धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा स्क्रब टाइफसको संक्रमण बढ्दै

सुदूरपश्चिममा स्क्रब टाइफसको संक्रमण बढ्दै

धनगढी । सुदूरपश्चिममा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । आर्थिक वर्ष २०८०÷०८१ को माघ महिना यता चालु आर्थिक वर्ष २०८१÷०८२ को भदौ पहिलो सातासम्म छ सय २० जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको हो । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनसार स्क्रब टाइफस एक खालको किर्नाको माध्यमबाट मानिसमा सर्ने गर्छ ।

घाँसेमैदानमा मुसा प्रजातिमा हुने किर्नाहरूको टोकाइबाट मान्छेमा सर्ने गरेको उनले बताए । उनले स्क्रब टाइफस स्क्रब ओरिएन्टिया सुत्सुगामुसी नामक ब्याक्टेरियाबाट लाग्ने किटजन्य रोग रहेको बताए । 

सुदूरपश्चिममा स्क्रब टाइफसको संक्रमण सबै भन्दा बढी डडेल्धुरामा देखा परेको छ भने सबै भन्दा कम कञ्चनपुरमा रहेको छ ।

डडेल्धुरामा दुई सय १५ जना, कञ्चनपुरमा १२ जना, अछाममा एक सय १८ जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको हो । 

यस्तै बैतडीमा ८३ जना, दार्चुलामा ६० जना, डोटीमा ४९ जना, कैलालीमा ४४ जना, बाजुरामा २२ र बझाङमा १७ जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको छ । 

कीटजन्य रोग अधिकृत जोशीले भने, ‘किर्नाहरू कुनै माध्यमबाट मान्छेको खुट्टामा लागेर टोकेपछि संक्रमण देखिने भएकाले कुनै विशेष ठाउँमा एकैपटक उच्च संक्रमण हुँदैन । तर, पछिल्ला वर्षहरूमा वर्षायाममा पहाडी जिल्लामा यो ब्याक्टेरियल संक्रमण देखिन थालेको छ,’ । 

शहरी क्षेत्रमा भन्दा पहाडका ग्रामीण क्षेत्रमा यो रोग बढी नै देखापरेको उनले बताए । उनले स्क्रब टाइफस लक्षणहरूको उपचारबाट निको हुने गरेको बताए । 

उनका अनुसार स्क्रब टाइफस रोकथामका लागि अस्पतालहरुमा कीट र औषधीहरु आपूर्ति गर्दैै आइरहेको छ । चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको क्षमता विकासका कामहरु गर्दै आइरहेको उनको भनाइ रहेको छ ।