धनगढी पोष्ट
आइतबार, ०९ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर १ का किसान छेडालाल चौधरीले साढे तीन विगा जमिनमा गहुँ खेती गर्दै आएका छन् । उनलाई आठ बोरा मल आवश्यक पर्छ । तर उनी सँग भने अहिलेसम्म एक बोरा मल छैन् ।
उनी जोकैया कृषि सहकारीका अध्यक्ष समेत हुन् । उनले किसानहरुलाई ९० बोरा मल वितरण गरे । अहिले उनीसँग आफनो गहुँ छर्नलाई मल समेत छैन । उनले भने,’ ‘मलको पखाईमा छु । आउँछ–आउँछ भन्छन् । तर कहिलेसम्म आउँछ खै ? यता जोतेको खेत सुकिसक्यो ।’
घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको समावेशी कृषि सहकारी संस्थाका सचिव थमन बोहराले शुरुवातको एक पटक ६० बोरा यूरिया र ८० बोरा डीएपी पाए पनि अझै किसानहरुलाई मल अभाव भएको बताए । उनले अब आफूहरुलाई थप ५० बोरा यूरिया र ६० बोरा डीएपी आवश्यक परेको बताए ।
‘गोदाममा मल टनाटन छ । किसानको समस्यालाई मध्यनजर गरेर यहाँ सम्म पुग्यौँ,’ उनले भने, ‘तर यहाँ आउँदा गाह्रो छ, सोर्स–फोर्स लगाउनुपर्छ । हामी सिधा सादा मान्छे प¥यौँ ।’ किसानहरुले गहुँ छर्नका लागि खेतबाली जोतेको भए पनि मल नपाउँदा हैरान भएको उनले बताए ।
कैलालीका किसान यतिबेला गहुँ बाली छर्नमा व्यस्त छन् । तर छर्ने बेलामा चाहिने डीएपी मलको किसानले चरम अभाव खेपी रहेपनि कृषि सामग्री कम्पनी लिमिटेडसँग भन्ने मल मौज्दात रहेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीका अनुसार एक सय १९ मेट्रिक टन डीएपी मल मौज्दात छ । सबै किसानहरुले चाहे जति मल नभए पनि फाट्टफुट्ट पाइरहेको उनले बताए ।
नेपालमा भित्रिने जम्मा मलको ९.७ प्रतिशत मल सुदूरपश्चिमको कोटा रहेको छ । जसमध्य कैलालीमा वार्षिक यूरिया नौ हजार सात सय मेट्रिक टन मल, डीएपी सात हजार मेट्रिक टन र पोट्रास ६ सय ५० मेट्रिक टन मलको कोटा आवश्यकता पर्छ ।
तर कृषि सामग्री कम्पनी लिमिटेडले साउनदेखि मंसिर पहिलो सातासम्म तीन हजार चार हजार पाँच सय ८१ मेट्रिक टन मल बिक्री गरेकोमा एक हजार ७३ मेट्रिक टन मल मौज्दात रहेको छ ।
कम्पनीले तीन हजार दुई सय ३४ मेट्रिक टन डीएपी मल बिक्री गरेको हो । गहँुको समयमा कैलालीलाई यूरिया सात हजार मेट्रिक टन मल र डीएपी ६ हजार मेट्रिक टन मलसम्म आवश्यक पर्छ ।
प्रमुख बोगटीले सहकारीहरुले कोटा अनुसार मल पाइसकेको बताए । सहकारीहरुको संख्याका आधारमा पाँच प्रतिशतदेखि १० प्रतिशतसम्म मल दिने गरेको उनले बताए । ‘कोटा अनुसार हामीले मल दिने हो । त्यो भन्दा बढी दिन सक्दैनौँ,’ उनले भने ।
उनका अनुसार सबै भन्दा बढी मल पाउने पालिकालहरु घोडाघोडी, गौरीगंगा, भजनी, टीकापुर, लम्कीचुहा र कैलारीले पाँचदेखि १० प्रतिशतसम्म मल पाउने गरेपनि बाँकी रहेका पालिकाहरुले भने पाँच प्रतिशतसम्म मल पाउने गरेका छन् ।
उनले अहिलेसम्म ८० प्रतिशत किसानले मल पाइसकेको दाबी गरे । यूरिया एक हजार तीन सय मेट्रिक टन आउन बाँकी रहेको उनले बताए । उनले भने,’ ‘डीएपी आउँछ २४÷२५ गतेसम्म, कति आउँछ त्यो निश्चित छैन् ।’
मौज्दात डीएपी मल अहिलेसम्म नपाएका सहकारीहरुलाई वितरण गर्ने उनले बताए । केही मल आफूहरुले पनि अर्को मल नआउँदासम्म मौज्दात राख्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘दुई÷चार वटा सहकारीले मल लगेका छैन् । धेरै सहकारीले लगिसके मल ।’ कैलालीमा चार सय १२ वटा सहकारीले मल बिक्री गर्दै आइरहेका छन् ।