धनगढी पोष्ट बिहिबार, २९ कार्तिक २०८१   November 14, 2024

आसरा सुधार केन्द्रबाट ३३ जना घर फर्किए, २२ जना उपचाररत

आसरा सुधार केन्द्रबाट ३३ जना घर फर्किए, २२ जना उपचाररत

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ ‘डी’ गाउँमा सञ्चालित आसरा सुधार केन्द्रबाट ३३ जना घर फर्किए (डिस्चार्ज) भएका छन् ।

गत आर्थिक वर्षको २०८० पुसदेखि सञ्चालित सुधार केन्द्रमा चालु आर्थिक वर्ष २०८१ को कार्तिक चौथो हप्तासम्म २२ जना उपचाररत (बिरामी) रहेका छन् । सुधार केन्द्रमा ५५ जना उपचाररत रहेका थिए । 

आसरा सुधार केन्द्रका इन्चार्ज एवम् प्रहरी निरीक्षक बिरबहादुर पार्कीका अनुसार लागुऔषध सेवन १९ जना घर फर्किए (डिस्चार्ज) भएकोमा आठ जना उपचाररत (बिरामी) रहेका छन् ।

मादकपदार्थ सेवन सात जना डिस्चार्ज भएकोमा आठ जना उपचाररत रहेको उनले बताए । उनले लागुऔषध र मादकपदार्थ सेवन सात जना डिस्चार्ज भएकोमा ६ जना उपचाररत रहेको बताए । 

कैलालीका २८ जना उपचाररत मध्य १४ जना डिस्चार्ज भएका छन् भने कञ्चनपुरका १७ जना मध्य १५ जना डिस्चार्ज भएका छन् । अछाम, बाँके, रुकुम र दार्चुलाका एक÷एक जना मध्य सबै डिस्चार्ज भएका हुन् । 

यस्तै बझाङका एक जना, डडेल्धुराका एक जना र डोटीका दुई जना उपचाररत रहेको आसरा सुधार केन्द्रले जनाएको छ । 

कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा उक्त आसरा सुधार केन्द्र सञ्चालन भएको थियो ।

धनगढी उपमहानगरपालिकाले सुधार केन्द्रलाई भवन, फर्निचर, जेनरेटर तथा कार्पेटसहितका सामाग्री नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम लाई उपलब्ध गराई सञ्चालनको जिम्मेवारी दिइएको छ ।  

उपमहानगरपालिकाले भवनसहितको जग्गा २० वर्षका लागि सुधार केन्द्रलाई उपलब्ध गराएको हो ।

सुधार केन्द्र सञ्चालनका लागि कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूले आर्थिक सहयोग गर्ने सम्झौता समेत गरेका छन् ।

धनगढीले १० लाख, नगरपालिकाहरूले पाँच÷पाँच लाख तथा गाउँपालिकाहरूले तीन÷तीन लाखका दरले आसरा सुधार केन्द्र सञ्चालनका लागि प्रहरी श्रीमती संघलाई सहयोग गर्ने सम्झौता छ । 

आसरा सुधार केन्द्रका इन्चार्ज पार्कीले अनुसार केही स्थानीय तहले गत आर्थिक वर्षमा सहयोग गरेको भएपनि केहीले चालु आर्थिक वर्षमा सहयोग गर्ने बताए । सुधार केन्द्र भर्ना भएकाहरुलाई सुरुवाती चार महिना सुधार गर्ने समय (रिकभरी पिरेट) भनेर राख्ने गरेको उनले बताए । 

इन्चार्ज पार्कीले भने,’ ‘हामीले १८ वर्ष मुनिका युवाहरुलाई राख्दैनौ । त्यो भन्दा माथिका युवाहरुलाई मात्रै राख्ने गरेका छौँ । युवतीहरु लाई राख्ने गरेका छैनौँ ।’ सुदूरपश्चिमको मात्रै नभई देशभरी जुसुकै जिल्लाका युवाहरुलाई भर्ना गर्ने गरेको उनको भनाइ रहेको छ । 

युवाहरुको शारीरिक चेकजाँच गर्ने र सरुवा रोग नभएकाहरुलाई मात्रै भर्ना गर्ने गरेको उनले बताए । उनीहरुको खाना, आवास र अध्ययन गरेर मासिक १६ हजार पाँच सय रुपैयाँ लिने गरेको उनले बताए । 

नेपाल प्रहरी श्रीमती संघले तेस्रो शाखाका रूपमा धनगढीको फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालन गरेको जनाएको छ । केन्द्रमा दुब्र्ययसनीमा परेकाहरूलाई राखिने छ ।

दुब्र्ययसनीमा परेकाहरूलाई सुधार गर्ने लक्ष्य आसरा सुधार केन्द्रको छ । फूलबारीमा सञ्चालनमा आएको आसरा सुधार केन्द्रमा दुई सय दुब्र्यसनीसम्म राख्न सकिने क्षमता छ ।