धनगढी पोष्ट
बुधबार, ०७ असोज २०७७ मा प्रकाशित
धनगढी
कोरोना महामारीका कारण गत चैत देखि बन्द रहेका बिद्यालयहरु खुल्न थालेका छन् । कोरोना महामारी बढ्दै गएपछि सरकारले घोषणा गरेको लकडाउनका कारण चैत देखि बन्द रहेका बिद्यालय बिस्तार खुल्न थालेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तह मध्य बिभिन्न जिल्लाका ७ वटा स्थानीय तहले शिक्षक र बिद्यार्थीको भौतिक उपस्थितीमै बिद्यालय संचालन गरेका छन् ।
सरकारको पछिल्लो निर्णय संगै अधिकांस बिद्यालयहरुले बैकल्पीक माध्यममा पढाई संचालन गरे पनि प्रदेशका ७ वटा स्थानीय तहका बिद्यालय भने पुर्ण रुपमा संचालनमा आएका छन् । बाजुराको एक, बझाङको एक, अछामको एक, बैतडीका दुई, डोटीको एक र कैलालीको एक स्थानीय तहले आफ्नो स्थानीय तहमा रहेका सम्पुर्ण बिद्यालय पुर्ण रुपमा संचालनमा ल्याएका छन् ।
कैलालीको कैलारी गाउँपालिकाका बिद्यालयहरु यहि असोज ४ गतेदेखि संचालनमा आएका छन् । गाउँपालिकाले कोभिड– १९ ले बन्द रहेको विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरे सँगै विद्यालय सञ्चालनमा आएका हुन् । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार वैकल्पिक शिक्षा प्रणाली अपनाई विद्यालय सञ्चालनमा ल्याएको हो ।
वैकल्पिक शिक्षा प्रणाली अपनाई आवश्यक विधि, विद्यालय तथा विद्यार्थीको वर्गीकरण, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया गरी सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गरेको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।
कैलारी गाउँपालिकामा रेडियो, टेलिभिजन तथा अनलाइन प्रविधिको राम्रो पहुँच नरहेकाले विद्यार्थीलाई विद्यालयमै बोलाउनुपर्ने अवस्था रहेको गाउँपालिका स्थित सरस्वती माविका प्रधानाध्यापक बुद्धिप्रसाद सुवेदीले बताए ।
अछामको मेल्लेख गाउँपालिकाका सबै बिद्यालयले बुधबारदेखि सामाजिक दुरि कायम राख्दै पठनपाठन सुरु गरेका छन् । आज देखि देखि मेल्लेखका ४१ ओटा बिद्यालय भौतिक दुरि कायम राख्दै सुरक्षाकाका सामाग्रीको प्रयोग सहित कार्ययोजना बनाइ पढाइ लाई निरन्तरता दिएका छन् ।
यसरी चैत देखि भदौ सम्म पढाइ छोडेका बिद्यार्थीहरु बैकल्पिक शिक्षामार्फत बिद्यालयमा भौतिक दुरि कायम राखि पढन पाउँदा निकै खुसि भएका छन ।
बैतडीका दुई स्थानीय तहले मंगलबार देखि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर बिद्यालय संचालन गरेका छन् । बैतडीको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले विद्यालय संचालनमा ल्याएका हुन् ।
जिल्लामा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय संचालनमा ल्याईएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । यस्तै शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले शिक्षण सिकाईलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको बताए । गाउँपालिकाले असोज ४ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गरिरहेको छ ।
बझाङको साइपाल गाउँपालिकामा भने जेठ देखि नै विद्यालय नियमित संचालनमा रहेका छन् । अघिल्ला वर्ष बझाङका साईपाल गाउँपालिकाका विद्यालय चैतदेखि साउनसम्म बन्द हुन्थे । विद्यार्थी–शिक्षक यार्चा संकलनका लागि लेकतिर जाने हुँदा विद्यालयमा साउन पहिलो साता मात्रै भर्ना सुरु हुन्थ्यो । तर यसपटक कोरोनाका कारण यार्चा संकलनमा रोक लगाएपछि जेठबाटै नियमित बिद्यालय संचालन रहेका छन् ।
सरकारले कोरोना महामारी नियन्त्रणका लागि विद्यालय बन्द गर्न निर्देशन दिए पनि साइपालमा जोखिम नरहेको भन्दै अभिभावकहरूले नै बिद्यालय खोल्न दबाब दिएका कारण नियमित संचालनमा रहेका गाउँपालिकाको शिक्षा इकाईका प्रमुख नरबहादुर धामीले बताए ।
साइपालमा हालसम्म कसैलाई पनि कोरोना संक्रमण नभएको र आवतजावत पनि नहुने भएकाले कक्षा सञ्चालनमा समस्या नभएको शिक्षकहरू बताउँछन् । साइपालमा ३ मावि, ५ प्रावि र २ निजी विद्यालय रहेका छन ।
१ हजार ३ सय ४७ बिद्यार्थी संख्या रहेको साईपाल गाउँपालिकामा कोरोनाको जोखिम न्यून रहेको र अभिभावकहरूले पनि दबाब दिएकाले पठनपाठन बन्द नगरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।
यसैगरी बाजुराको जगन्नाथ गाउँपालिकाले साउन १५ गतेदेखि नै विद्यालय सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणको जोखिम घटेपछि पठन पाठन नै सुचारु गर्ने गरी गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । साउन १५ गते देखि पढाई सञ्चालन गर्ने गाउँ कार्यपालिकाको निर्णय अनुसार साउन १५ देखि नियमित पढाइ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । सामाजिक दूरी कायम गरी मास्कको अनिवार्य प्रयोग सहित पठन पाठन सञ्चालन गरिएको अध्यक्ष शाहीले बताए । साउन १५ देखि जगन्नाथ गाउँपालिका भित्र रहेका सम्पूर्ण १७ वटै विद्यालय सञ्चालनमा रहेका छन् ।
यसैगरी डोटी स्थित जोरायल गाउँपालिकामा पनि केही बिद्यालय आजबाट संचालनमा आएका छन् भने केही एक दुई दिनमै संचालन गर्ने तयारी रहेको छ । गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बिद्यालय संचालन भईरहेका बताए । उनले भने–‘केही बिद्यालय संचालन भैषकेका छन्, केही संचालनको तयारीमा रहेका छन् ।’ गाउँपालिकाभरी ६५ वटा बिद्यालय रहेको अध्यक्ष ओझाले जानकारी दिए ।
प्रदेशका अन्य स्थानीय तहहरुले पनि केही दिनमै बिद्यालय संचालन गर्ने तयारी गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख झंकर बिष्टले बिद्यालय संचालनका बारेमा हरेक जिल्लाका शिक्षा समन्वय ईकाई प्रमुख संग छलफल भईरहेको बताए । उनले भने–‘सबै ठाउँ एउटै नियम लागु हुदैन, अवस्था अनुसार हरेक स्थानीय तहले कार्ययोजना बनाएर बिद्यालय संचालन गर्न सक्छन ।’