मोहन जोशी
सोमबार, २६ जेठ २०७७ मा प्रकाशित
धनगढी
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनका कारण अन्य क्षत्र झै खेल क्षेत्र पनि प्रभावित बनेको छ ।
दुई महिना भन्दा बढी समयसम्म निष्कृय भएर घरमै बस्दा खेलाडी शारीरिक मात्र नभई मनोवैज्ञानिक रुपमै कमजोर बन्न थालेको भन्दै सरोकारवाला चिन्तित बन्न थालेका छन् । ‘दैनिक अभ्यासबाट मात्रै खेलमा निखारता आउने गर्दछ’ बक्सिङ खेलका राष्ट्रिय खेलाडी तेजबहादुर देउवाले भने – ‘पछिल्लो समय हामी घरमै थन्किएका छौं, यसले हाम्रो प्रतिभा गुमेको छ ।’
सरकारले खेलाडीका लागि छिट्टै नयाँ योजना ल्याएर मैदानमा उतार्न नसके खेल जगत धरासायी बन्ने उनले बताए । ‘हामीहरु अन्तरराष्ट्रिय ओलम्पिक खेलका लागि बन्द सत्रमा प्रशिक्षण गरिरहेका थियौं’ उनले भने– ‘तर लकडाउन पछि हामी घरमा थन्किएका छौं’ घरमा थन्किदा शारीरिक र मानसिक रुपमै कमजोर बन्न थालेका छौं, तत्कालै नयाँ प्याकेज नआए खेल क्षेत्रमा ठुलो धक्का पुग्ने देखिन्छ ।’
जिल्ला खेलकुद विकास समिति कैलालीका पुर्व अध्यक्ष राजिव गुप्ताले खेलाडीलाई पुर्ववत अवस्थामा फर्काउन सरकारले तत्कालै नयाँ योजना ल्याउनु आवश्यक रहेको बताए । ‘लकडाउनले सवै क्षेत्र प्रभावित बनाएको छ’ पुवै अध्यक्ष गुप्ताले भने– ‘खेललाई जीवन्त बनाउँन लकडाउनमै केही नयाँ कार्यक्रम ल्याउनु आवश्यक छ, जसले खेलाडीलाई प्रशिक्षण गर्न सहज होस् ।’
जिल्ला खेलकुद विकास समिति उसु खेलका प्रशिक्षक रतन खातीले खेलाडीको मनोवल गुम्दा धेरै खेलाडी विस्थापित हुने खतरा रहेको बताए । ‘तीन महिनासम्म खेलाडी प्रशिक्षण विना नै घरमा बस्दा उसले धेरै कुरा गुमाएको हुन्छ’ अध्यक्ष खातीले भने– ‘शारीरिक रुपमा कमजोर बन्नुका साथै मानसिक रुपमा समेत खेलाडी कमजोर हुन्छन्, त्यसैले छिट्टै खेलाडीलाई प्रशिक्षणमा पार्काउनु आवश्यक छ ।’ धेरै खेलका प्रशिक्षण सामाजिक दुरी कायम गरेर भए पनि सञ्चालन गर्न सकिने खालका भएको बताउँदै उनले त्यसका खेलमा आबद्ध खेलाडीलाई तत्काल खेलमा फर्काउन जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरे ।
सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष हरी रेग्मी खेलाडी लामो समय प्रशिक्षण बिना बस्दा अहिलेसम्मको उपलव्धि गुम्ने बताउँछन् । ‘७५ दिनसम्म घरमै बस्दा खेलाडीको अहिले सम्मको सवै मेहनत खेरजाने गएको छ, खेलाडीले आफ्नो खेल जीवनलाई नयाँ शिराबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’ राष्ट्रिय स्तरमा खेल्ने खेलाडीले एक दिन अभ्यास गर्न नपाउँदा ठुलो क्षती व्यहोर्नु पर्ने अवस्था आउने गरेको बताउँदै अध्यक्ष रेग्मीले ७५ दिन सम्म घरमै थन्किएर बस्दा त्यसले कती नोक्सानी गर्छ भन्ने अनुमान समेत गर्न नसकिने बताए । लकडाउनकै विच निष्चित मापदण्ड पु¥याएर खेलाडीलाई प्रशिक्षणमा ल्याउने तयारी गरिरहेको उनले बताए ।
उनले कोरोनाको बहानामा खेल क्षत्रको बजेट कटौती गर्ने सरकारी निर्णयको पनि विरोध गर्दै यस्तो अवस्थामा थप बजेट छुट्याउनु पर्ने बताए । ‘यतिवेला खेलाडीलाई सामान्य अवस्थाको भन्दा अझै धेरै अभ्यासको आवश्यकता परेको छ ।’ अध्यक्ष रेग्मीले भने– ‘त्यसका लागि बजेटकै आवश्यकता पर्दछ, तर सरकार खेल क्षेत्रको बजेट कटौती तर्फ लागि परेको छ, यसो गरे खेल क्षेत्र धरासायी हुन सक्दछ ।’
जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष बाबुराजा श्रेष्ठले लकडाउनका कारण खेलाडी पलायनको अवस्थामा आउने खतरा रहेको बताए । ‘धेरै खेलाडीलाई लकडाउनले कमजोर बनाई सकेको छ’ उनले भने– ‘आर्थिक रुपमा समेत खेलाडीको अवस्था नाजुक भएमा उनीहरु खेलबाट पलायन भएर अन्य पेशा रोज्न बाध्य हुनेछन् ।’
‘लकडाउन पछि अभ्यास नहुँदा धेरै खेलाडीको तौल १० केजी सम्म बढेको छ’ अध्यक्ष श्रेष्टले भने– ‘यस्तो अवस्थामा उनीहरुलाई धेरै संघर्ष गर्नु पर्ने अवस्था आउन सक्दछ, केही खेलाडी त्यस कारण पनि विस्थापित हुने सम्भावना बढेको छ ।’ तत्कालै राष्ट्रिय खेलकुद विकास समितिले खेलाडीलाई पुनः खेलमा फर्काउने विषयमा सोच्नुपर्छ भनेर दवाव दिएको बताउँदै उनले जिल्ला स्तरमा पनि छलफल भइरहेको बताए ।
‘ सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लालाई भनेर पाँच पाँच करोड बजेट आएको छ’ अध्यक्ष श्रेष्ठले भने – ‘यसले खेलाडीलाई पहिलेकै अवस्थामा ल्याउन तथा खेल संरचना निर्माण गर्न सकिदैन ।’ अन्य प्रदेशका जिल्लाहरुमा १५ करोड सम्म बजेट दिंदा सुदूरपश्चिममा ५ करोड मात्रै बजेट दिएर सरकारले अन्याय गरेको उनको भनाई छ । लकडाउनले खेल संरचना निर्माण कार्यमा समेत बाधा पु¥याएको उनले बताए ।