दश बर्ष अघि जग्गा धनी प्रमाणपुर्जा पाए पनि जग्गा पाउन नसकेको भन्दै सुरक्षित स्थानमा पुनस्थार्पनाको माग कन्चनपुरका २१ मुक्त हलिया परिवारले गरेका छन । २०७२ सालमा जग्गा धनी प्रमाणपुर्जा पाएका मुक्त हलिया परिवारले सुरक्षित स्थानमा पुनः स्थापनाका साथै जिविकोपार्जनको व्यवस्थाको माग गर्दै सोमवार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
बेलडाडी गाउँपालिका वडा नम्बर २ का गणेशराम चुनाराले भने, ‘हामीसँग पूुर्जा छ, जमिन छैन । त्यही पूर्जा पाएका चार पाँच जना मान्छे मरि सक्या छन् । अझै कोही मर्ने अवस्थामा छन् । लालपूर्जा सिरानीमा छ । लालपूर्जाको सदुप्रयोग गर्न पनि पाया छैन । जमिन छैन ।’
बेलौरी नगरपालिका वडा नम्बर १० भुराका धने दमाईले आफुहरुलाई दिएको लालपुर्जाले जमिन नपाएपछि पुर्जा नै खारेज गरिदिन माग गरे । उनले सरकारले पूर्जा नै खारेज गरिदिए आफुहरु सुकुम्बासी नै भएर बस्ने बताए । अहिले आफुहरु न सुकुम्बासी न मुक्त हलिया भएको उनले दुखेसो गरे ।
उनले आफुहरु सँग रोजगारी नहुँदा रोजगारीका लागि घर परिवार सहित भारत जानुपर्ने बाध्यता रहेको बताए । राज्यबाट अहिलेसम्म मुक्त हलियाको कुनै पनि सेवा सुविधा नपाएको उनको दुखेसो छ ।
भिमदत्तनगरपालिका वडा नम्बर ८ तिलाचौरका दीपक बहादुर सुनारले आफुहरुसँग गतिलो रोजगारीको माध्यम नहुँदा साँझ बिहान चुलो जलाउनदेखि छोरा–छोरीलाई पढाउन समेत समस्या भइरहेको बताए । उनले सरकारले आफूहरुलाई रोजगारीदेखि लिएर बस्नलाई बासको समेत उचित व्यवस्थापन गरिदिनुपर्ने माग गरे ।
सुरक्षित पुनःस्थापन गराउने कार्यक्रम अनुसार कन्चनपुर स्तरीय मुक्त हलिया पुनःस्थापना समितिको २०७२ फागुन ६ गते वसेको वैठक नंम्बर ३८ ले “मुक्त हलियालाई जग्गा खरिद तथा दर्ता र घर निर्माण तथा मर्मत सम्बन्धी अनुदान उपलब्ध गराउने कार्यविधि २०७२” अनुसार (क) वर्गका २१ परिवारलाई वेलडाडीमा पुनःस्थापन गराउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार २१ जना मुक्त हलियाहरु तत्कालिन बेलडाडी गाउँ विकास समितिका चार जना, रामपुर विलासीपुर गाउँ विकास समितीका ११ जना र भिमदत्त नगपालिकाका छ जग्गा धनी पुर्जा प्रदान गरिएको थियो ।
बेलडाडी गाउँपालिका वडा नम्बर २ रतनपुरमा सरस्वती देवी बिष्ट र हेमराज जोशीबाट जग्गा खरीद गरी २१ क (रातो) वर्गका मुक्त हलियाहरुलाई प्रति परिवार १८६.२३ वर्गमिटर (११ धुर) जग्गा दुई लाख रुपैयाँका दरले खरीद गरी २०७२ फागुनमा लालपुर्जा प्रदान गरेको थियो ।
लालपुर्जा प्रदानपछि घर निर्माणका लागि प्रति परिवार एक लाख ५७ हजार पाँच सय रुपैयाँका दरले पहिलो किस्ता वाफत दुई लाख २५ हजार रुपैयाँ २०७२ फागुनमा उपलब्ध समेत गराइएको थियो । तर स्थानीय वासिन्दाले मुक्त हलियालाई प्रदान गरिएको जग्गा बासुदेव उपाध्यायको भएको भन्दै नापी टोलीलाई जग्गा नापजाचमा अवरोध गरेपछि मुक्त हलियाले उक्त जग्गा उपभोग गर्न पाएका छैनन् ।
लालपुर्जाको जगा उपभोग गर्न नपाएपछि मुक्त हलियाहरु यत्रतत्र छरिएर रहेका छन् । ज्ञापनपज्ञमा भनिएको छ ‘सरकारको लापरवाहीको कारण हामी आफुसँग लालपुर्जा हँदा हुदै पनि यत्रतत्र छरिएर आफन्तकहा, नदी किनार र जंगलमा बस्न बाध्य भएका कारण हाम्रो बाँच्न पाउने अधिकार नै जोखिममा रहेको छ ।’
मुक्त हलियाहरुलाई पुनः स्थापर्नाका लागि पहल गर्दै आइरहेको याक नेपालका कार्यकारी निर्देशक डबल बमले मुक्त हलियाहरु राज्यको तीन वटा चिजबाट बचित भएको बताए ।
उनका अनुसार मुक्त हलिया सँग लालपूर्जा भए पनि जग्गा प्राप्त हुन नसकेको, भूमि आयोगमा जाँदा पनि बञ्चित भएको अवस्था र संविधानमै खाद्य अधिकार हनन भएकाहरुको खाद्य अधिकार सुनिश्चिता गर्ने राज्यको दायित्व पुरा नभएकोले खाद अधिकारको हनन भइरहेको छ ।
राज्यले यस विषयलाई गम्भीरताका साथ लिएर मुक्त हलियाहरुको समस्या समाधान गर्नुपर्ने उनले बताए ।
सुदूर पश्चिमप्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाले यस विषयमा गम्भिरतापुर्वक समाधानका लागि लाग्ने प्रतिवद्धता जनाए । उनले आफुहरुको अधिकार क्षेत्र भित्र रहेर काम गर्ने, संघीय सरकार, स्थानीय सरकार, भुमि आयोग र अन्य संस्थाहसँग समन्वय सहकार्य गरेर समाधानका लागि पहल गर्ने बताए ।
आप्mहरुलाई मुक्त हलियाका विषयमा दिएको जिम्मेवारी अनुसार हलियाहरुका लागि एक पटक आवासको व्यवस्था गरिदिने भन्ने कार्य विधिमा भएकोले सोही कार्य विधि अनुसार मुक्त हलियाहरुको आवास निर्माणको काम गरिरहेको उनले बताए ।
कञ्चनपुरबाट अहिलेसम्म मुक्त हलियाका विषयमा कुनै पनि प्रकारको निवेदन नआएको उनको भनाइ छ ।