धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलाली जिल्ला अदालतमा मुद्दाका चाङ बढ्दै

कैलाली जिल्ला अदालतमा मुद्दाका चाङ बढ्दै

धनगढी । कैलाली जिल्ला अदालतमा मुद्दाको चाङ हेर्दा धेरैले छिटो न्याय पाउने छाँट देखिँदैन ।

कैलालीमा विभिन्न प्रकृतिका मुद्दाको चाङ वर्षेनि बढ्दै गएपनि मुद्दा फर्छयौटको अवस्था भने निकै दयनीय छ । 

कैलाली जिल्ला अदालतका मुख्य न्यायाधीश दण्डपाणि लामिछानेले मुद्दाको प्रकृति हेरेर फर्छयौट गर्दा सबै मुद्दा फर्छयौट गर्न नसकिएको बताए ।

पछिल्लो समय अदालतमा जबरजस्ती करणी, बैकिङ क्रसुर, चेक अनाधार सम्बन्धी, सम्बन्ध विच्छेद, जग्गा विवाद, र लागु औषध सम्बन्धीका मुद्दाहरु बढी आइरहेको उनले बताए । 

कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०८०÷०८१ मा मा एक हजार छ सय १२ मुद्दाको जिम्मेवारी सरेर आएको तथ्यांक छ । सो समयमा दुई हजार पाँच सय ८२ मुद्दा नयाँ दर्ताको अभिलेख छ ।

सो अवधिमा जम्मा मुद्दाको संख्या चार हजार एक सय ९४ थियो । सो अवधिमा दुई हजार नौ सय ११ मुद्दा फर्छयौट भयो भने एक हजार दुई सय ८३ मुद्दा बाँकी रहे । 

आर्थिक वर्ष २०७६÷०७७ मा एक हजार दुई सय ७४ मुद्दाको जिम्मेवारी सरेर आयो । सो समयमा एक हजार दुई सय ७३ मुद्दा नयाँ दर्ता भए ।

सो अवधिमा जम्मा मुद्दाको संख्या दुई हजार पाँच सय ४७ थियो । सो अवधिमा एक हजार एक सय ८५ मुद्दा फर्छयौट भयो भने एक हजार तीन सय ६२ मुद्दा बाँकी रहे । 

आर्थिक वर्ष २०७७÷०७८मा एक हजार तीन सय ६२ मुद्दाको जिम्मेवारी सरेर आयो । सो समयमा एक हजार चार सय ८७ मुद्दा नयाँ दर्ता भए ।

सो अवधिमा जम्मा मुद्दाको संख्या दुई हजार आठ सय ४९ रहयो । सो अवधिमा एक हजार आठ सय ३६ मुद्दा फर्छयौट भए भने एक हजार १३ मुद्दा बाँकी रहे । 

यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार १३ मुद्दाको जिम्मेवारी सरेर आयो । सो समयमा दुई हजार ७९ मुद्दा नयाँ दर्ता भए ।

सो अवधिमा जम्मा मुद्दाको संख्या तीन हजार ९२ थियो । सो अवधिमा एक हजार सात सय दुई मुद्दा फर्छयौट भयो भने एक हजार तीन सय ९० मुद्दा बाँकी रहे । 

आर्थिक वर्ष २०७९÷०८० मा एक हजार तीन सय ९० मुद्दाको जिम्मेवारी सरेर आयो । सो समयमा दुई हजार दुई सय एक मुद्दा नयाँ दर्ता भए । सो अवधिमा जम्मा मुद्दाको संख्या तीन हजार पाँच सय ९१ थियो ।

सो अवधिमा एक हजार नौ सय ७९ मुद्दा फर्छयौट भयो भने एक हजार छ सय १२ मुद्दा बाँकी रहे । 

मुख्य न्यायाधीश लामिछानेले गरिबी, अशिक्षा, बेरोजगारीलगायत कारणले समाजमा अपराधिक घटना बढ्दै गएको बताए । मान्छेका इच्छा चाहाना धेरै हुने, अर्काको देखासिकी गर्ने, ती आवश्यकता परिपुर्ति नभए सम्बन्ध विच्छेद गर्ने प्रवृति बढेको उनले बताए । 

‘समाज अर्कोको देखासिकिमा छन् । अरुको जस्तै नहुँदा परिवारमा खटपट सुरु हुन्छ’, उनले भने, ‘अनि अदालत सम्म केस आउने गरेका छन् ।’
सामाजिक सञ्जालको गलत प्रयोगले गर्दा पनि सम्बन्ध विच्छेदको अवस्था सम्म आइपुग्ने गरेको लामिछानेले सुनाए । जग्गा विवादका मुद्दाहरु पनि अदालत सम्म आउने गरेको उनले बताए । 

जवरजस्तीका मुद्दाहरु उमेर नपुगेका विद्यार्थीहरुको हकमा बढी नै आउने गरेको उनको भनाइ रहेको छ । उमेर समुहको घटनाहरु बढी नै राखेको उनले बताए । ‘उमेर पुगेकाहरुको मुद्दा थोरै छ । १८ वर्ष मुनिकाहरुको केसहरु बढी आइराखेको छ,’ उनले भने । 

आफूहरुले दैनिक लाग्औषधका मुद्दाहरु फैसला गरिरहेको भएपनि मुद्दा दर्तामा कमी आउन सकिरहेको उनले बताए । उनले खुल्ला सिमानाका, गरिबी र बेरोजगारीका कारणले गर्दा पनि लागुऔषधका मुद्दाहरु बढी रहेको बताए ।

अदालतले आर्थिक अवस्था कमजोर भएकाहरुको कानूनी सहायतका लागि वैतनिक कानुन व्यवसायीको व्यवस्था गरेको समेत उनले बताए ।