धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

संस्थानले धान खरिद नगर्दा आधा मुल्यमा धान वेच्दै किसान

संस्थानले धान खरिद नगर्दा आधा मुल्यमा धान वेच्दै किसान

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले समयमै धान खरिद सुर नगर्दा कैलाली, कञ्चनपुरका किसान सरकारले निर्धारण गरेको मुल्य भन्दा आधा मुल्यमै धान बेच्न थालेका छन् ।

धान वेचेर गहुँ लगाउने खर्च जुटाउनु पर्ने बाध्यताका कारण सस्तो मुल्यमा धान वेच्नु परेको किसानले बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनिले हाल सम्म पनि धान खरिद सुरु गरेको छैन, धनगढी उपमिहानगरपालिका१३ का किसान राम कुमार चौधरीले भने,‘सरकारले धान नकिनेपछि गहुँ लगाउनका लागि  खर्च जुटाउन व्यापारीलाई सस्तोमा धान वेच्नु परेको हो ।

सरकारले मोटो धानको समर्थन मुल्य प्रतिकिलो २७ रुपैंया ५२ पैसा निर्धारण गरेको छ । तर चौधरीले भने १३ रुपैं प्रतिकिलोका दरले व्यापारीलाई धान वेचेको बताए । बर्षाका कारण धान भिजेको थियो, उनले भने,‘व्यापारीले भिजेको धान भन्दै १३ रुपैंया भन्दा बढीमा किन्न मानेनन्, खर्च नभएपछि त्यतिनै मुल्यमा धान वेचेर गहुँका लागि मलखाद किन्ने योजना बनाएको छु ।

कञ्चनपुरको लालझाडी गाउँपालिका२ का किसान नारायण विष्टले  १२ रुपैंयामा धान वेचेको बताए । धनगढी भन्सार स्थित व्यापारीलाई धान वेचेका उनले आफ्नो क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको खरिद केन्द्रनै नभएको बताए । हाम्रो तिर सरकारी संस्थान छैन, उनले भने,‘सधै धनगढीमा आएर व्यापारीलाई धान वेच्दै आएका छौं, गत बर्ष २० रुपैंया पाएपनि यस बर्ष १२ रुपैंया प्रतिकिलोका दरले धान वेचेका छौं ।

धान भिजेर विग्रेको भन्दै व्यापारीले धानको मुल्य दिनै नमानेको उनि बताउँछन् । धान भिजेर बिग्रका कारण हामिलाई पनि घाटा लाग्छ भन्दै व्यवपारी धानको राम्रो मुल्य दिदैनन्, उनले भने,‘सस्तैमा भएपनि धान वेच्नुपरेको छ, धान नवेचि हिउँदे खेती लगाउन सकिदैन ।

लालझाडी गाउँपालिका१ का चुट्कन रानाले पनि यस बर्ष निक्कै कम मुल्यमा धान वेच्नु परेको गुनासो गरे । गाउँका धेरै किसान कैलालीको धनगढी आएर निजी उद्योगी तथा व्यवसायीलाई सस्तो मुल्यमा धामधन धान वेचिरहेका छन् रानाले भने–‘खाद्य संस्थानलाई पर्खेर बसे त गहुखेती नै हुँदैन । उनले किसानको धान सस्तोमा किन्न गाउँगाउँमा समेत व्यापारी पुग्ने गरेको बताए ।

खाद्य संस्थानाले धानको सर्मथन मुल्य कायम गर्दै मोटो धान प्रति क्वीन्टल २ हजार ७ रुपैंया २५ पैसा र मध्यम धानको मुल्य प्रतिक्वीन्टल २ हजार ८ रुपैंया ८५ पैसा तोकेको थियो ।

तर कैलालीका निजी उद्योगि तथा व्यवसायीले भने किसानबाट एक हजार देखी अधिक्तम एक हजार ७ सय सम्ममा धान किन्ने गरेका छन् । सरकारले मुल्य तोकेर सरकारले नै धान नकिन्ने भएको छ कैलालीको अत्तरियामा अग्रज किसान मदन भट्टले भने–‘जसका कारण किसान सस्तोमा धान वेचिरहेका छन्, यो उनिहरुको रहर नभई बाध्यता हो ।

