धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढी उपमहानगरपालिकाद्धारा  एक बर्षमा सात सय सर्पको उद्धार

धनगढी उपमहानगरपालिकाद्धारा  एक बर्षमा सात सय सर्पको उद्धार

धनगढी । धनगढी उपहानरपालिकामा कार्यरत नगर प्रहरीले एक बर्षमा सात सय ३५ वटा विभिन्न प्रजातिका सर्पको उद्धार गरेको छ ।  धनगढीमा २०८० असार ३१ देखि हालसम्म उपमहानगभित्रका  घरहरुमा पसेका ती सर्पहरुको जिउदै  उद्धार गरेको हो ।

सर्प समात्ने तालिम पाएको नगर प्रहरी सूचना प्राप्त गर्ने वित्तिकै सम्बन्धित स्थानमा पुगेर सर्प समात्ने गरेको नगर प्रहरी प्रमुख निरीक्षक भुपेन्द्र खड्काले बताए ।

उद्धार गरिएका सर्पहरुलाई सुरक्षित तबरले जङ्गलमा छाडिने गरिएको उनले बताए । ‘धनगढी भित्रका सामुदायिक वन र राष्ट्रिय वनमा सर्पको प्रजाति हेरेर जोडछौँ, नगर प्रहरी प्रमुख खड्काले भने,‘ सर्पलाई ५ किलोमिटर सम्मको दुरीमा लगेर जोडछौँ, पछि गएर वातावरण सँग घुलमिल भएर बाच्न सहज हुने हिसाबले छाड्ने गरेका छौँ ।’

उपमहानगरपालिकाले २०८० साल असारमा नगर प्रहरीलाई सर्प समात्न दुई दिनको तालिम दिइएको थियो । नगर प्रहरीको टोल फ्रीन नम्बरमा फोन गरे सर्प उद्धारका लागि तत्काल प्रहरी सम्बन्धित घरमा पुग्ने गरेको छ ।

उपमहानगरका १९ वटै वडामा सक्दो चाँडो नगर प्रहरी पुग्ने गरेको खड्काले बताए । ‘हामीलाई खबर प्राप्त हुनासाथ जाने नियम बनाएका छौँ । ‘बजार क्षेत्रमा १५ मिनेटभित्रमा पुग्ने गरेका छौँ भने फूलबारी र उर्मा क्षेत्रका वडामा सडकको अवस्था हेरेर समय लाग्छ । लगभग ३० मिनेटभित्र सर्प उद्धार टोली पुग्ने गरेको छ’ नगर प्रहरी प्रमुख खड्काले भने ।

धनगढीका विभिन्न वडाबाट कमन करेत, अजिङ्गर, धामन, ब्याण्डेड करेत, ब्ल्याक करेत, गोमन, किङ कोब्रा, भाइपर प्रजातिका सर्पहरूको उद्धार गरिएको नगर प्रहरी प्रमुख निरीक्षक खड्काले बताए । नगर प्रहरी प्रमुख खड्काले भने, ‘सर्प उद्धार गर्न हामीहरु सँग उपकरण छन् । तालिम प्राप्त मेन पावरहरु भएकाले खासै जोखिम  त छैन । तर तालिम लिइसकेपछि र उपकरण भइसकेपछि जोखिम कम हुन्छ ।’ सर्प उद्धार गर्न थालेपछि गत वर्षदेखि सर्पको टोकाई कम भएको उनले बताए ।

हामी सबै सर्प उद्धार गर्न सक्छौँ, अहिले पहिलो चरणमा तालिमहरु लियौँ । दोस्रो चरणमा भर्ना भएकालाई पनि तालिम दियौँ । हामी सबै जना तालिम प्राप्त नै छौँ, नगर प्रहरी प्रमुख खड्काले भने । उनका अनुसार सर्प उद्धार गर्न समाग्रीहरु प्राप्त मात्रामा रहेको भए पनि सर्प समात्ने चिम्टा (टङ) कम हुँदा माग गरिएको छ । माग गरिएको चिम्टा छिटै परिपूर्ति हुने उनले बताए ।

उपमहानगरपालिका वडा नम्बर १ का स्थानीय कुलराज जोशीले नगर प्रहरीले सर्प उद्धारको काम राम्रो गरेको बताए । ‘पहिला सर्पलाई मार्न पथ्यो मार्दा खेरी भाग्ने यताउता हुने मार्न मान्छे खोज्नु पथ्यो मारेपछि कता फाल्ने भने समस्या हुन्थ्यो । अहिले यसरी लैजादा धेरै राम्रो भयो, स्थानीय जोशीले भने । यसलाई अझै प्रभावकारी बनाएर लैजानका लागि जनशक्ति थप गर्नुपर्ने उनले बताए । सर्प उद्धारका साधन स्रोतहरु बढाउन सकियो भने अझै प्रभावकारी हुने उनको भनाइ छ ।

उपमहानगरपालिकामा ४२ जना नगर प्रहरीहरु कार्यरत रहेका छन् । धनगढी उपमहानगरपालिकाले गर्भवती महिला र स्तनपान गराउने आमा र बच्चा बिरामी हुँदा समेत अस्पताल पु¥याउन, रातिको समयमा बिरामी भएर अस्पताल आउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । यस्तै, उपमहानगरले निःशुल्क शव बाहनको व्यवस्था गरेको छ ।

आपतकालीन अवस्थामा पैसा नलाग्ने सम्पर्क नम्बर १८१०५००००९० मा फोन गरे नगर प्रहरीले तत्काल सहयोग पु¥याउने व्यवस्था मिलाइएको छ । आपतकालिन अवस्थामा नगरवासीको सेवामा नगर प्रहरी खटिन थालेपछि स्थानीय हर्षित भएका छन् ।