भोजराज जोशी
आइतबार, २५ जेठ २०७७ मा प्रकाशित
धनगढी –
सुदुरपश्चिम प्रदेश सभाका सदस्यहरुले आरडीटीको परिक्षण रोक्न माग गरेका छन् । आरडीटीको बिश्वसनयता बिश्वमा कही नभएको भन्दै आइतबार भएको प्रदेश सभाको बैठकमा सुदुरपश्चिममा पनि त्यसको प्रयोग रोक्न प्रदेश सभा सदस्यहरुले माग गरेका हुन् ।
प्रदेश सभाको आइतबारको बैठकमा ढ्यापढ्यापे समय लिएर बोल्दै नेकपाका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरत बहादुर खड्काले यस्तो माग गरेका हुन् । उनीहरुले आरडीटीबाट जाच्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएकाहरुमा फेरी जाँच्दा कोरोना संक्रमण रहेको पुष्टि भएकोले यस्तो परीक्षण बन्द गर्न माग गरेका हुन् ।
प्रदेश सभा सदस्य दीर्घ सोडारीले आरडिटीको भरमा घर पठाइएकाहरुबाट समाजमा भयावह रुपमा संक्रमण फैलिन सक्ने अवस्था रहेकोले आरटि पिसिआर परीक्षण गर्नु पर्ने र यसका लागि प्रयोगशालाहरुको क्षमता बढाइनुपर्ने माग गरे । उनले कैलालीमा पहिलो पटक कोरोना संक्रमित पत्ता लागेको झण्डै तीन महिना पुरा हुन लागेको र यस बीचमा गरिनु पर्ने पर्याप्त तयारी गर्न नसकेकोमा प्रदेश सरकारको आलोचना गरे । उनले बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको प्रदेश सरकारले तीन महिनासम्म त्यसमा कुनै काम नगरेकोमा आक्रोस
पोखे ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले युरोपियन देशहरुले आरडिटी किटको विश्वसिनयता माथि प्रश्न उठाई प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुखद भएको बताए । उनले यस्तो परीक्षणले संक्रमणको दर भयावह हुन सक्ने भन्दै बन्द गर्न माग गरे ।
नेकपाकै प्रदेश सांसद पूर्णा जोशीले आरडिटी परीक्षणको औचित्य नभएको भन्दै बन्द गर्न माग गरिन् । उनले डोटीको क्वारेन्टाइनमा मृत्यु भएका युवाको स्वाब संकलन मुत्यु पहिले नै नगरिएकोमा आक्रोस पोखिन । क्वारेन्टाइनहरु ब्यवस्थित नभएको र मृत्यु घरमा परिणत भइरहेको भन्दै उनले प्रयोगशालाहरु बढाउने र भएका प्रयोगशालाहरुको क्षमता बढाउने तर्फ प्रदेश सरकार लाग्नुपर्ने बताइन् ।
प्रदेश सभामा अहिले सुदरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक माथि छलफल भइरहेको छ ।