धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

वाष्पीकरण नहुदा कम पर्छ धनगढीमा पानी

वाष्पीकरण नहुदा कम पर्छ धनगढीमा पानी

धनगढी । धनगढीबाट १४ किलो मिटरमा छ अत्तरिया । अत्तरियामा सरदर पानी परिरहेकै हुन्छ । तर धनगढीमा भने पानी पर्दैन । यो भनिरहदा कतिपयलाई अच्चमा पनि लाग्न सक्छ । तर धनगढीमा पानी नपर्नुको विभिन्न कारणहरु पनि छन् ।

धनगढीमा पानी नपर्दा तापक्रम समेत बढदै जान थालेको छ । केही दिन अगाडि धनगढीको तापक्रम ४४ डिग्री सम्म पुगेको थियो । अहिले ४० डिग्री सम्म तापक्रम पुग्ने गरेको छ । 

धनगढीमास्थानीय वायुको प्रभावले गर्दा वर्षा नहुने गरेको मौसमविद्हरु बताउँछन् । शहरी क्षेत्रमा तापक्रम बढ्ने र वाष्पीकरण धकेलिँदै जंगल तथा पहाड भएको ठाउँतिर जाने भएकाले जंगली क्षेत्र तथा पहाडको तुलनामा सहरमा कम वर्षा हुने गरेको मौसमविद् चिरन्जिवी भेटवालले बताए । 

‘धनगढीभन्दा उत्तरतर्फ जाँदै गर्दा वर्षा भएको देखिन्छ,’ उनले भने,‘शहरको वाष्पीकरण धकेलिँदै पहाड तथा जंगल भएको क्षेत्रतिर जाने र त्यहाँ रहेको तातो र चिसो हावा मिसिन गई चिस्निे प्रक्रियामा सहयोग गर्छ र वर्षात् हुन्छ, जुन सहरमा हुँदैन ।’ 

शहरमा पानी पर्न ठूलो सिस्टम आउनु पर्ने उनी बताउँछन् । जंगल तथा पहाडतिर बादल बन्ने प्रक्रिया सजिलो हुने भएकाले पनि त्यहाँ पानी पर्ने गरेको बताउँदै उनले भने,‘त्यो प्रक्रिया जंगल नभएको र सहरी क्षेत्रमा अत्याधिक तातो हुने भएकाले त्यहाँ वर्षा हुँदैन।’

देशभरी नै झरी लाग्ने अवस्था आएमा मात्रै सहरमा पानी पर्ने गरेको उनले बताए । तुलनात्मक हिसावले सहरभन्दा गाउँ तथा पहाडतिर वर्षा हुने गरेको उनको भनाइ छ  । 

धनगढीमा ताल तथा पोखरी कम भएको र भएकैसाना –ठूला तालको पानी पनि सुकेका कारण वाष्पीकरण हुन नसक्दा पानी नपर्ने गरेको वातावरणविद्हरु बताउँछन् । धनगढी ठूलो शहर हो । जहाँको पुरानो बस्ती वरपर जंगल तथा तालतलैया, पोखरी छैनन् ।

जसले गर्दा वाष्पीकरण हुन नसक्नु र नजिकै रहेको मोहना नदीको वाष्पीकरण पनि सहरीकरणमा भएको तातो वायुले धकेल्दै चुरे पहाड रहेको गोदावरी तथा आसपासको जंगल क्षेत्रमा पुगाउने भएकाले पनि धनगढीमा वर्षात कम हुने गरेको हो । ‘

धनगढी आसपास पानी वाष्पीकरण हुने ठूला पोखरी तथा तलाउ छैनन्,’ जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले भने,‘नजिकैको मोहना नदी मात्रै हो, जसबाट भएको सामान्य वाष्पीकरणले स्थानीय वायुको पानी पार्ने प्रभावलाई असर गर्न सक्दैन । 

स्थानीय वायु र वाष्पीकरणको टकरावले ‘एन्टी साइक्लोन’ अवस्था सिर्जना गर्दछ। जसले गर्दा तापक्रम बढी हुने सहरमा पानी पार्ने अवस्थालाई कमजोर पार्न सक्ने भएकोले पानी कम परेको हुनसक्छ ।’

स्थानीय वायूको प्रभावले धनगढीमा भएको वाष्पीकरण नजिकै रहेको जंगल तथा पहाडतर्फ धकेलिने गरेको बताउँदै उनले भने,‘शहरमा तातो वायु हुन्छ, जुन कम तापक्रम भएको अथवा न्युन चापीय अवस्थातिर उड्दै जान्छ र पानी बनेर खस्छ।

त्यही भएर धनगढीको तुलनामा त्यही नजिकै रहेको गोदावरी र जंगल नजिकका बस्तीमा बढी पानी परेको हुनसक्छ ।’ सहरमा पानी पर्नका लागि ठूलै ‘सिष्टम’ आउनु पर्ने उनी बताउँछन् ।