धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कञ्चनपुरमा ९५ प्रतिशत कोरोना बिरामी निको भए

महेन्द्रनगर

   कञ्चनपुरमा ९५ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । विश्व लगायत देशका अन्य जिल्लाहरुमा कोरोना भाइरसको महामारीको संक्रमण वढिरहेका बेला कञ्चनपुरमा भने कोरोना भाइरसबाट संक्रमण भएका बिरामी मध्ये ९५ प्रतिशत बिरामी निको भएका छन् ।

   स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा मंगलवार मात्र ३ जना थप कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये २ जना बेलौरी नगरपालिका र १ जना  बेल्डाँडी गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका कोविड १९ श्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार हाल सम्म कञ्चनपुर जिल्लामा ५ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ सय ६२ जना कोरोना संक्रमित  भने निको भएर घर गएका छन् ।

 यस्तै जिल्लामा पुर्वी तराई विरगंज तथा संघिय राजधानी काठमाडौं जिल्ला जस्तो भयाभय स्थिती नआएको तर सावधानी भने अपनाउनु पर्ने कोविड १९ श्रोत व्यक्ति भट्टले बताए । उनका अनुसार जिल्लामा हाल सम्मका कोरोना संक्रमित बिरामी मध्ये सवैजसो बिरामी भारतबाट आएका छन् । डिष्चार्ज हुन वाँकी रहेका संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए ।

 कञ्चनपुर जिल्लामा स्वास्थ्य कार्यालयले गरेको कोरोना चेकजाँचमा अधिकतम कोरोना नेगेटिभ भेट्टीएको र समुदाय स्थरमा कोरोना फैलिएको हो भन्ने ठोस प्रमाण पनि नभेटिएको भट्टले बताए ।