धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सेती लोकमार्गको लागि ८० हेक्टर जग्गा दिने सरकारको निर्णय

सेती लोकमार्गको लागि ८० हेक्टर जग्गा दिने सरकारको निर्णय

धनगढी । आयोजना निर्माण शुरु भएको १५बर्षपछि सेती लोकमार्ग अन्तर्गत ठुलीगाड सडक खण्डको निर्माण कार्य बल्ल शुरु हुने भएको छ । सरकारले सो खण्डको बन क्षेत्र आयोजनालाई हस्तान्तरण गर्ने र रुख कटान गर्न दिने निर्णय  तीन दिन अघि मात्र गरेपछिनिर्माण कार्य शुरु हुने भएको हो ।

संघीय सरकारले  आयोजना क्षेत्रमा रहेको रुख कटान  गर्न दिने निर्णय गरेकोले रोकिएको क्षेत्रमा आयोजनाको काम शुरु हुने वातावरण बनेको सेती लोकमार्ग सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रले बताए ।

सूचना अधिकारी मिश्रले रुख कटानका लागि लगत संकलन गर्न र रुखमा टाँचा लगाउन बन कार्यालयलाई पत्र पठाइसकिएको बताए ।

 संघीय सरकारको मन्त्रीपरिषदको बैशाख २८ गतेको बैठकले सेती राजमार्ग अन्तर्गत डोटी जिल्ला  स्थित ठुलीगाड सेती बुढीगंगा दोभान सडक खण्ड निर्माणको लागि राष्ट्रिय बनको ८० हेक्टर जग्गा प्रयोग गर्ने दिने र सो जग्गामा रहेका बिभिन्न प्रजातिका रुख, पोल हटाउन स्वीकृति दिने निर्णय गरेको छ । 

कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा हुँदै बझाङको उत्तरी सीमा उरै भन्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सेती लोकमार्गको लम्बाइ ३५९ किलोमिटर छ ।

डोटीको  ठुलीगाड सेती बुढीगंगा दोभान सडक खण्डमा रहेको बन क्षेत्रको  प्रयोग गर्ने अनुमति नपाउदा आयोजना निर्माण सुरु भएको १५ वर्षसम्म पनि सो सडक खण्डको ४० किलोमीटर क्षेत्रमा  सडक निर्माणको काम नै शुरु हुन सकेको थिएन । 

डिभिजन वन कार्यालय डोटीका कार्यालय प्रमुख डिभिजन बन अधिकृत गोकुल रिजालले सेती लोकमार्गको सडक खण्डमा पर्ने बन क्षेत्र आयोजनालाई  प्रयोग गर्न दिने र रुख कटान गर्न दिने निर्णय भएको आफुले सुनेको तर पत्र आइनसकेको बताए ।

डिभिजन  बन अधिकृत रिजालले सो क्षेत्रमा २४ सय जति रुखहरु काटनुपर्ने रहेको र बन विभागबाट पत्र आएपछि रुख कटानको काम अगाडि बढ्ने बताए ।

आयोजना निर्माणको ठेक्का  पाएको कम्पनीसपना जयमा स्वर्गद्धावरी जेभीले सरकारले निर्णयपछि अब छिटै नै सडक निर्माणको काम अगाडि बढ्ने जनाएको  छ ।

सरकारले निर्णय गरेको भएपनि अहिलेसम्म पत्र नआएको पत्र आउने बितिकै रुख काटन काम सुरु हुने सपना जयमा स्वर्गद्धावरी जेभीका साइड प्रमुख डिल्ली डाँगीले बताए ।

सडक भित्र परेका रुखहरु निर्णय आएको१५ दिन भित्रै कटान सुरु गर्ने डागीले बताए । ‘यो वर्ष रुख कटानको काम होला नहोला निश्चित छैन’ उनले भने,‘यो वर्ष हुन सकेन भने  अर्को आर्थिक वर्षको असोजदेखि हाम्रो काम तिव्रताका साथ अगाडी बढ्छ ।’ 

सडकको शुरुवातदेखि नै रुख कटानको काम भएकाले अहिलेसम्म शुन्य प्रतिशत पनि सडक सुरु गर्न नसकिएको उनले बताए । एक वर्षदेखि सडक निर्माणका लागि मेसिनहरु लगेर निर्माण स्थलमा राखिएको उनको भनाइ छ । आफुहरुले ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने उनले बताए । 
कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा हुँदै बझाङको उत्तरी सीमा उरै भन्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सेती लोकमार्गको लम्बाइ ३५९ किलोमिटर छ । निर्माण सुरु भएको १५ वर्षसम्म पनि १३० किलोमिटर मात्र ट्रयाक खुलेको छ । आर्थिक वर्ष २०६५÷६६ बाट सुरु भएको सेती लोकमार्ग भारत र चीनको सीमा जोड्ने छोटो सडक मार्ग पनि हो ।

कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्म सेती लोकमार्गको लम्बाइ दुई शय ४२ किलोमिटर रहेको योजना कार्यालयले जनाएको छ । जसमा उत्तरी खण्डको लम्बाइ १ सय १० किलोमिटर छ । सन २०१२ मा आयोजनाको डीपीआर तयार भएको थियो । आयोजनाले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोएको छ ।

टीकापुर नाकाबाट भारत र ताक्लाकोटबाट बझाङले चीनलाई छोएको छ । टीकापुर–खप्तड छान्ना गाउँपालिका (बझाङ) र खप्तड छान्ना गाउँपालिका (बझाङ)–ताक्लाकोट गरी आयोजनालाई दुई खण्डमा विभाजन गरिएको छ ।

सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन भन्दै सरकारले दक्षिणी खण्डको निर्माणका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट अछामको साँफेबगर जोड्ने एक मात्र सडकको लम्बाइ अहिले करिब दुई सय ७० किलोमिटर रहेकोमा सेती लोकमार्ग निर्माण भएपछि त्यो मार्गको लम्बाइ एक सय ३५ किलोमिटरमा झर्नेछ । 

सेती लोकमार्ग अन्तर्गत डोटीको ठुलीगाड हुँदैे सिलीगाडसम्म सडक निर्माणका लागि ९४ करोड २५ लाख ९७ हजारमा बहुवर्षीय ठेक्का स्वीकृत भएको सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

उक्त सडक निर्माणका लागि २०७९ मंसिर २९ गते सपना जयमा स्वर्गद्धावरी जेभी सँग ६५ करोड दुई लाख ८६ हजारमा सम्झौता भएको थियो ।

भारत–नेपाल–चीन जोड्ने सेती लोकमार्ग बहुउपयोगी रहेको छ । यसले कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा र बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ (ताक्लाकोट सीमानाका) जोड्नेछ ।

सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्नेछ । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्नेछ ।

यो लोकमार्ग सम्पन्न भए नेपालको चार धाममध्येको वैद्यनाथ धाम क्षेत्र, जडीबुटीको प्रचुर सम्भाव्यता रहेको क्षेत्र, खप्तडको प्रवर्दन तथा सहज पहुंँच हुनेछ । यस्तै, भारतबाट मानसरोवर क्षेत्रमा जाने तीर्थयात्रीहरूलाई पनि सहज हुनेछ ।