धनगढी पोष्ट
आइतबार, ०३ साउन २०७८ मा प्रकाशित
धनगढी
निजी क्षेत्रको लगानीमा सञ्चालन भएको धनगढीको गौशाला आर्थिक समस्याका कारण बन्द हुने अवस्थामा पुगेको छ ।
सरकारी तथा गैर सरकारी गरी पौने २ करोड बजेट लगाएर विगत २ बर्ष देखी सञ्चालन हुँदै आएको गौशालामा आय श्रोत नहुनु र दान दाता घट्दै गएपछि आर्थिक समस्या बढेको सञ्चालक समितिले जनाएका छन् ।
‘सडकमा छाडा चौपाय बढेपछि त्यसलाई नियन्त्रण गर्न हामीले गौशालाको कल्पना गरेका हौं’ गौ संरक्षण केन्द्रका सचिव सिताराम अवस्थीले भने–‘अहिले सम्म दान दाताको सहयोगमा सञ्चालन भइरहेको थियो, विस्तारै दाता धट्दैछन्, आम्रो आय श्रोत केही छैन ।’
धनगढी उप–महानगरपालिका–३ मोहना घाटमा रहेको गौशालामा १ सय ५० बढी गाई राख्न सकिने भौतिक संरचना, आवास र दाना राख्ने भौतिक संरचना निर्माण भएका छन् । संरचना निर्माण गर्दा ५५ लाख विभिन्न सरकारी निकायबाट उपलब्ध भएको र एक करोड १५ लाख निजी क्षेत्रबाट संकलन भएको सचिव अवस्थीले बताए ।
आम्दानी केही नहुनु र गौशालामा गाईको संख्या बढ्दै जादाँ आर्थिक समस्या विकराल बनेको सचिव अवस्थीले बताए । गौशालामा गाईको संख्या बढ्दै जाँदा हेराला राख्नु पर्ने भएपनि आर्थिक अभावका कारण हेराला राख्न नसकिएको सचिव अवस्थीले बताए ।
‘गौशालामा गाईको संख्या बढ्दै जाँदा हेराला थप्नुपर्ने हुन्छ’ उनले भने–‘तर आर्थिक समस्याका कारण हामीले ३ जना मात्रै हेराला राखेका छौं’ उनिहरुलाई पनि पारिश्रमिक दिन नसक्ने अवस्था आएको छ ।’ हाल सम्म ८५ जना मुठ्ठी दाताले उपलब्ध गराउने आर्थिक सहयोगले गौशाला सञ्चालन भइरहेको उनले बताए ।
‘मुठ्ठी दानबाट मासिक ३५ हजार उठ्ने गरेको छ’ उनले भने–‘सो रकम हेरालालाई पनि पुग्दैन, आर्थिक समस्याका कारण थप गाई राख्न समेत समस्या भएको छ ।’ गौशालामा हाल ६५ गाई राखिएका छन् । जस मध्य ४० गाई सडक बाट लयाइएका सचिव अवस्थीले बताए ।
‘सडकमा छाडिने गाईको संरक्षण स्थानीय सरकारले गर्नुपर्नेहो’ उनले भने–‘दाताको सहयोगमा हामी आफैले धेरै काम गरेका छौं, अव हेराला व्यवस्थापन स्थानीय सरकारले गर्नु पर्दछ ।’ गौशालामा गाईको संख्या थप्न दवाद आएपनि आहारा र हेरालाको व्यवस्थापन हुन नसक्दा थप गाई राख्न नसकिएको उनले बताए ।
गौशालामा भौतिक संरचना निर्माण गर्न सरकारी क्षेत्रबाट केही बजेट आएको भएपनि गाई पाल्न कुनै निकायले सहयोग नगरेको गौ संरक्षण समितिका उपाध्यक्ष चेतराज पाण्डेले बताए ।
‘एक सय ८ गाई राख्न मिल्ने भवन जनश्रमदानबाट निर्माण सम्पन्न भएको हो’ उपाध्यक्ष पाण्डेले भने–‘अन्य दुई वटा संरचना सरकारी लगानीमा निर्माण गरिएका छन्, तर गाईको आहारामा सहयोग पाइएको छैन, अव गाई कसरी पाल्ने भन्ने समस्या बढेको छ ।’ हाल सम्म गौ शालामा एक करोड ७५ लाख बढी रकम संकलन भएपनि सवै रक मभौतिक संरचना निर्माणमा खर्च भएको उनले बताए ।
