मोहन जोशी
बुधबार, २८ जेठ २०७७ मा प्रकाशित
धनगढी,
धनगढीका युवाहरुले कोरोना रोग पत्ता लगाउन प्रयोगमा ल्याइएको रयापिट किट बन्द गर्न माग गर्दै सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् ।
आरडीटी विधी विश्वसनीय नरहेको र त्यसको भरपर्दा समुदायमा कोरोना महामारी फैलने खतरा रहेको भन्दै युवाहरुले सो आरडीटी परिक्षण बन्द गर्न माग गरेका हुन् ।
विश्व स्वास्थ्य संगठनले नै रयापिट टेष्ट विधी विश्वसनीय नभएको प्रमाणित गरेको अवस्थामा नेपालमा अझै रयापिट टेष्टकै प्रयोग गरी स्वास्थ्य परिक्षण गर्ने गरेको भन्दै युवाहरुले तत्कालै सो विधी हटाई पिसीआर विधीबाट स्वास्थ्य चेकजाँच गर्न माग गरेका हुन् ।
‘इनफ इज इनफ’ फेसबुक पेजमा पोष्ट गरिएको ‘रयापिट टेष्ट विधी बन्द गराउन दबाव’ लाई हेरेर आफुहरु स्वस्फुर्त रुपमा मुख्यमन्त्री कार्यालय अगाडी पुगेको धनगढी–२ का गौरभ कुँवरले बताए ।
‘स्वास्थ्य चेकजाँच नगर्ने, अनि लकडाउन बढाएर जनतालाई घरमा थन्काउने सरकारको प्रवृत्तिका कारण कोरोनाको महामारी बढ्दै गएको छ’ उनले भने– ‘विश्वसनी नभएको रयापिट टेष्ट विधीबाट स्वास्थ्य चेकजाँच बन्द गर्नुपर्दछ, रोग नियन्त्रण गर्न पिसिआर विधीको अधिक प्रयोग गर्दै प्रयोगशालाको क्षमता बढाउनु पर्छ भन्ने हाम्रो माग हो ।’
गौरीफण्टा नाकाबाट दैनिक पाँच हजार भन्दा बढी नागरिक भित्रिरहँदा सुदूरपश्चिम प्रदेशमा २/३ सयको मात्रै पिसीआर स्वास्थ्य चेकजाच हुने गरेको भन्दै किरन बमले सरकार जनताको स्वास्थ्य प्रति गम्भीर बनोस भनेर धर्ना दिएको बताए ।
युवाहरुले ‘कि सुरक्षा निभाउ हैन भने मरिरहेका जनताको जिमेवारी लेउ, जनता कोरोनाले हैन, लापरवाहीले मर्दैछन्, सरकारले जिम्मेवारी पुरा गरे हाम्रो साथ छ, नागरिकलाई भौकै मार्न पाईदैन, आवश्यक स्वास्थ्य सामाग्री ल्याउ, रयापिट टेष्ट बन्द गर’ लेखेका पम्प्लेट बोकेर धर्ना दिएका थिए ।
‘इनफ इज इनफ’ फेसबुक पेज मार्फत संयोजन गरेका विनोद देउवाले जनता कोरोनाको महामारी संगै भोकले मरिरहेका बेला प्रदेश सरकार निष्कृय बनेका कारण धर्ना कार्यक्रम आयोजना गरिएको बताए ।
युवाहले एघार बजेखि आधा घण्टा धर्ना दिएका हुन्