उनले खाद्य संस्थान व्यापारी संग मिलेको आरोप लगाए । किसानले धान वेचिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनि खरिद प्रक्रिाया सुरु गर्दछ, भट्टले भने,‘ढिलो गरी खरिद गर्ने कम्पनिले पछि व्यापारीबाटै कमिसन खाएर धान खरिद गर्ने गर्दछ, यसको छानविन हुनु पर्दछ । उनले असोज देखिनै खाद्य व्यवस्था तथा व्यापार कम्पनिले धान खरिद सुरु गर्नुपर्ने बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड सुदूरपश्चिम कार्यालय धनगढीकी शाखा अधिकृत कल्पना विष्टले केन्द्रबाट ढिलागरी निर्णय भएका कारण धान खरिदमा ढिलाई भएको बताइन् । हामिले केन्द्रको निर्णय अनुसार काम गर्नेहो, उनले भनिन्, ‘केन्द्रले ढिलागरी मात्रै धान खरिद गर्ने निर्णय गरेको छ ।

यही मंसिर १५ गते बाट धान खरिद गर्ने तयारी गरिएको उनले बताइन् । तर धान खरिदका लागि अझैपनि कोटा भने नतोकिएको उनले बताइन् । केन्द्रले धान खरिदका लागि अझै पनि कोटा निर्धारण गरेर पठाएको छैन,‘उनले भनिन्,‘जसका कारण अझै पनि अलमल छ ।

कैलालीका ७ स्थानबाट यस बर्ष खाद्य संस्थानले धान खरिद गर्ने छ । शाखा अधिकृत विष्टका अनुसार धनगढीको मोहनपुर, टिकापुर, भजनी, जोशीपुर, शक्ति, अस्नेदी र मनिकापुरबाट यस बर्ष धान खरिद गरिने छ । संस्थानले यस बर्ष कैलालीको अस्नेदी र मनिकापुर खरिद केन्द्र थप गरेको छ । गत बर्ष सम्म कैलmालीका ५ स्थानबाट मात्रै धान खरिद हुँदै आएको थियो ।

कञ्चनपुरमा एउटै खरिद केन्द्र, गाउँगाउँमा व्यापारीले फाइदा उठाउँदै

कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिले महेन्द्र गनरबाट मात्रै धान खरिद गर्ने गरेको छ । सवै किसान महेन्द्रनगर पुग्न नसक्दा त्यसको फाइदा भने व्यापारीले लग्ने गरेका छन् ।

महेन्द्र नगरबाट निक्कै टाढा रहेका वेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका, वेलडाँडी गाउँपालिका र कृष्णपुर नगरपालिकाका किसानलाई खाद्य संस्थानको खरिद केन्द्रमा धान पु¥याउँदै एक दिन लाग्ने गर्दछ । अझ बयलगाढामा धान लग्ने किसानलाई एक दिनले पनि पुग्दैन ।

जसका कारण किसान महेन्द्रनगर जान झण्झ मान्ने गर्दछन् । किसानले खाद्य संस्थानमा धान नलग्दा निजी उद्योगी व्यवसायीले त्यसको निक्कै फाइदा उठाउने गरेका छन् ।

कञ्चनपुरको वेलौरि नगरपालिकाका केशव उपाध्यायले गाउँगाउँमा आउने व्यवपारीले किसानबाट सरकारी मुल्य भन्दा आधा मुल्यमा धान खरिद गर्नेगरेको बताए । यहाँका धेरै किसान धान वेचेरै घर खर्च चलाउने गर्दछन् उनले भने–‘चाडवाडमा सवैलाई पैसा चाहिएको हुन्छ, अनि व्यवसायीले भने जति मुल्यमा धान वेच्नुपर्ने बाध्यता छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक सरकार बाटै व्यापारीलाई फाइदा हुने गरी नीतिगत त्रुटी भएको बताउँछन् । सरकारले साँच्चै किसानको धान खरिद गर्न चाहेको भए हरेक स्थानीय तहमा खरिद केन्द्र तोक्नु पर्दथ्यो उनले भने–‘तर व्यापारीलाई झनै फाइदा पुग्ने गरी कञ्चनपुरमा मात्रै बिक्रि केन्द्र राखिएको छ, त्यहाँ पुग्न लालझलाडीका किसानलाई सम्भव छैन । गाउँगाउँबाट किसानको धान सस्तोमा किनेर व्यापारीले नै खाद्य संस्थानलाई महंगोमा धान वेच्ने गरेको उनको आरोप छ ।