‘गौशालामा हेराको व्यवस्थापन गर्न धनगढी उप–महानगरपालिकालाई हामीले पटक–पटक आग्रह गर्दै आएका छौं’ उनले भने–‘तर अहिले सम्म नगरले जिम्मा लिन मानेको छैन ।’
गौ संरक्षण समितिका महाँसचिव रघुबिर भट्टले गाई पाल्न आर्थिक सहयोग नपाए गौशालामा राखेका गाई सडकमा छोड्नुपर्ने बाध्यता आउनसक्ने बताए । उनका अनुसार अहिले केही गाई व्यक्तिको घरबाट गौशालामा राखिएका छन् । त्यसरी गाई ल्याउँदा गाई धनीले थोरै रकम समेत दिने गरेका छन् ।
तर घरबाट गाई ल्याउँदा समिति आर्थिक प्रलोभनमा प¥यो भन्ने आच्छेप लागने गरेको उनले बताए । ‘स्थानीयको आरोपका कारण हामी घरबाट गाई ल्याएर गौशालामा राख्न सक्ने अवस्थामा पनि छैनौं’ उनले भने–‘कसैले सहयोग नगरी सडकबाट उठाएर ल्याएका गाई पाल्न सक्ने स्थिती छैन, गौशालामा चरम आर्थिक संकट उत्पन्न भएको छ ।’
गाईबाट उत्पादन हुने मल, गहुत, दुधको सदुपयोग गर्दै भविश्यमा गौशालालाई आत्मनिर्भर बनाउने योजना रहेको भएपनि कोरोना संक्रमणका कारण समस्या भएको सचिव सितारम अवस्थीले बताए ।
‘हामीले गाईको गहुत प्रशोधन गरी विक्रि गर्ने, गोबरबाट धुप उत्पादन गर्ने, दुधका विभिन्न परिकार तयार पारी वितरण गर्ने, प्राङगारिक मल उत्पादन गर्ने योजना बनाएका थियौं’ उनले भने–‘तर कोरोना संक्रमणका कारण हाम्रा योजना अलपत्र परे, जसले गौशाला पनि संकटमा परेको छ ।’
धनगढी उप–महानगरपालिका–३ स्थित शान्ति सामुदायकि वनले गौसंरक्षण केन्द्रलाई हस्तान्तरण गरेको डेढ विघाह जमिनमा गौशाला निर्माण गरिएको छ ।
नदी कटानको उच्च जोखिममा
आर्थिक संकट झेलिरहेको धनगढी–३ को गौशाला नदी कटानको पनि उच्च जोखिममा परेको छ । गौशालाको पश्चिमबाट बग्ने मोहना नदीले हाल तिब्र रुपमा जमिन कटान गरिरहेको छ ।
यस अघि पनि मोहनाले सो क्षेत्रमा नदी कटान गरिरहेको थियो’ स्थानीय विरबहादुर शाहीले भने–‘यस बर्ष कटान झनै तिब्र बनेको छ, तत्काल नदी नियन्त्रण नभए गौशालाको भविश्य अन्धकार छ ।’
मोहन नदी गौशालाबाट डेढ सय मिटर मात्रै टाढा रहेको छ । स्थानीयका अनुसार यस बर्ष मोहना नदीले गौशाला तर्फको जमिनमा तिब्र कटान गरिरहेको छ । ‘समयमै नदी नियन्त्रण नगरे गौशाला धेरै नरहने पक्का छ’ स्थानीय श्याम शाहीले भने–‘गौशाला बगे हामीले ठुलो क्षेति व्यहोर्नुपर्ने छ ।’
धनगढी–३ का वडा अध्यक्ष बलबहादुर ऐरले भने नदी नियन्त्रणका लागि पहल भइरहेको बताए । मोहना नदीमा तट्बन्धन गर्ने काम कञ्चनपुरमा रहेको जनताको तट्बन्धन कार्यालयले गर्दो रहेछ’ उनले भने–‘हामीले सो कार्यालयमा निवेदन दिएका छौं, आगमी बर्ष योजना आउँछ होला ।’