धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

जाडो छल्न बेँशी सारिंन थाले बझाङका भेडीगोठ

जाडो छल्न बेँशी सारिंन थाले बझाङका भेडीगोठ

धनगढी । चिसोबढेसँगै बझाङको उच्च लेकालि भेगमा छोडिएका भेडा, च्याङ्ग्रलाई बेँशी झर्न थालिएको छ । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँशीतर्फ झार्न थालिएको भेडा गोठालाले जनाएका छन् ।

जाडोका कारण भेडा दुब्लाउने र मर्ने समस्या हुनथालेपछि वेँसितर्फ झर्नेथालेको भेडा गोठालले जनाएका छन् । उच्च हिमाली भेमा हिमपात भएपछि चिसो पनि बढेको छ, बझाङको छविस पाथिभेरा गाउँपालिका५ का ललित जाग्रीले भने, ‘हिमपातका कारण खान नपाउँदा भेडा दुब्लाउनुका साथै मर्न थालेपछि वेँसी झरेका हौं । बझाङको साइपाल, सुर्मा, छविसपाथीभेरा र तल्कोट गाउँपालिका तथा बुङ्गल नगरपालिकाका भेडापालक चरनका लागि वर्षायाममा भेडा सहित लेकतिर जाने र हिँउदमा बेँशी झर्ने गर्दछन् ।

चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँशीतिर झर्न थालेका हुन् । बुङ्गल नगरपालिका२ लौनेका किशोर धामीले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँशी झरेको बताए । भेडा चराउने गरेको हिमाली पाटनमा चिसो बढ्न थालेपछि सँगै गएका अन्य भेडापालक बेँशी झरेको उनले बताए । धामीसँगै सोही गाउँका नरबहादुर धामी, जय धामी, हर्क धामीलगायतले छ महिना धौलाढुङगा, चुफी, जलजला र रेलागाडका पाटनमा बिताएको बताए । उनीहरु ८ सय भन्दा बढी भेडाबाख्रा लिएर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए ।

वर्षौदेखि पाटनमा भेडा चराउने गर्दै आउनुभएका उनीहरले यसबर्ष चिसो निक्कै बढेको बताए। चिसो बढेसँगै भेडा मर्नथालेपछि यसपाली छिट्टै भेडालाई बेँशी झारिएको हो । चिसो बढेसँगै भेडाले बेँशीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक जय धामीले बताए । गर्मी बढेपछि बेँशीबाट भेडा लेकतिर जान खोज्छन्, उनले भने,‘लेकमा जाडो बढेपछि बेँशीतर्फ झर्छन्उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहदैनन् र बढी गर्मी पनि मन पराउँदैनन्, सोही अनुसार हामीले पनि गोठ सार्ने गर्नुपर्छ ।

कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले बेँसीतिर झर्ने गरेको जयको भनाइ थियो । यता छविसपाथीभेरा गाउँपालिकाका शुक्र बोहरा पनि ३ सय भेडाको बथानसहित आफ्नै गाउँ बुडखोरी झरेका छन् । टकरमाली, रिखैन, मटामेला, खार, जामनाडाँडा लगायत क्षेत्रमा महिनौं दिन बिताएका उनिले जाडो बढेसँगै भेडीगोठ लिएर बेँशी झरेको बताए । जाडोयामका केही समय लेकाली क्षेत्रमा टम्म हिउँ पर्छ, उनले भने, ‘भेडापालक घुमन्ते शैलीमा हिमाली क्षेत्रमा हिउँ पर्न थालेसँगै बेँशी झर्ने र गर्मी बढेसँगै हिमाली भेगतिर जाने गर्दछन् ।

फागुन अन्तिमसम्म बेँशीमै रहने र  गर्मी बढेसँगै चैत महिनामा लेकतिर जाने बोहराको भनाइ थियो । चर्को गर्मी र ज्यादै चिसो सहन नसक्ने भेडालाई अहिले जाडोबाट बचाउनकै लागि बेँशी झार्न थालिएको समेत उनले बताए । वर्षभरि लेकबेँशी गरेर भेडापालन व्यवसायमा लागिरहेकालाई हिँउदको समयमा भने सास्ती हुने गरेको छ । चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेँशी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडापालकले गुनासो गरे ।

व्यवसायी लाई सामुदायिक वनको नाममा स्थानीयवासीले अनावश्यक दुःख दिन थलिएको छ, छविस पाथिभेरा गाउँपालिकाका हर्क धामीले भने,‘ जसका कारण परम्परादेखि गर्दै आएको मात्रै नभई व्यवसाय नै सङ्कटमा पर्नथालेको छ । हिलेदेखि भेडा चर्ने, हिँड्ने र बास बस्ने ठाउँमा स्थानीयवासीले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि बेँशी झार्दा भेडा चराउन समस्या हुने उनले बताए ।

सामुदायिक वनमा भेडा चराएबापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ । बिरानो ठाउँमा भेडाबाख्रा चराउदा राति बास बसेको ठाउँमा ढुङ्गा हान्ने, मदिरा खाएका समूह आएर दुःख दिने गर्छन्। केही वर्ष अघिसम्म यहाँका अधिकांश मानिसको मुख्य पेशा नै भेडापालन थियो । अहिले भेडा, च्याङ्ग्रा पाल्ने पेशाप्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको छ । चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेसा सङ्कटमा परेको स्थानीय जोगी धामी बताउँछन् । पछिललो पिडिका युवा दुःख गर्न चाहदैनन्, धामीले भने,‘आफ्नै ठाउँमा काम गर्न लाज मानेर विदेश तर्फ जान्छन्, यसले हाम्रो पौरखि पेशा संकटमा पर्नथालेको छ । उनले सामुदायिक वनका नाममा जताततै उपभोक्ता समिति गठन हुँदा पनि भेडा, च्यांंग्रा  पाल्ने व्यवसाय संकटमा परेको बताए । अहिले बझाङका अधिकांस स्थानमा सामुदायिक बनले चरिचरणमा रोक लगाएको छ ।