धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा डेङ्गु संक्रमितको संख्या ५०४ पुग्यो

सुदूरपश्चिममा डेङ्गु संक्रमितको संख्या ५०४ पुग्यो

धनगढी । सुदूरपश्चिममा डेङ्गु संक्रमितको संख्या पाँच सय चार पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ को माघ महिना यता चालु आर्थिक वर्ष २०८१÷०८२ को असोज दोस्रो सातासम्म सो संख्यामा संक्रमित पुगेको हो । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीले बर्सातको सिजनमा लामखुट्टेको वृत्ति विकास बढ्ने गरेकाले डेङ्गुको सङ्क्रमण बढ्ने गरेको बताए ।

अहिले डेङ्गु सङ्क्रमणको जोखिम बढी रहने बेला भएकोले गर्दा संक्रमितको संख्या बढेको उनले बताए । 

प्रदेशमा सबै भन्दा बढी कैलालीमा एक सय ८० जनालाई डेङ्गु सङ्क्रमण भएको छ भने सबै भन्दा कम बझाङमा १२ जनालाई सङ्क्रमण भएको छ ।

अछाममा ७५ जना, कञचनपुरमा ७० जना, डोटीमा ५८ जना, बैतडीमा ३७ जना, दार्चुलामा २५ जना, बाजुरामा २३ जना र डडेल्धुरामा २० जनामा डेङ्गु सङ्क्रमण भएको हो । 

कीटजन्य रोग अधिकृत जोशीले डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सक सहित स्वास्थ्यकर्मीको क्षमता विकास उपचारमा आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने एवम् प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शैय्याको व्यवस्थापन गरेको बताए । 

उनका अनुसार स्थानीय तहहरुले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका छन् । स्थानीय तहहरुलाई डेङ्गु सङ्क्रमण रोक्थामका लागि विभिन्न क्षमता विकास तालिमहरु पनि दिँदै आइरहेको उनको भनाई छ ।

स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मीनबहादुर धामीले सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरुमा लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेकोे बताए ।

डेंगुबाट बच्नका लागि पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामुखुट्टे नछिर्ने जाली लगाउने, घरवरिपरि पानी जन्म नदिने, गमला, प्लेट, फुलदानी, कुलर आदिको पानी हप्तामा एक पटक फेर्नुपर्ने उनको सुझाव छ ।

यसै गरी पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ । डेंगु सार्ने लामखुट्टेले विशेष गरी दिउँसो बढी सक्रियभै टोक्ने भएकाले सावधानी अपनाउनुपर्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेले घाम उदाएको दुई घण्टापछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडिको समय घाम लागेको बेला बढी टोक्ने गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

डेंगुको संक्रमण भएमा एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने र बान्ता हुने, दैनिक खानपान वा अन्य काम कुरामा रुचि नलाग्न र थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछ । 

निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेंगु सङ्क्रमण देखिनाका साथै चार जनाको मृत्यु भएको थियो ।