धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

धनगढीको शनिवारे मेला सम्पन्न

धनगढीको शनिवारे मेला सम्पन्न

धनगढी । धनगढी उपमहानगरपालिकाको शनिवारे मेला सम्पन्न भएको छ । उपमहानगरपालिकाले २०८१ मंसिर १ गतेदेखि प्रत्येक शनिबार महिला उद्यमी मेलाको आयोजना गर्दै आइरहेकोमा चैत १६ गतेदेखि मेला सम्पन्न गरेको हो । 

उपमहानगरपालिकाका रोजगार तथा उद्यमशीलता शाखा प्रमुख चन्द्रबहादुर महराले मौसम परिर्वतन सँगै गर्मी र हावाहुरीका कारणले गर्दा मेला सम्पन्न भएको बताए । उनका अनुसार खाजा नास्ताका परिकारहरु गर्मीका कारणले गर्दा खराब हुने भएकाले गर्दा मेला सम्पन्न भएको छ । 

उनले खुल्ला स्थानमा मेला भएकाले खानी कुराहरुको संरक्षणदेखि भण्डारमा चुनौती भएकाले गर्दा पनि चालु आर्थिक वर्षलाई मेला सम्पन्न गरिएको बताए । 

मंसिर १ गतेदेखि चैत १६ गतेसम्म २० औँ पटक सम्म लागेको मेलामा साढे ३२ लाख रुपैयाँ जतिको कारोबार भएको उपमहानगरपालिकाले जनाएको छ ।

मेलामा ७४ वटा स्टल राखिएको थियो, भने मेलामा स्टल राख्नका लागि एक सय बढी स्थानीयहरुलाई स्टल परिचय पत्र उपलब्ध गराइएको थियो । उक्त मेला सञ्चालन गर्दा सात लाख जति खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । 

उक्त स्टलबाट महिलाहरूले खाद्य परिकार र हस्तकलाका सामग्री बिक्री वितरण गरेका थिए । उपमहनगरपालिकाले सञ्चालन गरेको शनिवारे मेलामा घरमै सीमित उद्यमी महिलाहरूले मात्रै स्टल राखेर व्यापार व्यवसाय गर्दै आएका थिए । 

रोजगार तथा उद्यमशीलता शाखा प्रमुख महराले समय अनुकुल हुने बितिकै फेरी मेलाको सुरुवात गर्ने बताए । वर्खो सकिदा साथ मेला लगाउन सुरुवात गर्ने उनको भनाइ छ । अब मेला लगाउनलाई कतै ठाउँ उपलब्ध भएमा उपलब्ध भएकै ठाउँमा मेला लगाउने नपाए अहिले लगाएकै स्थानमा मेला लगाउन सुरुवात गर्ने उनले बताए ।  

मेलाले गर्दा बेरोजगार र विपन्न महिलाहरुलाई स्वरोजगारमा जोडनुका साथै स्थानीय उत्पादनलाई बजारीकरणलगायत सीपहरु प्रर्दशन गर्न पाएको उनले बताए ।

उनले महिलाहरु लाई दैनिक व्यापार व्यवसायमा जोडिनुका साथै हौसला समेत बढेको बताए । घरैमै सीमित महिलाहरुलाई आत्मानिर्भर तर्फ उन्मूख बनाउनकै लाई भएपनि मेलाको आयोजना गरिएको उनको भनाइ छ ।

मेलाले गर्दा घरेलु उत्पादनहरुको प्रचारप्रसार सँगै संरक्षण समेत भएको उनले बताए । मेलाले गर्दा राष्ट्रिय अन्तराष्ट्रिय स्थरमा समेत स्थानीय उत्पादनलाई व्यापार व्यवसायमा जोड मदत समेत पुगेको उनले बताए ।

उनका अनुसार मेलामा खाजा नास्तका स्टल राखेर बसेका महिलाहरु मध्य १५÷१६ जना महिलाहरु अहिले आफै व्यापार व्यावसाय गरिरहेका छन् ।
केही मेलाहरुले समूहिक रुपमा व्यापार व्यावसाय गर्नका लागि फर्म दर्ता प्रक्रियामा समेत रहेको उनको भनाइ छ ।

उनका अनुसार २४ जना उद्यमी महिलाहरुले हस्तकलाका सर–सामानहरु उत्पादन गरेर बिक्रि वितरण गर्नुका साथै केही महिलाहरुलाई आंकशिक रोजगारी सिर्जना समेत गरिरहेका छन् ।