धनगढी पोष्ट
बुधबार, १० बैशाख २०८२ मा प्रकाशित
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कौवापुर शिविरका मुक्त कमैयाहरु वर्षौँदेखि टालटुलको सहारामा जीवन गुजारिरहेका विपन्न परिवारका लागि नयाँ वर्ष साँचिकै नयाँ होइन, उत्सव सरह बन्यो ।
वषौँदेखि टिन र खरले छाएका घरमा छाना हेर्दै बिताएका रात अहिले उनीहरूको जीवनबाट हराउँदै गएको छ । किनभने अब उनीहरूको हातमा पक्की घरको साँचो छ । शिविर क्षेत्रमा बुधवार ३८ विपन्न परिवारलाई शौचालय सहितको दुई कोठे पक्की भवन हस्तान्तरण गरिएको छ ।
‘स–साना झुपडी घरमा बस्या थियौँ, पानी आउँदा बारिषको डर थियो । पानी चुहिन्थ्यो’ घरको चाबी पाएर खुशी भएकी नैनादेवी चौधरीले भनिन, ‘किरा, फट्यांग्रा र सर्पको डर थियो । अहिले सरकारले पक्की घर दिएर बहुत खुशी छुँ ।’ पहिला जङ्गली हातीले घर भत्काउने, भाडा बतनहरु पिछाउने देखि अन्नबालीहरु समेत खाइदिने गरेको उनले बताइन् ।
२०५७ सालमा सरकारले कमैया मुक्तिको घोषणा गरेपछि मुक्त भएका ३३ परिवार २०६४ सालदेखि कौवापुर शिविरमा बस्दै आएका छन् । चार एचआइभी संक्रमित परिवार र एक दलित अशक्त परिवार पनि सोही शिविरमा बस्दै आइरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, लम्कीचुहा नगरपालिका, ह्याविट्वाट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र राष्ट्रिय दलित नेटवर्क नेपालले घर बनाइदिएका हुन् ।

ह्याविट्वाट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालले रकम लागनीका साथै आयोजनाको डिजाइन, स्टिमेट सहितका प्राविधिक पक्ष, समुदाय परिचालन, समुदायको क्षमता अभिबृद्धि, भुमि साक्षरताको काम समेत गरेको हो ।
शिविरकै अर्का सागर चौधरीले पहिला कच्ची घर हुँदा सर्प, किरा फट्यागा र जङ्गली हातीको डरै डरमा बस्नु परेको दुखेसो सुनाए । अहिले संघ संस्थाहरुले घर दिदाँ आफुहरुलाई ठूलो राहत पाएको उनले बताए ।
शिविरका भलमन्सा आशाराम चौधरीले पहिला डरै डरमा जिवन बिताउनु परेको बताए ।
‘साप किरा काटीको डर थियो । यो आवास कार्यक्रमले हाम्रो शिविरको जिवन फे¥यो । अब साप किरा काटीको डर छैन । अब ढोका लगाएर सुत्छु अब पानीको डर छैन । पहिला खरको झुपडा थियो । पानी चुहिने । त्यसैमा गुजारा गरे’ चौधरीले भने । पक्की घर पाएपछि महिला लगायत बालबाललिकाहरु पनि सुरक्षित भएको उनले बताए ।
लम्कीचुहामा ४५ घरमध्ये वडा नम्बर ४ कौवापुरमा ३८ घर र वडा नम्बर ३ बल्चौर बादी बस्तीमा सात घर निर्माण गरी हस्तान्तरण गरिएको छ । वडा नम्बर ४ कौवापुर शिविरमा ३८ घर परिवारका दुई सय २८ जनाको लागि निर्माण गरिएको जम्मा लागत दुई करोड ६१ लाख ६० हजार चार सय रुपैयाँ रहेको छ ।
घर निर्माणमा ह्याविट्वाट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालको ९४ लाख ५३ हजार सात सय ५० रुपैयाँ, लम्कीचुहा नगरपालिकाको ८० लाख १६ हजार चार सय रुपैयाँ, सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ३५ लाख रुपैयाँ र समुदायको ५१ लाख १० हजार चार सय रुपैयाँ बराबरको श्रमदान रहेको छ ।

ह्याविट्वाट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालकी पश्चिम कार्यालय प्रमुख पुनिता चौधरीले हयाबिट्याटले विपन्न, भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, मुक्त कमैया, मुक्तहलियाका र कमलरीहरुको सुरक्षित आवासका लागि काम गर्दै आइरहेको बताइन् ।
मुक्त कमैयाहरुको आवास अधिकार र भूमि अधिकारका लागि काम गर्ने क्रममा लम्कीचुहा आफूहरुको कार्य क्षेत्र भएकाले यस क्षेत्रमा काम गर्दै आइरहेको उनले बताइन् । आफुहरुले स्थानीय तह र प्रदेश सरकारसँग विगत पाँच वर्षदेखि सुदूरपश्चिममा समन्वयका साथै काम गर्दै आइरहेको उनले बताइन् ।
वडा नम्बर ४ का वडा अध्यक्ष ताराप्रसाद अधिकारीले कौवापुर शिविरमा सिँचाइ, तारबार र खानेपानी जस्ता समस्याहरू पनि समाधानको चरणमा रहेको बताए । उनका अनुसार सम्बन्धित निकायहरूसँग छलफल भइसकेको छ र चाँडै सकारात्मक परिणाम आउने अपेक्षा छ ।
लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले निर्वाचनका बेला आफूले मुक्त कमैया बस्तीमा गरेको बाचा अहिले आएर पूरा गर्न सफल भएको बताइन् । मुक्त कमैया क्षेत्रका समस्याहरुको समाधान अहिले आएर निरन्तर पूरा भइरहेको उनले बताइन् ।
थप १४ घरको शिलान्यास
लम्कीचुहा नगरपालिका वडा नम्बर ८ डम्मरीयामा थप १४ घरको शिलान्यास भएको छ । बुधवार लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले आवास निर्माणको शिलान्यास गरेकी हुन् । उक्त आवास निर्माणका लागि प्रति घर छ लाख ८८ हजार दुई सय ८५ रुपैयाँ लागत रहेको छ ।

प्रति घरमा लम्कीचुहा नगरपालिकाको ५० हजार रुपैयाँ, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको दुई लाख ९४ हजार रुपैयाँ, ह्याविट्वाट फर ह्युम्यानिटी इन्टरनेशनल नेपालको दुई लाख ५० हजार रुपैयाँ र ९४ हजार दुई सय ८५ रुपैयाँ बराबरको समुदायको जनश्रमदान रहने छ ।