धनगढी पोष्ट
बिहिबार, ११ पुष २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा यस वर्षको आठ महिनामा ७७ हजार ५६ परिवारले बीमा गरेका छन् । बैशाखदेखि मंसिर महिनासम्म नयाँ र नविकरण गरेका परिवारको सो संख्या रहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले जनाएको छ ।
सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लाग्ने खर्च व्यहोर्ने भएपछि बीमा गराउन थालेका हुन् ।
स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनकबहादुर साउदका अनुसार यस बर्षको पहिलो चक्र ( बैशाखदेखि साउनसम्म) मा ४३ हजार चार सय ७५ जना बिमित परिवार रहेकोमा दोस्रो चक्र ( भदौदेखि मंसिरसम्म) ३३ हजार पाँच सय ९० जना बिमित परिवार संख्या रहेको छ ।
साउदले तेस्रो र चौथो चक्रमा बिमित परिवारको संख्या बढ्ने दाबी गरे ।
साउदका अनुसार २०८० सालमा बिमित परिवार संख्या एक लाख २८ हजार ९७ जना रहेका छन् भने २०७९ सालको तुलनामा दुई हजार पाँच सय १८ जना नयाँ परिवार संख्या थपिएका छन् ।
२०७९ सालमा एक लाख ३० हजार ६ सय १५ बिमित परिवार संख्या रहेकोमा गत आर्थिक वर्ष २०७८ सालको तुलनामा नौ हजार नौ सय ५६ जना नयाँ परिवार संख्या थपिएका हुन् ।
यसैगरी २०७८ सालमा एक लाख २० हजार ६ सय ५९ बिमित परिवार संख्या रहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्याङकमा उल्लेख रहेको छ ।
प्रदेश संयोजक साउदका विगतका वर्षहरु भन्दा अहिले बिमित्तको संख्या बढ्दै जान थालेको छ । ‘अहिले स्थानीय सरकारले पनि स्वास्थ्य बिमा प्रति चासो राखेको र स्वास्थ्य बिमा कार्यक्रममा पनि सहयोग गर्दै आइरहनु भएको छ,’ प्रदेश संयोजक साउदले भने, ‘बिमितहरुले पनि अहिले सेवा सुविधाका कारणले गर्दा खेरी यसमा आर्कषण बढेको देखिन्छ ।’
सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सुदूरपश्चिमको कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।
सरकारले २०७३ सालदेखि सुदूरपश्चिमका बाँकी आठ जिल्लामा प्रत्येक वर्ष स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गर्दै आइरहेको थियो । भने अहिले सुदूरपश्चिमका नौ वटै जिल्लामा सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।
२०७२ सालदेखि २०८१ साल मंसिर मसान्तसम्म सुदूरपश्चिममा स्वास्थ्य बिमा गराउनेको संख्या ६ लाख एक हजार पाँच सय ४१ बिमित संख्या रहेको छ ।
बिमित संख्या मध्य एक लाख ९५ हजार ६ सय १४ विमित परिवार संख्या रहेकोमा एक लाख ३० हजार आठ सय ७९ जना संक्रिय बिमित संख्या रहेको छ ।
यसैगरी ६४ हजार सात सय ३५ निस्क्रिय बिमित संख्या रहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ । निःशुल्क बिमित परिवार संख्या एक लाख ३८ हजार ३२ परिवार रहेकोमा ५६ हजार ६ सय ८५ परिवार शुल्क तिर्न परिवार रहेका छन् ।
सरकारले अति गरिब, कुष्ठरोगी, ज्येष्ठ नागरिक, जटिल खालका क्षयरोग बीरामी, एचआइभी–एड्स संक्रमित, महिला स्वास्थ्य स्वयंसेविका र अति अशक्त अपांङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको छ ।
स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ भने पाँच जना भन्दा बढी सदस्य भए एक सदस्य बराबर थप सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ ।
बिमित परिवारका सदस्य बिरामी हुँदा एक लाख रुपैयाँ बराबरको निःशुल्क औषधी उपचार पाउँछन् । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको हो ।
प्रदेश संयोजक साउदले स्वास्थ्य बिमा बोर्डले बिमित परिवारहरुलाई औषधीको प्याकेज बनाएको र प्याकेज भित्र नपरेका औषधीहरु बिमितले बाहिर किन्नुपर्ने उनले बताए ।
भौगोलिक विकटताका कारण लक्ष्य अनुसार बिमितको संख्या पुग्न नसकिरहेको उनले बताए । प्रदेशका प्रत्येक वडामा दर्ता सहयोगी छनोट गरेर बिमा सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु गर्दै आइरहेको उनको भनाइ छ ।
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराएका व्यक्तिहरुले प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघीय अस्पताल गरेर ३४ वटा अस्पतालबाट उपचार सेवा प्राप्त गर्दै आइरहेका छन् ।