गर्दा पनि औषधी सेवन बाट बञ्चित हुँदा निवारणमा ढिलाई भएको उनले बताए । 
‘बढी शिक्षित भएका व्यक्तित्वहरु भए,’ उनले भने, ‘यहाँ मलाई केही समस्या छैन किन खानुपर्छ भने मनस्थिति भएका व्यक्तिहरुका कारणले पनि केही अलि पछाडि धक्लिएको हो ।’

पछिल्लो पटक इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गरेको सर्वेक्षण अनुसार कैलालीमा हात्तीपाइलेको संक्रमण दर एक प्रतिशत भन्दा पनि कममा झरेको छ । कैलाली जिल्लामा २०६९ साल देखिनै हात्तीपाईले रोग विरुद्धको आम औषधी खुवाउने अभियान सञ्चालन गरिएको थियो । 

कैलाली भन्दा ढिलो गरी औषधी सेवन अभियान सञ्चाल भएका सुदूरपश्चिमका आठ जिल्ला रोग निवारणको सूचिमा समावेश भएपनि कैलाली जिल्ला भने लगातार असफल हुँदै आएको थियो ।  हात्तीपाइले रोग क्यूलेक्स नामक लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो । 

यो रोग लागेपछि समयमै औषधी सेवन गरेन भने हातखुट्टा सुन्निने, हाइड्रोसिल हुने जस्ता लक्ष्ण देखा पर्ने गर्दछन् । हात्तीपाईले रोग लाग्न नदिनुनै रोगबाट बच्ने उपाय हो । रोग लागेपछि यसको उपचार पद्धति धेरै महंगो हुने गर्दछ ।