धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बाढी प्रभावित क्षेत्रमा किटजन्य रोगको जोखिम

बाढी प्रभावित क्षेत्रमा किटजन्य रोगको जोखिम

धनगढी । त्रिपालभित्र काठको खटिया छ । खटियाका भित्र केही थान लत्ताकपडा, छेउछाउमा घरभित्र पाल्न राखेका कुखुरा, बाख्रा छन् । दिउसको समयमा केटाकेटीहरुलाई कापी समात्न लगाएर पढ्न अह्रयाईरहेकी थिइन् भजनी नगरपालिका वडा नम्बर ५ की रीतादेवी कामी । 

वर्षातको समयमा पानी जम्ने भएका कारण कालाजार, मलेरिया, डेंगु लगायतका किटजन्य रोगको संक्रमणको जोखिम रहन्छ । लामखुट्टेबाट सर्ने यी किटजन्य रोगबाट बच्न झुलको प्रयोग गर्नुपर्ने भए पनि त्रिपालमा बस्दै आएकी रीताका बालबच्चा भने झुल प्रयोग नगरि सुत्न बाध्य छन । ‘त्रिपालभित्र सुत्दा राती लामखुट्टेले सताउने गरेको छ’ उनले भनिन् –‘सडकमा बस्दा खानाको व्यवस्था गर्न त समस्या रहेको छ । झुल कहाँबाट ल्याउने होला ?’

भजनी नगरपालिका वडा नम्बर ९ की सिर्जना बम तीन दिनसम्म खुल्ला आकासमा सामुदायिक वनभित्र बालबच्चा सहित बसिन् । असोज ५ गते नेपाल रेडक्रस सोसाईटी कैलालीले उनलाई त्रिपाल वितरण गरेपछि वनभित्र सोही त्रिपाल लगाएर बसेकी छिन् । ‘घरभित्र नदी पसेको छ । खुल्ला आकासमा बस्नु भन्दा त्रिपाल शिर छोप्न सहारा बनेको छ’ उनले भनिन् –‘किरा, लामखुट्टे, वन्यजन्तुबाट कसरी सुरक्षित रहने भन्ने त्रास मनमा अझै छ ।’ 

रीतादेवी र सिर्जना जस्तै भजनी नगरपालिकामा बाढीबाट प्रभावित परिवारहरु जंगल, विद्यालय र सडकमा त्रिपालको सहारामा बसिरहेका छन् । खुल्ला आकाशमा बस्नु भन्दा त्रिपालमा बसिरहेका उनीहरु स्वच्छ खानेपानी, सरसफाई किट लगायतका सेवा पाउन सकिरहेका छैनन् । जसका कारण किटजन्य संक्रमणको जोखिम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बाढी प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै कार्यालयमा मौजदात रहेका झुल लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको बताए । उनले अझै अभाव रहेका कारण प्रदेश सरकारसंग माग गरिएको बताए । उनले भने –‘हामीले कुनै पनि रोगको संक्रमण बाढी प्रभावित क्षेत्रमा फैलन नदिने गरि काम गरिरहेका छौं ।’

भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार परिवार फर्कने वातावरण बनेको छैन । बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन् । घर फर्कदा अधिकांश पीडितको रूवाबासी चल्ने गरेको छ ।

भजनीका ध्व जबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ । शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ । उनको अन्नपात, लत्ताकपडा सबै नष्ट भएको छ । विश्वकर्माको परिवार राहत पाए खाउँला भन्ने आशामा छ  ।

त्रिपालमै बित्छ चार महिना

कैलालीको भजनी नगरपालिका ५ पुलियापुरकी रीतादेवी कामी तीन महिनादेखि बालबच्चा सहित त्रिपालमुनि सडकमा बसीरहेकी छिन् । हरेक वर्ष सामान्य वर्षा हुँदा समेत घरभित्र पानी पस्ने गर्दा उनको हुलाकी सडकमा बास बन्छ ।

बस्तीमा पानी जम्दा सुरक्षित बसोबासका लागि उनी वर्षा नसकिएसम्म हुलाकी सडकमै बस्ने गरेको बताउँछिन् । ‘सडक उच्च छ । पारीबाट कान्द्रा नदि बस्तीमा पस्छ’ उनले भनिन् –‘सामान्य वर्षाले पनि बस्तीमा बसोबास गरिरहेका मानिसको उठिवास गराउँछ । अनि यहि सडक सारथी बन्छ ।’

