धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दै

आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दै

धनगढी । पछिल्लो समय धनगढी उपमहानगरपालिकाको उर्मा र बेलादेवीपुर आयुर्वेद औषधालयमा बिरामीको आकर्षण बढेको छ । रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको आकर्षण बढेको हो ।

धनगढी उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा.रविन्द्र कुमार यादवका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन र भदौमा एक हजार पाँच जनाले आयुर्वेद औषधालयबाट सेवा लिएका छन् ।

उनले महिला छ सय एक जना र पुरुष चार सय चार जनाले आय्र्वेद सम्बन्धी सेवा लिएको बताए । दुई महिनाको अवधिमा बेलादेवीपुर र उर्मा आयुर्वेद औषधालयबाट सेवाग्राहीहरुले सेवा लिएका छन् । 

धनगढी उपमहानगरपालिकाले वडा नम्बर ११ बेलामा बेलादवीपुर आयुर्वेद औषधालय र वडा नम्बर १५ उर्मामा उर्मा आयुर्वेद औषधालय सञ्चालन गरेको छ । उपमहानगरपाकिाले ग्रामीण क्षेत्रलाई मध्यनजर गरेर आयुर्वेद औषधालय सञ्चालन गरेको हो ।

उपमहानगरपालिकाले आयुर्वेद औषधालय सँगै धनगढीका चार विद्यालयमा आयुर्वेद योग शिक्षा सम्बधी कार्यक्रम समेत गरेको छ ।

उक्त चार विद्यालयमा उपमहानगरपालिकाले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत आयुर्वेद, जडीबुटी, जीवनशैली, रहनसहन र योग प्रतियोगिता गर्दै आइरहेको छ । 

वडा नम्बर ११ बेलादेवीपुर आयुर्वेद औषधालयले वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालय र वडा नम्बर १३ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा योग शिक्षा सम्बन्धी कार्यक्रम गरेको छ भने उर्मा आयुर्वेद औषधालयले वडा नम्बर १४ मा रहेको सर्वोदय माध्यमिक विद्यालय र चन्द्रोदय माध्यमिक विद्यालयमा कार्यक्रम गरेको हो । 

आर्थिक वर्ष २०७८÷०७९मा बेलादेवीपुरबाट दुई हजार सात सय ९८ जना र उर्माबाट दुई हजार एक सय ७२ जना गरेर चार हजार नौ सय ७० जनाले सेवा लिएका छन् ।

जसमा महिला तीन हजार एक सय १२ जना र पुरुष एक हजार आठ सय ५८ जना रहेका छन् । विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा चार विद्यालयका एक सय १८ जना विद्यार्थी रहेका थिए । 

आर्थिक वर्ष २०७९÷०८० मा बेलादेवीपुरबाट तीन हजार सात सय ९७ जना र उर्माबाट दुई हजार दुई सय १५ जना गरेर छ हजार १२ जनाले सेवा लिएका थिए ।

जसमा तीन हजार ३२ जना महिला र दुई हजार चार सय ८० जना पुरुष रहेका छन् । विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा चार विद्यालयका एक सय ६० जना विद्यार्थी रहेका छन् । 

यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा बेलादेवीपुरबाट तीन हजार एक सय २२ जना र उर्माबाट दुई हजार एक सय ७२ जना गरेर पाँच हजार दुई सय ९४ जनाले सेवा लिएका छन् ।

जसमा महिला तीन हजार तीन सय र पुरुष एक हजार नौ सय ९४ जना रहेका छन् । विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा चार विद्यालयका एक सय ७८ जना विद्यार्थी रहेका थिए । 

धनगढी उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. यादवका अनुसार जनचेतना बढेसँगै ऐनोपेथ औषधीबाट समस्याहरु बढी आउने थालेपछि आयुर्वेदप्रति नागरिकको झुकाव बढ्दै गएको छ ।

उनले भने,‘अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्य भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो ।

अमलपित्त (ग्यास्ट्रिक), उदर रोग (पेटको समस्या), बाथ रोग, श्वास प्रश्वास, पायल्स, फिस्टुला र महिलाको महिनावारी समस्या लिएर बिरामीहरु बढी आउने गरेको उनले बताए । 

उनका अनुसार आयुर्वेद औषधालयमाबाट २३ प्रकारका औषधी पाइनुका साथै अन्य थप औषधीहरु पनि निःशुल्क उपलब्ध छन् । स्थनपान (सुत्केरी आमा छ महिनासम्म) दुग्धवर्धक औषधीहरु उपलब्ध गराउने गरेको उनले बताए ।

उनले वृद्धा अवस्थामा शारिरीक कमजोरी, मानसिक समस्या लगायत अन्य समस्याहरु भएका वृद्धवद्धाहरुलाई अंशोगर्धा र महानारायण तेलहरु उपलब्ध गराउने गरेको बताए ।  नसा र दखाई सम्बन्धी पूर्वकर्म तेल लगाउने र सेकाई गर्ने सेवाहरु नियमित चलिरहेको उनको भनाई रहेको छ । 

दैनिक जसो २० जनासम्म विभिन्न रोगका बिरामीहरू आयुर्वेदिक उपचारका लागि आउने गरेका छन् । वडा नम्बर १५ मा (क्षारसुत्र) मलद्धार सम्बन्धी  शिविर सञ्चालन गर्ने समेत तयारी गरेको छ ।

निकट भविष्यमै उर्मा आयुर्वेद औषधालयलाई थप आयुर्वेद नगर अस्पतालका रुपमा सञ्चालन गर्ने योजना समेत गरेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले एक घर पाँच योग जडीबुटी कार्यक्रम एउटा वडामा सञ्चालन गर्ने तयारी गरेको उपमहानगरपालिकाले जनाएको छ ।