धनगढी
मघौटा, धमार, झुम्रा नाचमा रमाएर हर्ष उल्लासका साथ थारु जातीले मनाउने माघी तथा नयाँ बर्ष सुरु हुँदा थारु समुदायमा उल्लास छाउन थालेको छ । काम विशेषले वहीर रहेका थारु समुदाय जन्मथलो पुग्नथालेका छन् । नयाँ बर्ष तथा माघीलाई भव्य बनाउन ‘जीता’ (बंगुर)को उचित व्यवस्थापन अहिले घरघरमा भइरहेको छ ।
बिवाहित थारु चेलीलाई ‘निश्राउ’ ले माइतीघरमा अकर्षित गरिरहेको छ । पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरु लगभग सकिएको छ । ‘अबत रमाइलो गर्ने मात्रै हो’ धनगढी उप–महानगरपालिका–१६ भादाका वडा अध्यक्ष लक्ष्मी चौधरीले भने–‘माघी र हाम्रो नयाँ बर्षको सवै तयारी सकिएको छ, नयाँ बर्ष र माघीमा रमाइलो गर्दै खुशीयालीमात्रै बाड्न मात्रै बाँकी हो, त्यो दिनको पर्खाइ हो अबत ।’

माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकारहरु खाने चलन रहिआएको छ ।’ यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको उनले बताए । माघीमा पाहुना धेरै हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्नमा समुदायकी युवती व्यवस्त हुने गर्दछन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको धनगढी–३ का चेतराम चौधरीले बताए ।
पुसको अन्तिम दिनलाई थारु समुदायले पुरानो बर्षको अन्तिम दिनका रुपमा मनाउने गर्दछन् । पुरानो बर्षको विदाई स्वरुप पुसको अन्तिम दिन (जीता) बंगुर मार्ने प्रचलन रहेको थारु अगुवा माधब चौधरीले बताए । ‘जीता’ को प्रसाद संगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । यो नाच दाङबाट कैलाली बसाई सरेका समुदायले नाच्ने गरेको उनले बताए । तर अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्दछन् ।
‘माघे सक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइ आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । अगुवा चौधरीका अनुसार विशेष स्नान पछि विवाहीत छोरी चेलीलाई ‘निश्राउ’ (चामल, नून, तेल, बेसारलगायतका खाद्यान्नबाट तयार पारिएको परिकार) दिने परम्परा छ । जसलाई थारु भाषमा ‘उपहार’ भनिन्छ । थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् ।
थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यो प्रक्रिया माघ महिना भर चन्ले भएपनि पछिल्लो समय भने एक÷दुई दिनमा सीमित हुन थालेको छ । कामको शिलशिलामा युवाहरुले गाउँ छोड्नुपर्ने बाध्यताका करण यो पर्व दुइ÷चार दिनमै सीमित हुने गरेको कैलारी गाउँपालिका–५ का चन्द्र बहादुर चौधरीले बताए । नयाँ बर्षका दिन गाउँ वस्ती आसपासका नदी तथा तलाउमा नहाउने परम्परा अन्य समुदाय झै थारु समुदायमा पनि चल्दै आएको छ ।
जसका कारण अहिले नदीहरुमा सरसफाई गर्न युवाहरु परिचालित भइसकेको थारु भल्मन्सा बताउँछन् । कैलालीको कैलालरी गउँपालिकाका अध्यक्ष लाजुराम चौधरीका अनुसार थारु समुदायले थारु संवत २६४३ को भव्य विदाई गर्ने र २६४४ को स्वागतका लागि गाउँटोललाई सजाएका छन् । यसै दिन थारु समुदायले भल्मन्सा तथा गुरुवाको चयन गर्ने गरेका छन् । त्यसको पनि तयारी भइरहेको उनले बताए । अन्य सुमुदायले माघीका रुपमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्नछन् । समुदायको मौलिक संस्कृति र भेषभूषको आफ्नै विशेषता छ । जसमा उनिहरु भरपूर आनन्द लिने गर्दछन् ।
भलमन्सा गुरुवाको खोजी
नयाँ बर्ष र माघी पर्वलाई विशेषरुपमा मनाएको दोश्रो दिन अर्थात माघ २ गते गाउँगाउँमा माघीदिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । जसलाई भलमन्सा वा गुरुवा भनिन्छ । उनिहरुले गाउँको रक्षा गर्ने, अप्ठारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका कामहरु गर्ने गर्दछन् ।
भल्मन्सालाई नेतृत्वका रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रुपमा लिइन्छ । यती मात्र हैन राजनीतिमा पनि उनिहरुको महत्वपूर्ण भूमीका हुन्छन । निर्वाचनका क्रममा थारु समुदायका भल्मन्सा र गुरुवाहरुले दिने निर्णयनै आधिकारिक हुने भएका कारण सवैदलले गुरुवा र भल्मन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन् ।
युवा पिढी स्टेजमा रमाउँदै

थारु समुदायमा माघी पवै र नयाँ बर्षलाई मनाउने शैली फेरिन थालेको छ । माघी सुरु भए देखी १०÷१५ दिन सम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रदशीनी गर्ने परम्परा भन्दा अहिले रमाइलो मेलाका माध्यामबाट स्टेज कार्यक्रम युवाको प्राथमिकतामा पर्ने गरेको छ ।
यद्यपि विश्वव्यापि कोरोना संक्रमणका कारण यस बर्ष भने थारु समुदायमा ठुला स्टेजका कार्यक्रम सञ्चालन भएका छैनन् । तर सामान्य अवस्थामा मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ ।
थारु कल्याणकारिणी सभाका कैलाली अध्यक्ष माधब चौधरीले युवाहरु व्यवस्त हुँदा घरघरमा गएर नाचिने नाच ओझेलमा परेको बताए । ‘पहिले धेरै मानिस कृषिमा निर्भर हुने भएका कारण लामो समय सम्म घरघरमा गएर रमाइलो गर्न सम्भव थियो’ उनले भने–‘तर अहिले त्यो सम्भव छैन, धेरै युवाहरु एक÷दुई दिनका लागि मात्रै गाउँ फर्कने गर्दछन्, उनिहरुका लागि स्टेजनै रमाइलो गर्ने माध्याम बन्दछ ।’