धनगढी पोष्ट
बुधबार, १७ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपशिचम प्रदेश सरकारले सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाका लागि दुई÷दुई वटाका दरले आइसियु र भेण्टिलेटर जडान गर्न खरिद प्रक्रिया अघि बढाइपनि ती उपकरण सञ्चालन गर्ने जनशक्ति भने व्यवस्थापन गरेका छैन ।
सुदूरपश्चिमका पहाडी जिल्लामा नत हाल सम्म आईसियु र भेण्टिलेटर सञ्चालन गर्ने जनशक्तिको दरवन्दी समेत छैन । हाल सम्म सुदूरपश्चिम प्रदेशमा ३ वटा अस्पतालमा १२ भेण्टिलेटर र १८ आइसियु वेड मात्रै निर्माण गरिएका छन् । ती पनि सुगम जिल्ला (कैलाली, कञ्चनपुर र डडेल्धुरा) मा मात्रै । यस बाहेक ६ वटा पहाडी जिल्लामा भने हाल सम्म नत भेण्टिलेटर र आइसुयु स्थापना भएका छन्, नत ती उपकरण सञ्चालन गर्ने जनशक्ति नै छ ।
हाल ७ वटा आइसियु र भेण्टिलेटर सेती प्रादेशिक अस्पतालमा मात्रै निर्माण गरिएका छन् । भने कञ्चनपुरको महाकाली अस्पतालमा ११ वटा आइसियु र भेण्टिलेटर हुँदा डडेल्धुरा अस्पतालमा २ वटा भेण्टिलेटर निर्माण गरिएका छन् ।
यस बाहेक सुदूरपश्चिमका ६ पहाडी जिल्लामा भने आइसोलेसन वेडका भरमा कोरोना संक्रमितको उपचार भइरहेको छ ।
प्रदेश स्वास्थय निर्देशनालयका अनुसार हाल सम्म सेती प्रादेशिक अस्पतालमा १० आइसियु वेड र ७ वटा भेण्टिलेटर निर्माण गरिएका छन् । यसै गरी महाकाली अस्पतालमा ८ आइसियु वेड र ३ वटा भेण्टिलेटर वेड निर्माण भएका छन् ।
सुदूरपश्चिमका ९ वटै जिल्लामा अझै पनि ८ सय बढी सक्रिय संक्रमित उपचाररत हुँदा ५ सय ८६ जनाको स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखेर उपचार भइरहेको छ । आइसियु र भेण्टिलेटरमा भने कुनै पनि बिरामीलाई राखिएको छैन ।
सुदूरपश्चिम प्रदेश सरकारले बाँकी ६ जिल्लामा दुई÷दुई वटा आइसियु र भेण्टिलेटर स्थापना गर्न खरिद प्रक्रिया अघि बढाएको छ । तर आइसियु, भेण्टिलेटर सञ्चालन गर्ने जनशक्ति अभावका कारण जडान प्रक्रिया नै अन्यौलमा परेको छ ।
‘आइसिय र भेण्टिलेटर जडान गर्न छुट्टै तालिम प्राप्त जनशक्ति आवश्यक पर्दछ’ प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले भने–‘तर पहाडी जिल्लामा त्यो जनशक्तिको दरवन्दी नै छैन, मेसिन जडान गरेर कसरी सञ्चालन गर्ने ?’ आइसियु र भेण्टिलेटर कोरोना संक्रमितकालागि मात्रै नभई अन्य अवस्थामा पनि आवशयक पर्ने हुँदा पहाडी जिल्लामा जडान आवश्यक रहेको भएपनि मेसिन सञ्चालन गर्ने जनशक्तिको दरवन्दी नै नहुँनु मुख्य समस्या भएको निर्देशक अवस्थीले बताए ।
‘संक्रमितको संख्या दैनिक रुपमा बढ्दै जाँदा पहाडी जिल्लाका जिलला अस्पतालमा आइसियु र भेण्टिलेटर जडान गरी सेवा प्रदान गर्ने योजना बनाएका थियौं, निर्देशक अवस्थीले भने–‘तर पहाडका जिल्ला अस्पतालमा आइसिय र भेण्टिलेटर सञ्चालन गर्ने जनशक्ति छैन, नत प्रदेशमा त्यो प्रकारको तालिम प्रदान गर्ने जनशक्ति नै छ ।’ आइसियु र भेण्टिलेटर सञ्चालन सम्बन्धी तालिम त्रिभुवन शिक्षण अस्पताल र बिर अस्पतालले मात्रै दिने गरेकामा कोरोना कहरका कारण दुई वटै संस्थाले तालिम दिन नसक्दा थप समस्या भएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा हाल सम्म दुई जना कोरोना संक्रमितलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा दुई जनाकै मृत्यु भएको छ । प्रदेशका ९ वटै जिल्लामा तीन हजार ९ सय १८ आइसोलेसन वेड स्थापना गरिएका छन् ।