धनगढी पोष्ट
शुक्रबार, ०९ जेठ २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विगतका वर्षको नीति तथा कार्यक्रममा भन्दा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम फरक ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।
आगामी वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीवार धनगढी पोष्टसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
‘विशेष गरी यो पालि अलि फरक ढंगले फरक किसिमले नीति तथा कार्यक्रम ल्याउने सोचमा सरकार छ । त्यसमा कृषि क्षेत्र, पर्यटन क्षेत्र, पूर्वाधार क्षेत्र, शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्र आदि इत्यादि क्षेत्रका सन्दर्भमा हामीले भएका नियमित कार्यक्रमहरू जो छ, मुख्यमन्त्री शाहले भने, ‘त्यसलाई त्यसको आवश्यकता औचित्य सबै कुरा हेरिकन थप कार्यक्रमहरू पनि ल्याउने तयारीमा छौँ । त्यो अनुसारको हामीले मन्त्रालयहरूलाई निर्देशन पनि दिएका छौँ ।’
यही जेठ ११ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । बजेट अधिवेशनमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्य प्रक्रियाहरू अगाडि बढाउने छ ।
नीति आयोगले आफ्नो किसिमको छलफल संवादहरू अगाडि बढाई रहेको उनले बताए । उनले आफूहरूले पनि यस बिचमा विभिन्न निकायहरू सँग छलफल संम्वाद अगाडि बढाएको बताए ।
त्यस कारणले गर्दा खेरी नीति तथा कार्यक्रम यसपालिको बजेट अलि नयाँ ढंगले अगाडि आउने छ, भने कुरामा आफू विश्वस्त रहेको र त्यही तयारीमा आफूहरू लागि रहेको उनले बताए ।
लगानी सम्मेलनमा हामीले जो असोजको १÷२ गते लगानी सम्मेलन गर्न भनेका छौँ त्यसको पूर्व तयारीका सन्दर्भमा हामीले यही जेठ २१ गते प्रि–समिटको आयोजना गरिएको मुख्यमन्त्री शाहले बताए ।
त्यसमा पनि आफूहरूले यो क्षेत्रका सम्भावना भएका विभिन्न आयोजनाहरू कार्यक्रमहरू त्यसमा प्रस्तुत गरिने उनले बताए ।
प्रि–समिटमा आफूले युरोपियन युनियनदेखि लिएर विकास साझेदारहरूदेखि लिएर उद्योग वाणिज्य संघदेखि लिएर एनआरएनदेखि लिएर सिआरएन लगायतका धेरै प्रतिनीधिहरुलाई र विशेष गरी आफूहरूलाई विगतदेखि सहयोग गर्दै आएका विभिन्न मित्र राष्ट्रहरू लाई पनि हामीले आमन्त्रण गरेको उनको भनाइ छ ।
प्रि–समिटका लागि आफूहरू एक किसिमको तयारीका साथ अगाडि बढिरहेको उनले बताए । प्रि–समिटमा आयोजनाहरू पनि प्रस्तुत गरिने र ती आयोजनाहरू कतिपय बजेट तथा कार्यक्रम सँग पनि मेल खाने खाल्का पनि रहेको उनले बताए ।
उनले आयोजनाहरूलाई नीति तथा कार्यक्रम र बजेटले पनि सम्बोधन गरेर जाने प्रक्रियालाई पनि सँगसँगै अगाडी बढाउने बताए ।
‘हामीले प्राईरीटीका सेक्टर भन्दा खेरी उत्पादनका क्षेत्रहरूलाई हामीले अलि बढी जोड दिने । जले रोजगारी पनि सिर्जना गरोस् । त्यस्ता क्षेत्रलाई अलि बढी जोड दिनुपर्छ । भने कुराहरू छ । कनेक्टीभिटीका कुराहरू छ । कनेक्टीभिटीका कुराहरूमा रोड एक्सेसका कुराहरूमा अलि हामीले बढी प्राईरीटी दिनुपर्ने कुराहरू छ, मुख्यमन्त्री शाहले भने,‘स्वास्थ्य केन्द्रहरूलाई अलिकता अपगे्रड गर्न कुराहरू पनि छ, स्वास्थ्य क्षेत्रमा हामीले शिक्षा क्षेत्रमा नमुना विद्यालयको कन्सेप्ट अगाडि ल्याएर आएका छौँ ।’
नमुना विद्यालयलाई थप व्यवस्थापन गर्नुका साथै उनले कृषि क्षेत्र लगायत अन्य क्षेत्रहरूलाई पनि सँग सँगै अगाडि बढाएर लैजाने बताए ।
उनका अनुसार गत वर्ष आफूहरूले वडा तहमा एउटा वडा एउटा उत्पादन भनेर अगाडि बढाइएको भए पनि यसपालि अलि यसलाई बृहत् रूपमा लैजाने विषयमा आफूहरू बिचमा छलफल सुरु भएको छ ।
कृषि क्षेत्रका सन्दर्भमा विभिन्न अन्न बालीहरू, फलफूल खेती लगायत पशुपालनलाई आफूहरूले पकेटका रूपमा ठुलो क्षेत्र समेटेर अगाडि बढ्ने विषयमा समेत छलफलहरू अगाडि बढाइएको उनले बताए ।
उनले भने,‘सडकको एक्सिस नभएका केही पालिकाहरूमा हामीले पालिका केन्द्रहरूलाई अहिले पनि सडकसँग जोडन सकेका छैनौँ । बर्खामा त स्वाभाविक रूपमा सम्बन्ध बिच्छेद हुन्छ नै । तर हामी वर्षादको याममा पनि आउने जाने वातावरण कसरी बनाउन सकिन्छ । भन्नेमा हामी छौँ ।’
उनले आफूहरूले केही दिन पहिले मात्रै प्रदेशको सडक सञ्जालको गुरु योजना पास गरेको बताए । प्रदेशका गुरु योजना भित्र रहेका सडकहरूलाई आफूहरूले प्राथमिकताका साथ अगाडि बढाउने तयारीमा रहेको उनले बताए । उनका अनुसार गुरु योजना अनुसार क्रमिक रूपमा त्यसलाई सम्पन्न गर्न दिशा तिर प्रदेश सरकार अगाडि बढ्नुपर्छ भन्ने छ ।
उनले गुरु योजना अन्तर्गत आफूहरूले विभिन्न विभिन्न दातृ निकायहरूलाई सहयोगी निकायहरूलाई जोड्न खोजी रहेको बताए । वल्र्ड बैंकदेखि लिएर अरू सहयोगी संस्थाहरू पनि जोडिएकाले उनीहरूलाई पुन जोड्ने र गुरु योजनालाई निरन्तरता दिएर कामलाई छिटो सम्पन्न गर्न दिशामा आफूहरू लागि रहेको उनको भनाइ छ ।
उनले भने, ‘अलिकता हामीलाई के छ भने यो नीति तथा कार्यक्रमका सँग सँगै बजेट सँग सँगै यो हाम्रो लगानी प्रि–समिटको डेट पनि त्यही भित्र २१ गते भनेपछि त्यही बजेट हामीले प्रस्तुत गर्नुपर्ने पेरीफेरीमा त्यही कुराहरू छ । अलिकता हामीले तयारी गर्नुपर्न छ । जे होस अब हाउस सञ्चालन भइसकेपछि हामीले नीति तथा कार्यक्रम प्रस्तुत गछौँ ।’
योजन किन्ने बेच्ने मनसायमा आफू नरहेको उनले दाबी गरे । ‘मैले सबैका बिचमा जानकारी गराएको छु । योजना किन्ने बेच्ने मनसाय र मनस्थितीले मलाई सल्लाह सुझाव नदिनु होला भेट्न पनि नआउनु होला भनेर मैले प्रष्ट भनेको छु, उनले भने, ‘मेरो म्याक्सिम्म प्रयास रहनेछ । यो किन्ने बेच्नेको शब्दावली यो अबदेखि कसैले उच्चारण नगरोस् भन्ने वातावरण निर्माण गर्न तिर म सिरियस छु ।’