धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीमा संघीय सरकारको ६ अर्ब ९५ करोड खर्च भएन

कैलालीमा संघीय सरकारको ६ अर्ब ९५ करोड खर्च भएन

धनगढी । कैलालीमा गत आर्थिक वर्ष २०८०÷०८१ मा संघीय सरकार मातहतका विभिन्न आयोजना, निकाय र पालिकालाई विनियोजित बजेटमध्य ६अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ खर्च हुन सकेन । 

गत आर्थिक वर्ष २०८०÷०८१ मा संघीय सरकारद्वारा कार्यान्वयनमा रहेका विभिन्न योजना, संघीय कार्यालय र पालिकालाई विनियोजित बजेट मध्य ६ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ खर्च हुन नसकेको हो । 

कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक चेतराज जोशीका अनुसार संघीय सरकारले ३७ अर्ब २४ करोड ८८ लाख रुपैया विनियोजन गरेकोमा ३० अर्ब २८ करोड १६ लाख ५९ हजार रुपैयाँ खर्च भएको छ । कुल बजेटको ८१.३१ प्रतिशत खर्च भएको जोशीले बताए । 
चालुतर्फ ३० अर्ब २२ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेकोमा २४ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ सात अर्ब २१ करोड ७९ लाख २५ हजार रुपैया विनियोजन गरेकोमा पाँच अर्ब ४१ करोड ७७ लाख ५७ हजार रुपैया खर्च भएको हो । 

चालुतर्फ कुल विनियोजित बजेटको ८२.८२ प्रतिशत खर्च भएकोमा पुँजीगततर्फ ७५.०५ प्रतिशत खर्च भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक जोशीले भने, ‘यो खर्च समग्रमा हेर्दा सन्तोषजनक नै छ । देशभरीकै खर्च हेर्ने हो भने यो भन्दा मुनिनै छ । यो भन्दा बढेको छैनन् । देशभरी नै यो खर्च सन्तोषजनक मानुपर्छ ।’

आयोजना कार्यालयहरुका योजनामा ठेक्का ढिलो गरी हुने र निर्माण व्यवसायले समयमै काम नगर्दा पनि खर्च हुन नसकेको उनले बताए ।

३÷४ महिनामै कर्मचारी सरुवाको कारणले गर्दा पनि बजेट खर्च हुन नसकेको उनले बताए । दरबन्दी अनुसार कर्मचारी पदपूर्ति भयो भने खर्च लाई बढाउन सकिने उनले बताए । 

कुन आयोजना कार्यालयको कति खर्च 
सबै भन्दा धेरै बजेट भएको कार्यालय क्षेत्रीय आयोजना कार्यान्वय इकाईको बजेट एक अर्ब ७४ करोड ८१ लाख १६ हजार रुपैयाँ रहेकोमा एक अर्ब २८ करोड ७७ लाख ७३ हजार रुपैयाँ खर्च भएको छ भने ४६ करोड ३४ लाख रुपैयाँ खर्च हुन सकेको छैन् । 

संघीय आयोजना कार्यान्वयनको ९२ करोड ४८ लाख रुपैया बजेट रहेकोमा ६० करोड ११ लाख खर्च रुपैयाँ खर्च भएको छ भने ३२ करोड ३७ लाख ६५ हजार रुपैयाँ खर्च हुन सकेन । 

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको ३३ करोड २५ लाख ६६ हजार रुपैयाँ रहेकोमा १९ करोड १९ लाख रुपैयाँ खर्च भएको छ भने १४ करोड ६६ लाख रुपैयाँ खर्च हुन सकेको छैन् । 

यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालयको दुई अर्ब ६३ करोड ७३ लाख २५ हजार रुपैयाँ रहेकोमा १६ अर्ब १४ करोड ७३ लाख १४ हजार खर्च भएको छ भने चार अर्ब ४९ करोड ११ लाख रुपैयाँ खर्च हुन सकेन । 

महाकाली बेशिन फिल्ड कार्यालयको २९ करोड नौ लाख ९८ हजार रुपैयाँ रहेकोमा २६ करोड आठ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ भने तीन करोड एक लाख १२ हजार रुपैयाँ खर्च हुन सकेको छैन् । 

रानी जमरा कुलरीया सिँचाईको दुई अर्ब ६५ करोड ४४ लाख रुपैयाँ रहेकोमा एक अर्ब नौ करोड ८६ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ भने ६३ करोड ३७ लाख ६८ हजार रुपैयाँ खर्च हुन सकेको छैन् । 

परियोजना कार्यान्वय इकाईको ५६ करोड तीन लाख ४२ हजार रुपैयाँ रहेकोमा २७ करोड ६ लाख १६ हजार रुपैया रहेकोमा खर्च भएको छ  भने २८ करोड सात लाख २५ हजार रुपैयाँ खर्च हुन सकेन । 

यस्तै रानी जमरा सिँचाई आयोजना कृषिको १४ करोड ८६ लाख रुपैयाँ रहेकोमा   सात करोड १० लाख १९ हजार रुपैयाँ रहेकोमा खर्च भएको छ भने सात करोड ७५ लाख ७५ हजार रुपैयाँ खर्च हुन सकेको छैन् । 

संघीय खानेपानी तथा ढल कार्यालयको एक अर्ब सात करोड ९० लाख ७१ हजार रुपैयाँ रहेकोमा एक अर्ब ६ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ भने सात करोड २४ लाख ७५ हजार रुपैयाँ खर्च हुन सकेन । 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिती, कार्यक्रम कार्यान्वय इकाई लम्कीको २२ करोड ५१ लाख ३० हजार रुपैयाँ रहेकोमा १६ करोड ३५ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ भने ६ करोड १५ लाख ५४ हजार रुपैयाँ  खर्च हुन् सकेको छैन् । 

हुलाकी सडक योजना कैलालीको ५७ करोड ३२ लाख ६० हजार रुपैयाँ रहेकोमा ५७ करोड १९ लाख १० हजार रुपैया खर्च भएको छ भने १३ लाख ४९ हजार रुपैयाँ खर्च हुन सकेन । 

सहजपुर–बोक्टान–दिपायल, म.रा.मा–गुलरिया–नेपालगन्ज सडक योजनाको ३६ करोड २५ लाख ८१ हजार रुपैयाँ रहेकोमा २८ करोड ९२ लाख ९६ हजार रुपैया खर्च भएको छ भने सात करोड ३२ लाख ८४ हजार रुपैयाँ खर्च हुन सकेको छैन् ।