धनगढी पोष्ट
बिहिबार, २८ चैत २०८१ मा प्रकाशित
धनगढी । कैलालीमा चैते धान खेतीको उत्पादन क्षेत्र बर्सेनी बढ्दै गएको छ । विगत चार आर्थिक वर्षदेखि कैलालीमा चैते धान खेतीको क्षेत्र लगातार बढिरहेको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल बढी क्षेत्रमा चैते धान खेती भएको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका बाली संरक्षण अधिकृत रामनारायण चौधरीका अनुसार चालु आथिक वर्ष २०८१÷०८२ मा एक हजार तीन सय ५० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।
गत वर्ष २०८०÷०८१ मा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को भन्दा एक सय हेक्टर बढी हो ।
२०८०÷०८१ मा छ हजार एक सय ४४ मेट्रिक टन धान उत्पादन भएको थियो । मौसमका कारणले गर्दा धान खेतीमा कुनै असर नगरे यस वर्ष धान उत्पादन बढ्न सक्ने उनको भनाइ छ ।
चौधरीका अनुसार २०७९÷०८० मा एक हजार एक सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को तुलनमा २० हेक्टर बढी हो । २०७९÷०८० मा पाँच हजार सात सय २० मेट्रिक टन धान उत्पादन भएको थियो ।
त्यस्तै २०७८÷०७९ मा एक हजार ८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा पाँच हजार छ सय १६ मेट्रिय टन धान उत्पादन भएको थियो ।
उनले बर्खे धानको तुलनामा १० देखि १५ प्रतिशत चैते धानको उत्पादन राम्रो रहेकाले गर्दा किसानहरुको चैते धान तर्फ आकर्षण बढेको बताए ।
भजनी नगरपालिकाका केही वडाहरुमा बर्खे धानलाई बाढीले नोक्सान गर्ने गरेका कारण डुबान प्रभावित क्षेत्रका किसानहरुका लागि चैते धान वैकल्पिक खेती बनेको छ ।
उनका अनुसार भजनीको ३, ५, ७ र ८ नम्बर वडा चैते धान खेतीको राम्रो पकेट क्षेत्र रहेको छ । ‘भजनीका यी वडा विपद प्रभावित वडा भएकाले यहाँका किसानका लागि बर्खे वा चैते जे भने पनि चैते धान मात्रै हो,’ चौधरीले भने ।
उनले चैते धान खेतीको अहिले अन्य पालिकाहरुमा पनि राम्रै विस्तार भइरहेको बताए । चैते धान तर्फ किसानको आकर्षण बढेकाले गर्दा जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, जानकी गाउँपािलका र गौरीगंगा नगरपालिकामा केही क्षेत्रमा चैते धान गर्ने गरेको उनको भनाइ छ ।
विगतका वर्षहरुमा यी पालिकाहरुमा चैते धानको सुरुवात नै नभएकोमा अहिले किसानहरुले राम्रै खेती गर्दै आइरहेको उनले बताए । उनले बर्खे धानको तुलनामा चैते धानमा रोगकिराको प्रकोप कम हुने भएकाले गर्दा पनि उत्पादन बढ्ने बताए । चालु आर्थिक वर्षमा चैते धान खेतीमा अनुदानका लागि आठ लाख रुपैयाँ बजेट रहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
उनका अनुसार चैते धान खेतीतर्फ किसानको आकर्षण बढाउनका लागि ज्ञान केन्द्रले सम्झौता गरेर अनुदान दिने गरेको छ । छनोटमा परेका कृषकलाई बिउबिजन वा आवश्यकता अनुसार कृषि उपकरण खरिदका लागि प्रतिकट्ठा दुई हजारको दरले अनुदान दिइने गरेको उनको भनाइ छ । अनुदान पाए वार्फतको रकम कृषकले पनि लगानी गर्नु पर्ने हुन्छ ।