धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

कैलालीमा आठ महिनामा तीन सय ८० जनालाई  डेङ्गु संक्रमण

कैलालीमा आठ महिनामा तीन सय ८० जनालाई  डेङ्गु संक्रमण

धनगढी । कैलालीमा डेङ्गु संक्रमितको संख्या तीन सय ८० पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार २०८० पुस १६ देखि २०८१ कार्तिक ५ सम्म सो संख्यामा डेङ्गु संक्रमण भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मीन बहादुर धामीका अनुसार सबै भन्दा बढी धनगढी उपमहानगरपालिकामा दुई सय १८ जनालाई डेङ्गु संक्रमण भएको छ । धामीका अनुसार सबै भन्दा कम जोशीपुर र चुरे गाउँपालिकामा एक÷एक जनालाई  डेङ्गु संक्रमण भएको छ । 

घोडाघोडी नगरपालिकामा ९० जनामा डेङ्गु संक्रमण देखिएको छ भने टीकापुर नगरपालिकामा ७२ जनामा संक्रमण फेला परेको छ ।

गोदावारी नगरपालिकामा १५ जना, गौरीगंगा नगरपालिकामा पाँच जना, लम्कीचुहा नगरपालिकामा २२ जना र बर्दगोरिया  गाउँपालिकामा तीन जनामा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङकमा उल्लेख छ । 

यस्तै जानकी गाउँपालिकामा आठ जना, मोहन्याल गाउँपालिकामा तीन जना, कैलारी गाउँपालिकामा ६ जना, भजनी नगरपालिकामा दुई जना र अन्य जिल्लाका २४ जनामा डेङ्गु संक्रमण फेला परेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको हो । 

फोकल पर्सन धामीले प्रत्येक वर्ष लामखुट्टेको वृद्धि संगै लार्भा नै संक्रमित भएर जन्मिने भएकाले गर्दा संक्रमण दर बढेको बताए । जिल्ला बाहिर गएका मानिसहरु पनि चाडपर्वका बेला जिल्लामा फर्किए सँगै संक्रमितको संख्या बढेको उनले बताए ।

उनले संक्रमण दर कम गर्नेका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरुमा लार्भा  ‘खोज र नष्ट गर’ अभियान नै सञ्चालन भइरहेकोे बताए । 

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले मौसम परिर्वतन भइरहेकाले गर्दा पनि संक्रमितको संख्या बढेको बताए । वडा –वडामा सरसफाई गर्ने र लार्भा खोजेर नष्ट गर्ने कामहरु गरिरहेको उनले बताए । 

घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले स्वयमसेवीका र स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर वडा–वडामा सरसफाई अभियान नै सञ्चालन गरेको बताए । 

डेंगुबाट बच्नका लागि पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामुखुट्टे नछिर्ने जाली लगाउने, घरवरिपरि पानी जन्म नदिने, गमला, प्लेट, फुलदानी, कुलर आदिको पानी हप्तामा एक पटक फेर्नुपर्ने हुन्छ ।

यसैगरी पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ । डेंगु सार्ने लामखुट्टेले विशेष गरी दिउँसो बढी सक्रियभै टोक्ने भएकाले सावधानी अपनाउनुपर्ने छ । 

एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेले घाम उदाएको दुई घण्टापछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडिको समय घाम लागेको बेला बढी टोक्ने गरेको छ ।  

डेंगुको संक्रमण भएमा एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने र बान्ता हुने, दैनिक खानपान वा अन्य काम कुरामा रुचि नलाग्न र थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछ ।