उतार चढावमा सुदूरपश्चिमको कोरोना संक्रमण दर

उतार चढावमा सुदूरपश्चिमको कोरोना संक्रमण दर

धनगढी

 चैत १४ गते पहिलो व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको सुदूरपश्चिम प्रदेशमा साउन ३१ सम्म आइपुग्दा चार हजार ८ सय ३४ जना संक्रमित भइसकेका छन् ।

 तर संक्रमणको दरमा भने उतार चढाब भईरहेको छ । चैत १४ देखी चैत २९ सम्म पाँच जनामा संक्रमण देखिएको थियो । त्यसपछिका ४१ दिन सम्म कुनै व्यक्तिमा संक्रमण पुष्टि भएन । ४२ औं दिन जेठ ९ गते सुदूरपश्चिममा थप पाँच जनामा संक्रमण पुष्टि हुँदा प्रदेशमा कुल संक्रमितको संख्या १० पुगेको थियो । तर जेठ ९ पछि संक्रमण दर निक्कै बढेको थियो । जेठ ९ देखी असार १९ गते सम्म सुदूरपश्चिममा ३ हजार ५ सय ३० जना संक्रमित थपिएका हुन् ।

 जेठ १९ गते नै सुदूरपपिश्चममा हाल सम्मकै सवैभन्दा बढी ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो । ४ सय ९८ संगै असार १९ सम्म सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या तीन हजार ५ सय ३५ पुगेको थियो । पहिलो संक्रमण देखिएको दिन (चैत १४ ) देखी ५४ दिन (जेठ ८) सम्म ५ जना संक्रमित रहँदा जेठ ९ देखी असार १९ (४२ दिन) तीन हजार पाँच सय ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

  असार २० देखी असार ३१ सम्म फेरी सुदूरपश्चिममा संक्रमण दर फेरी घटेको   थियो । सो अवधीमा ४ सय ४३ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ हजार ९ सय ७८ पुगेको थियो ।

 असार २० देखी असार ३० सम्म सुदूरपश्चिममा संक्रमण दर केही घटेपनि साउन १ गते देखी पुनः संक्रमण दर बढ्दै गयो । साउन १ गते देखी बढेको संक्रमण दर साउन १६ सम्म कायम रहेको थियो । सो समयमा सुदूरपश्चिममा पाँच सय ३७ जना नयाँ संक्रमित थपिएका थिए । साउन १६ देखी ३१ सम्म पुनः संक्रमण दर ओरालो लाग्दै आएको छ । पछिल्लो १५ दिनको अवधीमा सुदूरपश्चिममा तीन सय ८ जनामा संक्रमण पुष्टि भएको छ ।

   यसरी पटक पटक संक्रमण दर घट्ने र बढ्ने क्रम जारी रहँदा सुदूरपश्चिममा अवका दिनमा संक्रमणको अवस्था कस्तो हुने भन्ने निक्यौल गर्न सक्ने अवस्था नरहेको स्वास्थ्यकर्मी बताउँछन् । सेती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर शेरबहादुर कमरले भारतबाट नागरिक कम आउँदा संक्रमण कम हुने र बढी आउँदा संक्रमितको संख्या पनि बढ्ने गरेको बताए ।

  ‘अहिले सम्म कोरोना संक्रमण दर भारतबाट आउने नागरिकको संख्यामा भर परेको छ उनले भने–‘तर समुदाय स्तरबाट हाल सम्म स्वाव परिक्षण हुन सकेको छैन, समुदाय स्तरमा परिक्षण भए फेरी संक्रमण दरमा उतारचढाब आउन सक्दछ ।

  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भने हाल सम्म समुदायमा संक्रमण फैलिएको भन्ने कुनै प्रमाण नभेटिएको बताए । केही स्थानमा क्वारेन्टिनबाट घर गएपछि कोरोना पुष्टी भएपछि ती स्थानलाई सील गरी संक्रमितको सम्पर्कमा आएका हरुमा परिक्षण गरिएको छ निर्देशक अवस्थीले भने–‘त्यसबाहेक समुदायका नागरिकमा हाल सम्म कोरोना पुष्टि भएको छैन ।