धनगढी पोष्ट
आइतबार, २० असोज २०८१ मा प्रकाशित
धनगढी । बैतडीको पुर्चौंडी नगरपालिका कुवाकोटीका कालु लुहार भारतको बैंग्लोरमा काम गर्दै आइरहेका छन् । उनी दशैँ मनाउन भनेर घर फर्किर्नेक्रममा गौरीफन्टा नाका पार गर्नुपर्छ ।
सिमानाका पार गर्नेक्रममा भारतीय सुरक्षाकर्मीलाई भारु दुई हजार बुझाउन बाध्य भए । उनी सँग भारतीय सुरुक्षाकर्मीले घण्टी ल्याएको भन्दै पैसा लियो । उनले मन्दिरमा चडाउनका लागि घण्टी ल्याएका थिए ।
‘भगवानका लागि ल्याएको यस्तो नगर भन्दा पनि जबरजस्ती भारु दुई हजार लियो । नत्र भित्र हाल्दिनछौँ भन्यो,’ उनले भने,‘ अनि के गर्ने दिएर आयौँ । नत्र दुई÷तीन घण्टा रोक्छु भन्दै सामान उत्ता राख्यो ।’ बिल देखाउदा पनि नक्कली बिल भन्दै छोडन नमानेको उनले दुखेसो गरे । स्वादेशमा रोजगारी नमिल्दा भारत रोजगार गएपनि बाटोमा लुटिनुपरेको उनको भनाइ छ ।
कैलालीको बर्दगोरिया गाउँपालिकाका शिवप्रसाद चौधरी भारतमा रोजगारीको शिलशिलामा केही वर्ष पहिला गएका थिए । उनी दशैँ मनाउन घर फकिर्नेक्रममा गौरीफन्टा नाका पार गर्नुअघि भारतीय भन्सार कर्मचारीलाई भारु पचास बुझाउनुप¥यो ।
सामान ल्याएको बहानामा भारतीय भन्सार कर्मचारीले चौधरीसँग जबर्जस्ती पैसा असुल गरेका हुन् ।
‘सामान छ भन्दै पचास रुपैयाँ लिहाल्यो । सानो बच्चाको कपडा थियो अरु त केही पनि थिएन्,’ उनले भने, ‘पहिला पनि घर फक्दा सिमानाकामा यस्तै थियो । अहिले पनि यस्तै छ ।’ दिल्लीमा काम गर्दै आएका उनी दशैँ मनाउन वर्षदिन पछि घर फर्कन लागेका हुन् ।
भरतको बम्बईबाट दशैँ मनाउनका लागि स्वदेश फर्किएका निर्मल थापा मगरले सिमानाकामा गत विगतका वर्षहरु जस्तै यस वर्षपनि भारतीय सुरक्षाकर्मीले दुःख दिएको बताए ।
भारतीय सुरक्षाकर्मी चेकजाँच गरेर अनावश्यक दुःख दिने गरेको उनले बताए । ‘घरपरिवारका लागि केही सामान ल्याऔँ भने पनि सिमानाकामा भारतीय सुरक्षाकर्मीले दुःख दिन्छन्,’ उनले भने ।
वारि नाकामै सशस्त्र प्रहरीको पोस्ट छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमामा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याएका छन् ।
‘पारि नेपालीसँग पैसा असुल्छन् भन्ने थाहा छ, तर हामीले चाहेर रोक्न सक्ने अवस्था छैन,’ नाकामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘अलि भनसुन गर्न सक्ने, टाढाबाठा पैसा नतिरेर पनि आउँछन्, सोझासाझालाई डर–त्रास देखाएर पैसा असुलिरहेका छन् ।’
सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले नाकामा घर फर्किरहेका नेपालीसँग पैसा असुल्ने गरेको बुझिएपछि यसबारे आफूले भारतीय अधिकारीसँग कुरा गरेको बताए । भारतीय भन्सार र वनका कर्मचारीले पैसा असुल्ने गरेको गुनासो आएको उनले बताए ।
‘पैसा असुल्ने गरेको सुनिएपछि त्यसलाई रोक्न आफैँ गएर भारतीय भन्सारका कर्मचारीसँग कुरा गरेको छु,’ सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भने, ‘हामीले केही दिन पहिले काउन्टरपार्ट मिटिङमा पनि यो कुरा गम्भीरताका साथ उठाएका छौँ ।’ बैठकपछि अहिले पैसा असुल्ने कार्य घटेको बुझिएको उनले बताए ।
उनका अनुसार रोजगारीका लागि गएकाहरू फर्कने क्रममा केही सामान लिएर आउने र सामान ल्याएको नाममा पैसा असुल्ने कार्य रोक्न भारतीय अधिकारीको ध्यानाकर्षण गराइएको बताएका छन् ।
नाकामा आवागमन सहज बनाउन सहायता कक्षसँगै गणबाट नाकामा छुट्टै टोलीसमेत परिचालन गरिएको पाण्डेयले बताए ।
‘सामान पार गराइदिनेलगायत विभिन्न किसिमले नेपालीबाटै पनि भारतबाट फर्कनेलाई ठग्ने कार्य नहोस् भनेर छुट्टै टोली परिचालन गरिएको छ,’ उनले भने, ‘चाडबाडका वेला भारतबाट फर्कनेको भिड हुन्छ, उनीहरूलाई कसरी सहज गर्ने भनेर प्रयास गरिरहेका छौँ ।’ दसैँ, तिहारजस्ता ठूला चाडबाडको समयमा भारतबाट फर्कनेको नाकामा घुइँचो लाग्ने गरेको छ ।