असार १ गतेदेखि सडकमै बसिरहेकी  उनी असोज महिना नसकिएसम्म घरभित्र बस्न सक्ने अवस्था नरहेको बताउँछिन । डोटीको बर्छेनबाट उनका बाजेहरु बाढीबाट विस्थापित भई उक्त स्थानमा आएर बसोबास गर्दै आएका थिए । उनले भनिन्, ‘बाजेहरु डोटीमा वर्षातकै कारण आएको पहिरोले विस्थापित भएपछि यहाँ आएर बसोबास गरेका हुन् । यहाँ पनि वर्षातमा घरभित्र बस्न सक्ने अवस्था भएन ।’ उनले हरेक वर्ष सरकारका प्रतिनिधि, संघ÷संस्थाहरु गुनासो सुन्नका लागि मात्र आउने गरेको बताइन् ।

उनले भनिन्, ‘झण्डै सात वर्षदेखि हामीले वर्षातमा यही त्रिपालमा बस्नुपर्ने बाध्यता छ । सरकारका निकायहरु अनुगमन गर्न आउँछन् । गुनासो सुन्छन् । तर, समस्याको समाधानतर्फ पहल कसैले गर्दैनन् ।’

भदौ ३० देखि असोज १ गतेसम्म परेको अविरल वर्षाले उनको घर डुवानमा परेको थियो । शुक्रबारसम्म सो घरभित्र गएर बस्न सक्ने अवस्था थिएन । उनले भनिन –‘तीन महिना अघि देखि आफुहरु त सडकमा भएर सुरक्षित बसोबास गरिरहेका छौं । तर, त्यहाँ भएका अन्नपात भने वर्षाले खतम गरेको छ ।’

हरेक वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानमा पर्ने गर्छ । यो वर्ष पनि बस्ती पुर्ण रुपले डुबानमा परेपछि उनीहरू हुलाकी सडकमा त्रिपाल टाँगेर सडकमा बस्न थालेका हुन् । स्थानीय  लालबहादुर विक भन्छन्, ‘त्रिपाल लगाएर सडकमा कसलाई मन हुन्छ र ? सामान्य वर्षा हुँदा पनि घर डुबान पर्छ । बालबच्चाको हेरचाह गर्न पनि समस्या हुन्छ ।’

बस्तीमा बाढी पसेपछि घरमा रहेका लत्ताकपडा, खाद्यान्न र चौपाया सबै बगाएको उनले दुखेसो पोखे । उनले सडकमा बस्दा स्वच्छ खानेपानी, खाद्यान्न लगायतको अभाव झेल्नु परेको बताए । उनले भने, ‘खुल्ला सडक छेउमा वन्यजन्तुको त्रास छ । बत्ती नहुँदा स्कुले बालबालिकालाई पढ्न समस्या भईरहेको  छ । हामीलाई सुरक्षित स्थानमा बसोबास गराउन कसैले ध्यान दिएका छैन ।’

‘असार १ गतेदेखि नै बस्तीमा पानी बसेर डुबान भएपछि हाम्रो सडकमा बास भएको हो,’ रतन कामीले भने, ‘हरेक वर्ष यस्तै समस्या हुन्छ । तर, कसैले पुनःस्थापनका बारेमा सोचेको छैन ।’ डुबानबाट १५ घरपरिवारका एक सय जना प्रभावित भएको स्थानीय रीतादेवी कामीले बताइन् । बस्ती डुबानमा परेपछि गाई, भैंसी, कुखुरा छोेडेर ज्यान जोगाउन  सडकमा आएर बसेको उनको भनाइ छ ।

सडकमा बास बस्दा कुकुर र मानसिक सन्तुलन बिग्रिएका मानिसले सताउने गरेको परुली कामीले दुखेसो पोखिन् । १२ वर्षदेखि डोटी र दैलेख जिल्लाबाट बसाई सरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रा नदीको बाढीले दुःख दिने गरेको छ । आफूहरू १२ वर्षदेखि डुबानका कारण हरेक वर्षको असारदेखि कात्तिकसम्म सडकमै बस्ने गरेको स्थानीय बताउँछन् । बस्ती डुबानका कारण १५ घर परिवार समस्यामा परे पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

निःशूल्क स्वास्थ्य शिविर

कैलालीको भजनीमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । ६७ औ प्रहरी दिवसको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीले आयोजना गरेको उक्त शिविरमा २ सय ४ जनाले सेवा लिएका छन् ।

भजनी नगरपालिका १ मा गरेको शिविरमा एक सय ३२ महिला र ७१ जना पुरुषले सेवा लिएको  सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालले जनाएको छ । स्त्री रोग विशेषज्ञ डाक्टर सबिता सिंह र डाक्टर अनु बोहराबाट स्वास्थ्य परामर्श दिइएको थियो ।