धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

कैलालीका १५ विद्यालयको नतिजा शून्य

कैलालीका १५ विद्यालयको नतिजा शून्य

धनगढी । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा कैलालीका १५ विद्यालयको नतिजा शून्य आएको छ । एसईई २०८० मा कैलालीबाट दुई सय ९७ विद्यालय सहभागी रहेकोमा १५ वटा विद्यालयको नतिजा शुन्य आएको हो ।

शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्टले विगतका वर्षहरु भन्दा यस वर्षको नतिजा त्यति सन्तोष जनक नरहेको बताए । 

‘यो सन्तोष जनक नतिजा होइन । यसलाई सन्तोष मानेर चुप लागेर बस्नुपर्ने अवस्था छैन । यसका लागि सबैले आ–आफनो क्षेत्रमा जो–जसलाई जिम्मेवारी तोकिएको छ ।

शिक्षा विकास निर्देशनालयका निर्देशक बिष्टले भने, ‘त्यो जिम्मेवारीलाई पूर्ण रुपमा कार्यान्वय गर्न तर्फ सबैले लाग्नुपर्छ । अनि मात्रै सन्तोष जनक नतिजा आउँछ ।’ 

शुन्य नतिजा ल्याउने १५ विद्यालयमध्य सबैभन्दा धेरै भजनी नगरपालिकाका पाँच विद्यालयहरुरहेका छन् । भजनीका सरस्वती, महेन्द्र, राष्ट्रिय मावि महादेउली, राष्ट्रिय मावि घुसी र राष्ट्रिय मावि पल्टुपुरका सबै  बिद्याथीको नतिजा नन ग्रेडिङ रहेको छ ।

टीकापुर नगरपालिकाका तीन विद्यालय सगुन एकेडेमी, राष्ट्रिय र त्रिभुवन माविबाट परीक्षा दिएका सबैको नतिजा ननग्रेड (एनजी) छ ।

यस्तै मोहन्याल गाउँपालिकाका मोहन्याल र भैरवमाला मावि, चुरे गाउँपालिकाका जनता र भागवती मावि, गोदावरी नगरपालिकाका खुल्ला विद्यालय र दुर्गा मावि र कैलारी गाउँपालिकाको राष्ट्रिय माविको नतिजा शुन्य छ ।

निर्देशक बिष्टले भने,‘स्थानीय तहले विद्यालयका भवन बनाउने होइन । अब शैक्षिक गुणस्तर तर्फ लाग्नुप¥यो  विद्यार्थीको पढाइलाई मुख्य केन्द्र बिन्दु बनाएर । विद्यालय निरीक्षण गर्नुप¥यो ।

विद्यालय निरीक्षण प्रशासनिक निरीक्षण गरेर हुँदैन । क्लिनिकल सुपर भिजन गरेर शिक्षक सहायता गर्न सक्याँै पढाइमा लगाउन सक्यौँ भन्ने मात्रै नतिजा बढ्छ ।’ 

यस विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । वार्षिक प्रति विद्यार्थी २५ हजारसम्म राज्यको लगानी भइरहेको उनले बताए । शैक्षिक सामग्रीलगायत गुणस्तर बृद्धिका काम प्राथमिकतामा नपर्दा यस्तो हालत भएको उनको भनाइ छ । अर्कोतिर शिक्षा क्षेत्र अस्तब्यस्त भएको उनले बताए । 

‘पालिकाले आफै विश्लेषण गरेर नतिजा शून्य आउनुमा भूमिका कसको त भने कुरा खोज्ने बेला आयो । त्यो खोज्नुप¥यो । वर्ष भरी पढायो अनि नतिजा शून्य हामीले ग¥यौँ त भने प्रश्न सबैका अगाडि आयो । सबैले आ–आफनो क्षेत्रमा गरौँ भने हो,’ निर्देशक बिष्टले भने । 

कैलालीमा ५३ वटा केन्द्र रहेका छन् । ०८० को एसईई परीक्षामा नियमित तर्फ आठ हजार ६ सय ७२ जना छात्र र आठ हजार ६ सय ७५ जना छात्रा गरेर १७ हजार तीन सय ४७ जना परीक्षामा सहभागि भएका थिए ।

ग्रेडवृद्धिका परीक्षार्थीहरु  तीन सय ८६ जना छात्र र पाँच सय ९५ जना छात्रा गरेर नौ सय ८१ जना रहेका थिए । 

प्राविधिक तर्फका परीक्षार्थीहरु दुई सय ६४ जना छात्र र एक सय २८ छात्रा गरेर तीन सय ९२ जना रहेका थिए । नौ हजार तीन सय २२ जना छात्र र नौ हजार तीन सय ९८ जना छात्रा गरेर १८ हजार सात सय २० जनाले परीक्षामा सहभागि भएका थिए । 

एसईईमा पाँच हजार चार सय २८ जना ३०.०६ प्रतिशत विद्यार्थीहरु उतीर्ण भएका छन् । १२ हजार ६ सय ३२ जना विद्यार्थीहरुको ननग्रेड (एनजी) आएको तथ्यांक छ । यी सबैले साउनमा हुने पूरक परीक्षा दिने भएका छन् ।