धनगढी पोष्ट
सोमबार, १० फागुन २०७७ मा प्रकाशित
धनगढी
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई तिन दिनमै अदालतमा चलिरहेको संसद बिघटन समन्धि मुद्धाको फैसला हुने बताएका छन् ।
कंचनपुरमा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले देश निर्वाचन तर्फ गईसकेको बताउँदै अबको दुई तिन दिनमा अदालतले पनि मुद्धा टुङग्याउने बताए । प्रधानमन्त्री ओलीले भने–‘कसैलाई धम्की दिन आवश्यक छैन, अदालतलाई धम्की दिने वानी पनि छैन, हामी लोकतन्त्रमा बिश्वास गर्ने हुँदा न्यायलयलाई धम्की दिदैनौ ।’
प्रधानमन्त्री ओलीले भने–‘यदी संसद पुर्नस्थापना भयो भने प्रधानमन्त्री खोज्नुपर्छ, समिकरणमा अनेक खेल हुन्छन सांसद किनबेच हुन्छन विकास निर्माण लथालिंग हुन्छ ।’ अदालतले जस्तो फैसला गरेपनि आफुलाई कुनै छटपटि नहुने प्रधानमन्त्रीले बताए । उनले भने–‘हामी देश बनाउने अभियानमा भएकाले जे भएपनि फरक पर्दैन ।’
आफुले बिराटनगरमा आन्दोलन गर्छु भनेको कुरालाई केहीले दुस्प्रचार गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने–‘आन्दोलन भनेको नारा, जुलुस, ढुंगामुढा गर्ने भनेको होईन,देश निर्माणको आन्दोलन अर्थात अभियान भनेको हो ।’
प्रधानमन्त्री ओलीले महाकाली सन्धीको स्मरण गर्दै भने–‘महाकाली सन्धीमा नदी बेचेको होईन, सदुपयोग गरेको हो ।’ महाकालीको पानी लिएर भारतले सिचाई गरिरहेको तर नेपालमा सुख्खा रहेकाले अब चाँडै कंचनपुरको दोधारा चाँदनीमा सिचाई पुग्ने बताए ।
सम्बोधनको अधिकांस समय सुदूरपश्चिमको बिकास निर्माणमा खर्चिएका ओलीले बर्तमान सरकारले बिकास निर्माणमा चात्कार गरेको बताए । उनले भने–‘हाम्रो काम बिध्वंस गर्ने होईन, निर्माण गर्ने हो, अब मेचि देखि महाकाली सम्म रेल कुदछ त्यसका लागि काम भईरहेको छ ।’
सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।
प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ । दैजी छेला औद्योगिक क्षेत्र विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो ।
विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) र इआइए प्रतिवेदनको स्वीकृतिको काम सम्पन्न पश्चात निर्माणका लागि बाटो खुलेको छ । औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १ सय २४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने अपेक्षा गरिएको छ ।
त्यहाँ रहेको जनचेतना सामुदायिक वनको दुई सय हेक्टर र बेदकोट सामुदायिक वनको ४ सय ५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ ।
दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो । त्यसपछि आव २०७१÷७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो । औद्योगिक क्षेत्र पुग्ने पहुँच मार्ग निर्माणका लागि बेदकोट नगरपालिकाले काम अगाडि बढाएको छ ।