मोहन जोशी
आइतबार, २५ जेठ २०७७ मा प्रकाशित
धनगढी,
सीमा सुरक्षाका लागि कैलालीको हसुलियामा स्थापना गरिएको सशस्त्र प्रहरीको अस्थाई पोष्टको मेसमै बन्चरो हानाहान हुँदा पोष्ट इन्चार्ज सहित दुई जना गम्भीर घाइते भएका छन् । मदिरा सेवन गरी बसेका दुई जवानले खाना खान आएका सशस्त्र प्रहरी नायब निरीक्षक राम बहादुर टेर र हवल्दार दौलत सिंह धामीलाई बन्चरो प्रहार गरी घाइते बनाएका हुन् ।
कोरोनाको कहर शुरु भएपछि कैलारी गाउँपालिका वार्ड नं. ५ छोटी पलियामा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरिएको हो । कैलालीमा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल नं ३४ अन्तरगत उक्त अस्थायी पोष्ट स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल ३४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले अस्थायी पोष्टमा सामान्य घटना भएको बताए । उनले जवानहरु बीच आपसी विवाद भएपछि सामान्य हात हालाहाल मात्रै भएको बताए ।
सशस्त्र प्रहरी उच्च श्रोतका अनुसार सीमामा निर्माण गरिएको बीओपीमा रहेका ९ मध्य दुई जवानले प्रहरी नायब निरीक्षक (सई) रामबहादुर टेर र हवल्दार दौलतसिंह धामीलाइ निर्घात कुटपिट गरेका हुन् ।
घटना जेठ २१ गते रातिको हो । श्रोतका अनुसार कैलारी गाउपालिकासंग जोडिएको सीमा नाका छोटी पलिया स्थित पोष्टका दुई जवानले मेसमा खाना खान आएको बेलामा सई र हवल्दारलाई कुटेका हुन् । कुटपिटका क्रममा सइ टेर र हवल्दार धामीलाई टाउकोमा बञ्चरो प्रहार गरिएको थियो ।
उच्च स्रोतका अनुसार कुटपिटपछि ती जवानले पोष्ट इन्चार्ज टेरलाई गोली प्रहार गर्न हतियार नै खोस्न खोजेका थिए । तर अन्य जवानले हतियार समात्न नदिएपछि गोली भने चलाउन पाएका थिएनन् । मदिराको मातमा रहेका नाम नखुलेका ती जवान नशामा झनै आक्रोसित बनेपछि ड्युटीमा रहेका अन्य जवानहरू भागेर जंगल हुँदै गाउँलेको शरणमा पुगेका थिए ।
श्रोतका अनुसार ड्युटीमा रहेका सिपाहीको बन्दुक खोसेर गोली हान्ने प्रयास समेत भएको थियो । तर सिपाहीहरू जंगलतिर भागेपछि थप घटना हुन पाएन ।
अस्थायी पोष्टमा मुठभेडपछि रकताम्य अवस्थामा रहेका दुई जनालाई पोष्ट नजीकै रहेको वडा अध्यक्षको घरमा लगिएको थियो । वडा अध्यक्षकै घरबाट पछि उनीहरुलाई उद्धार गरेर धनगढी ल्याइएको हो । घाइते दुबै सेती प्रादेशिक अस्पतालमा उपचारपछि सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलाली फर्केका थिए । ‘चेन अफ कमाण्डमा चल्ने फौजी संगठनमा जवानले कमाण्डरलाई नै कुटपिट गर्ने अवस्था आउनुलाई सामान्य भने मानिँदैन । घटना गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । जानकारीपछि गणबाट थप प्रहरी बल घटना स्थलमा पुगेर कुटपिट गर्ने दुई जवानलाई डोरीले बाँधेर लगेको गाउँलेले जनाएका छन् ।
३४ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिउसिनाले आन्तरिक विवादका क्रममा ‘सामान्य घटना’ भएको बताए । कुटपिट गर्ने प्रहरीलाई गणमा ल्याएर आन्तरिक कारबाही थालिएको तिउसिनाले बताए । ‘सीमामा खटिएका जवानको आपसी लेनदेन हो वा अन्य विषय हो भन्ने बारेमा छानविन भइरहेको छ’ प्रहरी उपरिक्षक तिउसीनाले भने– ‘यसलाई ठुलै नमान्दा उत्तम हुन्छ ।’