धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

दलित सशक्तिकरण ऐनमा महिला र बादी समुदायलाई समेट्न सुझाव

दलित सशक्तिकरण ऐनमा महिला र बादी समुदायलाई समेट्न सुझाव

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले अघि सारेको दलित सशक्तिकरण विधेयकमा दलित महिला र बादी समुदायलाई समेट्न सुझाव दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले तयार पारेको ऐनको विधेयक हाल सामाजिक विकास समितिमा पेश गरिएको छ । समितिले सो विधेयकको दफावार छलफल गरेर छिट्टै प्रदेश सभामा प्रस्तुत गर्ने तयारी समेत गरिरहेको छ । तर विधेयकमा दलित महिला र बादी समुदायलाई नसमेटिएको भन्दै सो विषयमा प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिइएको हो ।

बादी समुदाय दलित भित्रै पनि पिछडिएको बर्ग हो, बादी अधिकारकर्मी रमा बादीले भनिन्–‘प्रदेश सरकारले ल्याएको विधेयकका हामीलाई नै छुटाइएको छ, यसमा सरकारको ध्यान जाओस् । उनले दलित सशक्तिकरण विधेयकले नै दलितका अधिकार सुनिश्चित नगर्ने देखिएको भन्दै सो विधेयक कस्का लागि ल्याइदै छ ? भन्दै प्रश्न गरिन् । उनले बादी महिला देह व्यापार गरेर जीविको पार्जन गर्न बाध्य भएको भन्दै उनिहरुको संरक्षण गर्न प्रदेश सरकारले ध्यान नदिएको बताइन् । देहव्यापारबाट जन्मेको सन्तानलाई कस्ले संरक्षण गर्ने ?, दलित महिला संघ फेडोद्वारा आयोजित दलित सशक्तिकरण सम्बन्धमा बनेको विधेयक माथीको छलफलमा उनले प्रश्न गर्दै भनिन्–‘यो विधेयक कस्का लागि ल्याइदै छ ?, ऐनमै विभेद गरिएपछि न्यायको आस कसरी गर्ने ?

दलित महिला संघकी केन्द्रिय महाँसचिव रेणु सिजापतिले दलित सशक्तिकरण विधेयकमा अझै छलफल गरिनुपर्नेमा जोड दिइन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको सशक्तिकरण विधेयकमा दलित महिलाको अधिकारको ग्यारेन्टि गरिनुपर्ने उनले बताइन् ।

 दलित अगुवा गणेश नेपालीले देशमा व्यवस्था परिवर्तन हुँदा जातीय विभेद अन्त्य हुने आशा गरिएको भएपनि अहिले निरास हुनुपरेको बताए । साशन व्यवस्था फेर्न दलित समुदाय पनि हौसियर आन्दोलनमा लागे, उनले भने–‘नयाँ व्यवस्था आएपछि विभेद र अन्याय अन्त्य हुने ठुलो आशा पनि थियो तर अहिले हामी निरास छौं, किनकी सरकार दलित समुदायको नाम नै सुन्न चाहदैन ।

प्रदेशसभा सदस्य टेकबहादुर रैकाले दलित समुदायलाई माथि उठाउने धेरै कार्यक्रम ल्याइएको भएपनि त्यसमा सुनुवाई नभएको बताए । उनले दलितका विषयमा प्रदेशका मन्त्री र सदस्य कुरा सुन्न समेत नचाहने गरेको बताए ।

संविधानसभा सदस्य हरी श्रीपाइलीले दलित सशक्तिकरण विधेयकमा बादी समुदायलाई समेट्ने प्रयत्न गरेपनि सफल नभएको बताए । उनले ऐनको प्रारम्भिक मस्यौदा तयार पार्दा आफुपनि सहभागि भएको बताए । प्रारम्भिक मस्यौदामा दलितबादी समुदायलाई पनि समेट्ने गरी केही बुदा राखिएका थिए, उनले भने–‘तर पछि हटाईए छन्, यस विषयमा म फेरी पहल गर्नेछु ।

दलित महिला संघ फेडोकी संस्थापक अध्यक्ष दुर्गा सोपले सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन थालेको विधेयक अपुरो रहेको बताइन् । ऐन बनाउन खोज्नु सकारात्मक कुरा हो, सोपले भनिन्–‘तर त्यसमा धेरै कुरा छुटेका छन्, हालकै अवस्थामा विधेयक पास भए त्यसले दलित समुदायलाई खास्सै फाइदा पुग्ने देखिदैन । सुदूरपश्चिमका दलित समुदायले अझै बजारमा दुध बेच्न नपाएको भन्दै उनले विधेयकले त्यस्ता ससाना कुरालाई मध्यनजर गर्नुपर्ने बताइन् । यहाँ खलो पर्था अझै कायमै छ, उनले भनिन्–‘हलिया कायमै छन्, ती विषय विधेयकमा समेटिएका छैनन्, यस विषयमा एक पटक पुनः छलफल हुनु आवश्यक ।  

 सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदले भने सामाजिक विभेद अन्त्य गर्न प्रदेश सरकारले काम गरिरहेको बताइन् । विभेद अन्त्य गरी समता मुलक समाज निर्माण गर्ने उद्देश्यले नै दलित सशक्तिकरण विधेयक ल्याइएको हो, राज्य मन्त्री साउँदले भनिन्–‘त्यसमा केही कमि कम्जोरी भए आगामी दिनमा सच्याउन सकिन्छ ।

उनले आफु पनि संघर्ष गरेर राजनीतिमा आएको बताउँदै सवै महिलालाई संघर्ष गर्न आग्रह गरिन् । रुढिबादी सोचले ग्रस्त अछाममा महिला अघि आउन सजिलो थिएन, राज्यमन्त्री साउँदले भनिन्–‘यो ठाउँमा आउन मलाई निकै संघर्ष गर्नुपरेको हो, त्यसैले म पछाडि परेका समुदायको समस्या बुझ्दछु, त्यस विषयमा गम्भिर भएर समस्या समाधान गर्न लाग्नेछु ।

सुदूरपश्चिम प्रदेश सरकारका न्यायधिवक्ता कुलानन्द उपाध्यायले समाजिक सोच बदल्ने गरी ऐन ल्याउनु पर्ने बताए । हाल सम्म धेरै निमय कानून बनेपनि सामाजिक सोच परिवर्तन हुन नसक्दा त्यसता कानून कार्यान्वयन हुन नसकेको बताउँदै उनले अव बन्ने ऐनले सामाजिक सोच बदल्न सक्नुपर्ने बताए । प्रदेश सरकारले ल्याएको दलित सशक्तिकरण ऐनमा धेरै कुरा समावेस गरिए पनि केही कुरा छुटेका छन, उनले भने–‘ती छुटेका कुराहरु समावेस गरेर अघि बढ्नुपर्दछ । उनले मन्दिरमा करोडौं खर्च गर्ने सरकारले जातीय विभेद अन्त्य गर्न र दलित समुदायको उत्थान गर्न लाख पनि खर्च नगरेको बताए ।