धनगढी पोष्ट
आइतबार, ११ कार्तिक २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश र लम्बिनी प्रदेशको एक÷एक जिल्लामा लामखुट्टेमा हात्तीपाइलेको संक्रमण पत्ता लगाउन अनुसन्धानको काम अघि बढाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको काम भइरहेको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार सुदूरपश्चिमको कैलाली र लुम्बिनीको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे संकलनको कार्य पूरा भई प्रयोगशालमा परीक्षणको कार्य भइरहेको छ ।
कैलालीमा १० र बाँकेमा १० गरी २० जनाको प्राविधिक टोलीले ३०÷३० वडाबाट क्युलेक्स क्विनकिफेसिएटस नामक हात्तीपाइले सार्ने १८ हजार नौ सय ६९ लामखुट्टे संकलनको कार्य गरेको उनले बताए ।
उनका अनुसार कैलालीमा ‘लाइट ट्र्याप’को माध्यमबाट तीन हजार ९७ र ‘माउथ एस्पिरेटर’को माध्यमबाट छ हजार सात सय नौ लामखुट्टे संकलन भएका छन् ।
यसैगरी, बाँकेबाट लाइट ट्र्यापको माध्यमबाट एक हजार ६ सय ९९ र माउथ एस्पिरेटरको माध्यमबाट सात हजार चार सय ६४ लामखुट्टे संकलन भएका छन् । गत ४ भदौदेखि १० असोजसम्म प्राविधिक टोलीले लामखुट्टे संकलनको कार्य गरेका हुन् ।
’लामखुट्टे संकलनको कार्य पूरा भई प्रयोगशालामा पीसीआर प्रविधिबाट परीक्षण भइरहेको छ’, उनले भने, ’परीक्षणको नतिजाका आधारमा हात्तीपाइले निवारणका लागि आगामी योजना तयार गरिनेछ, लामखुट्टेको संक्रमण दर पनि पत्ता लाग्छ ।’
मानिसमा मात्र संक्रमण कम भएर रोग निवारणको लक्ष्य हासिल नहुने भएकाले रोग प्रभावित जिल्लामा रोग सार्ने लामखुट्टेमा संक्रमण शून्य दशमलव शून्य २५ प्रतिशतभन्दा कम हुनुपर्ने उनको भनाइ छ ।
हात्तीपाइले निवारणका लागि मानिसमा संक्रमण दर एन्टिजेनमा एक प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियामा दुई प्रतिशतभन्दा कम हुनुपर्छ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले कार्यक्रमका स्रोत व्यक्ति रामकुमार महतोका अनुसार लामखुट्टेमा संक्रमण दर पत्ता लगाउन मोलिक्युलर झेनोममोनिटरिङ सर्भे र मानिसमा संक्रमण दर पत्ता लगाउनका लागि आइडिए इम्प्याक्ट सर्भे गरिन्छ ।
त्यसअन्तर्गत आइभर्मेक्टिन डाइइथाइल कार्बामाइजिन साइट्रेट र अल्बेन्डाजोल नामक तीन औषधि खुवाइसकेपछि प्रभावका आधारमा अध्ययनको कार्य गरिन्छ ।
सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ । हात्तीपाइले रोगबाट नेपालको ६४ जिल्ला प्रभावित रहेका छन् ।
प्रभावित जिल्लामा बसोबास गर्ने सबै मानिसलाई वर्षमा एकचोटि आम औषधि अभियान सञ्चालन गरेर सबै मानिसलाई औषधि खुवाउने गरी सन् २००३ देखि कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
आम औषधि सेवन अभियान कार्यक्रम प्रभावित जिल्लामा कम्तीमा छ वर्षसम्म सञ्चालन गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको महतोको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनले नै सिफारिस गरेको औषाधि सेवन गरेर हात्तीपाइले रोग निवारणको लक्ष्य पूरा हुने बताइएको छ । आम औषधि सेवन अभियान सम्पन्न भइसकेका जिल्लामा संक्रमण दर घटेको छ कि छैन भन्ने कुराको जानकारी हासिल गर्न सर्भेक्षणको कार्य हुन्छ ।
सर्भेक्षणका क्रममा छदेखि सात वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाइले रोगको एन्टिजेन दुई प्रतिशतभन्दा कम हुनुपर्ने र २० वर्षमाथिका मानिसमा हात्तीपाइले रोगको माइक्रो फाइलेरियाको संक्रमण एक प्रतिशतभन्दा कम हुनुपर्छ ।
एन्टिजेन जाँचमा दुई प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियाको संक्रमण एक प्रतिशतभन्दा कम भएमा मात्र हात्तीपाइले रोग निवारणको लक्ष्य हासिल भएको मानिन्छ ।
लामखुट्टेमा हात्तीपाइलेको संक्रमण दर पत्ता लगाउन कैलाली र बाँकेमा देशमै पहिलोपटक अध्ययन–अनुसन्धानको कार्य भइरहेको छ ।