धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

तीन महिनामा साढे १६ सय बीमालेख

तीन महिनामा साढे १६ सय बीमालेख

धनगढी । सुदूरपश्चिममा चालु आर्थिक वर्ष २०८१÷०८२ को तीन महिनामा एक हजार छ सय ५४ कृषि तथा पशुपन्छी बीमालेख भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनादेखि असोज मसान्तसम्म प्रदेशका नौ जिल्लामा सो संख्यामा कृषि बीमालेख भएको हो । 

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हृदयश्वर पण्डितले कृषि बीमाको तथ्याङकमा त्यत्ती उसाह जनक सुधार नदेखिएको बताए ।

गत वर्ष संघीय सरकारबाट प्राप्त अनुदान समयमै अनुदान भुक्तानी नपाउँदा बीमा कम्पनीहरुले कृषि बीमा अवरुद्ध गर्दा बीमा संख्यामा कमी आएको बताए । 

कृषि तथा पशुपन्छी बीमा गर्दा संघीय सरकारले बीमा शुल्कको ८० प्रतिशत शुल्क (प्रिमियम) सरकारले तिर्दै आइरहेको छ भने २० प्रतिशत शुल्क किसानले नै तिर्नुपर्छ । कृषि बीमा अन्तर्गत पशुपन्छी बीमा, जडिबुटी बीमा र बाली बीमा राज्यको प्राथमिकतामा परेको छ । 

चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोज मसान्तसम्ममा प्रदेशमा एक हजार ६ सय ५४ बीमालेख गरिएकोमा एक करोड ७२ लाख ९६ हजार सात सय ६७ रुपैयाँ बीमा शुल्क रकम रहेको छ भने ३७ करोड ४५ लाख ९४ हजार जम्मा बीमाङ्कक रकम रहेको छ । 

कैलालीका सबै भन्दा बढी बीमालेख रहेको छ भने सबै भन्दा कम दार्चुलामा रहेको छ । कैलालीमा पाँच सय ९६ बीमालेख रहेकोमा एक करोड ११ लाख २२ हजार सात सय ६९ रुपैयाँ बीमा शुल्क रकम रहेको छ भने दुई करोड ५१ लाख ७७ हजार जम्मा बीमाङ्कक रकम रहेको हो । 

दार्चुलामा १० बीमालेख रहेकोमा १७ लाख चार हजार नौ सय ५० रुपैयाँ बीमा शुल्क रकम छ भने ३७ लाख १७ हजार जम्मा बीमाङ्कक रकम रहेको छ । 
कञ्चनपुरमा एक सय ९६ जना बीमालेख रहेकोमा १८ लाख ९९ हजार ९३ रुपैयाँ बीमा शुल्क रकम रहेको थियो भने चार करोड आड हजार चार सय ७५ रुपैयाँ बीमाङ्कक रकम रहेको हो ।

यसैगरी डडेल्धुरामा दुई सय ८० बीमालेख रहेकोमा १५ लाख ३४ हजार दुई सय ३० रुपैयाँ बीमा शुल्क रकम रहेको छ भने तीन करोड आठ लाख ७१ हजार बीमाङ्कक रकम रहेको छ । 

अछाममा एक सय ४८ बीमालेख रहेकोमा नौ लाख ९१ हजार ६ सय २५ रुपैयाँ बीमा शुल्क रकम रहेको छ भने एक करोड ९२ लाख ७२ हजार पाँच सय बीमाङ्कक रकम रहेको हो ।

डोटीमा एक सय ७८ जना बीमालेख रहेकोमा चार लाख दुई हजार नौ सय बीमा शुल्क रकम रहेको थियो भने ७३ लाख ८२ हजार बीमाङ्कक रकम रहेको छ । 

यस्तै बैतडीमा एक सय ४४ बीमालेख रहेकोमा चार लाख ८२ हजार सात सय रुपैयाँ बीमा रकम रहेको छ भने ९१ लाख ५० हजार बीमाङ्कक रकम रहेको हो । 

बझाङमा ६८ बीमालेख रहेकोमा तीन लाख २६ हजार सात सय ५० रुपैयाँ बीमा रकम रहेका छ भने ६२ लाख ६३ हजार बीमाङ्कक रकम रहेको छ । 

बाजुरामा ४४ बीमालेख रहेकोमा पाँच लाख ३६ हजार ६ सय ९९ रुपैयाँ बीमा रकम रहेको थियो भने दश करोड पाँच लाख ६९ हजार नौ सय ६५ रुपैयाँ बीमाङ्कक रकम रहेको हो । 

गत आर्थिक वर्ष २०८०÷०८१ मा पाँच हजार दुई सय २२ बीमालेख रहेकोमा छ करोड ३८ लाख २८ हजार आठ सय २३ रुपैयाँ बीमा रकम रहेको थियो भने एक अर्ब ४२ करोड ६५ लाख ७२ हजार पाँच सय ७२ रुपैयाँ बीमाङ्कक रकम रहेको थियो । 

प्रदेश कार्यालयका प्रमुख पण्डितले लक्षित समुदायमा बीमा सम्बन्धी जनचेतना नहुँदा र बीमा गर्दा प्रक्रियामा झनझट हुँदा किसानहरु बीमातर्फ आकर्षण बढ्न नसेकेको बताए । 

बीमातर्फ किसानको आकर्षण बढाउनका लागि पालिका स्थरमा जनप्रतिनीधिहरुलाई बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु पनि गर्दै आइरहेको उनले बताए । 

उनले प्रदेशका ४६ वटा पालिकाका जनप्रतिनीधिहरुलाई बीमा सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु गरिनुका साथै एफएम रेडियोमार्फत प्रचार–प्रसार समेत गरिरहेको बताए । 

उनका अनुसार विद्यालयमा युवा लक्षित विभिन्न कार्यक्रमहरु समेत गरिदै आइएको छ । बीमाका नियम अनुसार बीमा गरिएको छ की छैन भनेर स्थलगत अनुगमन समेत जाने गरेको उनले बताए । 

बीमा प्राधिकरणका अनुसार सुदूरपश्चिमका बढी भन्दा बढी किसानलाई बीमाको पहुँचमा ल्याउन तीन बीमा कम्पनीलाई जिम्मेवारी दिएको छ । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा नेपाल इन्सोरेन्स कम्पनीले बीमा गराउँदै आएको छ ।

कैलाली, डोटी र बझाङमा राष्ट्रिय बीमा कम्पनी, अछाम र बाजुरामा युनाइटेड अजोक इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा गराउँदै आएको छ ।

वि.सं.२०६९ देखि कृषि तथा पशुपन्छी बीमाको सुरुवात गरिएकोमा वि.सं.२०७० देखि सरकारले अनुदान दिन थालेको प्राधिकरणले जनाएको छ ।