धनगढी पोष्ट शनिबार, २१ असार २०८२   July 5, 2025

सुदूरपश्चिममा वर्षेनी डेङ्गु सङ्क्रमण बढ्दै

सुदूरपश्चिममा वर्षेनी डेङ्गु सङ्क्रमण बढ्दै

धनगढी । सुदूरपश्चिममा वर्षेनी डेङ्गु संक्रमण बढ्दै जान थालेको छ । प्रदेशमा तीन वर्षको तथ्याङक हेर्दा वर्षेनी डेङ्गु संक्रमण बढ्दै जान थालेको हो । 

स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को माघ महिनादेखि असार दोस्रो सातासम्म प्रदेशमा एक सय ६७ जनामा डेङ्गु संक्रमित फेला परेका छन् भने गत आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार चार सय ४४ जनामा डेङ्गु संक्रमित फेला परेका छन् । 

उनले आर्थिक वर्ष २०७९÷०८० मा एक हजार एक सय ९४ जनामा डेङ्गु संक्रमित फेला परेकोमा चार जनाको मृत्यु समेत भएको बताए । 

चालु आर्थिक वर्ष २०८१÷०८२ को छ महिनामा सबै भन्दा बढी डडेल्धुरामा डेङ्गु संक्रमित फेला परेको छ भने संक्रमित नै फेला नपरेको जिल्ला बैतडी रहेको छ । डडेल्धुरामा ३४ जनालाई डेङ्गु संक्रमण भएको छ, भने बैतडीमा शून्य संख्यामा संक्रमण रहेको छ । 

यसैगरी, कैलालीमा ३१ जना, कञ्चनपुरमा २९ जना, डोटीमा २५ जना, अछाममा २४ जनामा संक्रमण फेला परेको छ । 
यस्तै, बझाङ र बाजुरामा ११÷११ जनामा, दार्चुलामा दुई जनामा डेङ्गु संक्रमण फेला परेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमले जनाएको छ । 

स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत जोशीले शहरीकरण, निर्माणको काम लगायत शहर उन्मुख बसोवास बढ्दै गएकाले लामखुट्टेको उत्पादन बढि भएकाले गर्दा पनि संक्रमणहरु बढ्दै गएको बताए । 
डेङ्गु नियन्त्रणका लागि आफूहरुले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी खोज्ने र नष्ट गर्ने लगायतका जनचेतना मुलक कामहरु गरिरहेको उनले बताए । 

स्थानीय तहहरुलाई डेङ्गु सङ्क्रमण रोक्थामका लागि विभिन्न क्षमता विकास तालिमहरु पनि दिँदै आइरहेको उनले बताए । उनले अस्पतालमाहरुमा किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास गर्नुका साथै उपचारमा आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने कामहरु गरिरहेको बताए । यस वर्ष अलि बढी वर्षा हुने भएकाले संक्रमितको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । 

स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मीनबहादुर धामीले डेङ्गु संक्रमण देखिएको क्षेत्रहरुमा लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको बताए । सार्वजनिक स्थलहरुमा डेङ्गु सम्बन्धी जनचेतना मुलक प्रचार–प्रसारका बोर्डहरु लगाउनुका साथै स्वास्थ्य संस्थाहरुबाट सरसफाई कार्यलाई निरन्तरता दिइरहेको उनले बताए । सूचना तथा सञ्चारमाध्यमहरुबाट डेङ्गु सम्बन्धी जनचेतनामुलक सन्देशहरु पनि प्रसारण गर्न गरेको उनको भनाइ छ । 

एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेले घाम उदाएको दुई घण्टापछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडिको समय घाम लागेको बेला बढी टोक्ने गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालय जनाइएको छ । 

यो रोग लागेमा एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछ । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको जनाइएको छ । झुल लगाएर मात्रै सुत्ने, घर वरिपरि सरसफाइ गर्ने, भाँडाकुँडामा लामो समयसम्म पानी जम्न नदिने जस्ता कार्य गर्न आवश्यक रहेको बताइएको छ ।