भोजराज जोशी
मङ्गलबार, २७ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षले जनतालाई ढाँटिरहेको बताएका छन् । मंगलबार प्रदेश सभामा सम्बोधन गर्दै उनले प्रतिपक्षलाई यस्तो आरोप लगाएका हुन् ।
मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका नाममा भएको खर्चको हिसाब माग्दै लामो समय प्रदेश सभा अवरोध गरेको प्रति कटाक्ष गर्दै भने–‘प्रतिपक्षले कोरोनाका नाममा ९३ करोड खर्च भयो हिसाब देउ भन्छ, तर हामीले ५० देखि ५३ करोड खर्च गरेका छौं, अनि बाँकी खर्चै नभएको रकमको हिसाब कताबाट दिनु ?’
उनले प्रतिपक्षले जनतालाई ढाट्ने काम गरिरहेकोले त्यस्तो काम गर्न नहुने बताए । मुख्यमन्त्रीले प्रदेश सभामा भने–‘संघीय सरकारले २०औं करोड दियो भनेर प्रतिपक्षका साथीहरुले भन्नुभएको छ, त्यसको हिसाब माग्नुभएको छ, हामीलाई संघीय सरकारले दिएको ६ करोड हो, त्यो पनि हामीले खर्च गर्न पाउने गरी होइन, स्थानीय तहहरुलाई दिनका लागि । अनि त्यसको हिसाब कसरी दिनु ?’
‘यसैका नाममा प्रदेश सभा लगातार अवरुद्ध भयो र हामीले चाहे अनुसार बजेटमा सभामा छलफल हुनै पाएन’– बिना छलफल नै बजेट पारित गर्नपर्ने बाध्यता हाम्रा सामु आयो ।’ लोकतन्त्र भनेर मात्र नहुने र यो ब्यवहारमा देखिनुपर्ने मुख्यमन्त्रीको भनाई छ ।
प्रतिपक्षले आफूलाई जिम्मेवार बनाउनुपर्ने र भ्रम छर्ने काममा लाग्न नहुने उनले बताए ।
प्रदेश सरकारले २४ करोड भन्दा बढी रकम राहत बितरण, आइसोलेसन निर्माण, क्वारेन्टिन ब्यवस्थापन का लागि स्थानीय तहलाई दिएको मुख्यमन्त्रीले बताए । कोरोना भाइरस प्रदेशमा समुदाय स्तरमा फैलिन नदिन प्रदेश सरकारले बिभिन्न उपायहरु गरिरहेको उनले बताए ।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा बाढी र पहिरोबाट असार १ गते यता मात्रै ४३ जनाको मृत्यु भएको जानकारी दिए । उनले बाढी र पहिरो पिडितहरुको लगत संकलन गर्ने काम भइरहेको बताउँदै लगत संकलन भइसकेपछि सरकारले पिडितका लागि कार्यक्रम बनाउने बताए ।