धनगढी पोष्ट
सोमबार, १४ माघ २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा चालु आर्थिक वर्ष २०८१/०८२ को छ महिनामा कुष्ठरोगका ७० जना बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म फेला परेका बिरामी मध्य सबै भन्दा बढी कैलाली र सबै भन्दा कम डोटी र अछाममा फेला परेका हुन् ।
स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मोहन प्रसाद ओझाका अनुसार कैलालीमा ४८ जना बिरामी फेला परेकोमा डोटी र अछाममा एक÷एक जना बिरामी फेला परेका छन् ।
उनले कञ्चनपुरमा १८ जना र दार्चुलामा दुई जना बिरामी फेला परेको बताए । बाजुरा, बझाङ, बैतडी र डडेल्धुरामा बिरामीको संख्या शून्य रहेको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा दुई सय २९ जना कुष्ठरोगका बिरामी फेला परेका थिए । जसमध्य सबै भन्दा बढी कैलालीमा एक सय ५८ जना बिरामी फेला परेकोमा सबै भन्दा कम दार्चुलामा एक जना बिरामी फेला परेका थिए ।
उक्त अवधिमा कञ्चनपुरमा २९ जना, अछाममा २० जना, बैतडीमा १० जना र डडेल्धुरामा पाँच जना बिरामी फेला परेका हुन् भने बझाङ र डोटीमा तीन÷तीन जना र बाजुरामा शून्य संख्यामा फेला परेको थियो ।
यसैगरी आर्थिक वर्ष २०७९/०८० मा दुई सय ३० जना बिरामी फेला परेका छन् । जसमध्य सबै भन्दा बढी कैलालीमा एक सय ४९ जना बिरामी फेला परेकोमा सबै भन्दा कम बाजुरा र डडेल्धुरामा एक÷एक जना बिरामी फेला परेका थिए ।
उक्त अवधिमा कञ्चनपुरमा ४३ जना, अछाममा २२ जना, बैतडीमा चार जना र बझाङमा पाँच जना बिरामी फेला परेका छन् । भने डोटीमा तीन जना दार्चुलामा दुई जना बिरामी फेला परेका थिए ।
यस्तै आर्थिक वर्ष २०७८/०७९ मा दुई सय पाँच जना कुष्ठरोगका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयको तथ्याङकमा उल्लेख छ । जसमध्य सबै भन्दा बढी कैलालीमा एक सय ३१ जना बिरामी फेला परेकोमा सबै भन्दा डडेल्धुरामा एक जना बिरामी फेला परेका थिए ।
उक्त अवधिमा कञ्चनपुरमा ३२ जना, अछाममा २५ जना, बैतडीमा दुई जना र बझाङमा तीन जना बिरामी फेला परेका छन् भने डोटीमा पाँच जना दार्चुलामा दुई जना र बाजुरामा चार जना बिरामी फेला परेको थियो ।
प्रतिएक लाख जनसंख्यामा नयाँ बिरामी पत्ता लाग्ने दर मध्य कैलालीमा १७.३७ प्रतिशत, कञ्चनपुरमा ५.६१ प्रतिशत, अछाममा ९.२० प्रतिशत र बैतडीमा ४.२३ प्रतिशत रहेका छन् ।
डडेल्धुरा ३.६५ प्रतिशत, बझाङमा १.६५ प्रतिशत, डोटीमा १.५१ प्रतिशत, दार्चुलामा ०.७६ प्रतिशत र बाजुरामा शून्य प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्षयकुष्ठ अधिकृत ओझाका अनुसार सामाजिक अपहेलनाका कारण कतिपयले अहिले पनि कुष्ठरोग लुकाएर बस्ने गरेका छन् । खासगरी पहाडी जिल्लामा रोग जटिल बन्न थालेपछि मात्रै उपचारका लागि आउँदा स्वास्थ्यमा विभिन्न जटिलता आउने र संक्रमण पनि फैलने गरेको उनले बताए । कुष्ठरोग निवारणका लागि खोजपड्ताल अभियानलगायत कार्य गरिरहेको उनको भनाइ छ ।
उनले कुष्ठरोग सम्बन्धी जनचेतना मुलक तथा क्षमता अभिवृद्धि कार्यहरु गरिरहेको बताए । कुष्ठरोगीहरुलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको बताउँदै ओझाले कुष्ठरोग उपचार गरेमा निको हुन्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक रहेको बताए ।
शरीरमा छुँदा थाहा नपाउनु, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता कुष्ठरोगका लक्षण हुन् ।
यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् ।
कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी रहेको बताइएको छ ।