आलु जोनमार्फत बझाङका किसानलाई व्यवसायीक बनाइदै

आलु जोनमार्फत बझाङका किसानलाई व्यवसायीक बनाइदै

 

धनगढी । आलु खेतिको राम्रो सम्भावना भएपनि व्यवसायीक खेतिको थालनी हुन नसकेको बझाङमा कृषि ज्ञान केन्द्रले आलु जोन मार्फत किसानलाई व्यवसायीक बनाउन थालेको छ ।

उष्ण सुख्खा मौषम र बलौटे माटो रहेको बझाङमा अन्य वाली भन्दा आलु खेति राम्रो हुने गर्दछ । तर बझाङका किसानले आलु खेतिलाई प्राथमिकता दिन सकेका थिएनन् । कृषि ज्ञानकेन्द्रले वीउ संगै प्राबिधिक ज्ञान दिन थालेपछि बझाङमा आलुका लागि व्यवसायीक निर्भरता बढ्न थालेको हो ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ,आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो ।

बझाङका अन्य नगदेबालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको र यसमा आलु जोनको पनि सहकार्य रहेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । सरकारले गहुँ खेतीभन्दा आलु लागाउन आदेश दिएको छ, उनले भने,‘ गहुँभन्दा आलु बढी उब्जनी पनि हुने गरेको छ, नाफा पनि सोहीअनुसार हुन्छ, आलुबाट कृषकले मनग्य आम्दानी गर्न सक्छन्, त्यसैले अब बझाङलाई आलु जोनका रुपमा विकास गर्न हामी सबैले हातेमालो गर्न आवश्यक छ ।,

प्रमुख विष्टका अनुसार कृषि ज्ञान केन्द्रले बीउ वितरण, बजारीकरण, प्याकेजिङ सहित निःशुल्क ढुवानी गर्ने व्यवस्था गरिने छ । यसअघि पनि यस्ता विभिन्न कार्यक्रम आए पनि खासै काम हुन नसकेको र आगामी दिनमा माटो सुहाउँदो बीउको प्रयोग गरी जमिनको दायरा पनि बढाउँदै लगिने बताइएको छ ।

आलु खेतीबाट आफूहरु सन्तुष्ट भएको कृषकको भनाइ छ । जयपथ्वी नगरपालिका११ साइला बगरका सुर्जन खड्काले यसअघि परिवारका लागि मात्रै खानका लागि आलु लगाउने भए पनि अहिले भने खेती नै सुरु गरेको बताए । साथै उनले गहुँभन्दा पनि आलु खेतीले मनग्य आम्दानी हुने आशामा आलु खेती लगाएको जानकारी दिए । परियोजनाले सुनिगाडबाट पानी तान्ने पम्पसेट दिएपछि आलु खेती सिँचाइ गर्न निकै सहज भएको उनीहरुको भनाइ छ । अहिले कृषकले आलु खेतीसम्बन्धी प्रशिक्षण पनि लिँदै आएका छन् ।